Logo

खेलकुद

एन्फाले बर्षको सर्वोत्कृष्ट खेलाडीलाई २५ लाख दिने



अखिल नेपाल फुटबल संघ एन्फाले बर्षको सर्वोत्कृष्ट खेलाडीलाई २५ लाख रुपैयाँ दिने भएको छ । नेपाली फुटबलमा दिएको योगदानको मुल्याङ्कन गर्दै एन्फाले प्रत्येक बर्ष एक जना खेलाडीलाई २५ लाख रुपैयाँको पुरस्कार दिने कार्यक्रमलाई निरन्तरता दिने भएको हो ।

एन्फाका तत्कालिन अध्यक्ष गणेश थापाले सर्वोत्कृष्ट खेलाडीलाई बार्षिक रुपमा अपार्टमेन्ट पुरस्कार दिने कामको थालनी गरेका थिए ।

उनको कार्यकालमा सागर थापा, रितेश थापा र राकेश श्रेष्ठले अपार्टमेन्ट पुरस्कार पाएका थिए । यद्वपी पुरस्कार वापत पाएको अपार्टमेन्टमा उनीहरु बस्न पाएका छैनन् ।

अपार्टमेन्ट अगाडी एन्फाले बर्ष खेलाडीलाई कार पुरस्कार दिने व्यवस्था सुरु गरेको थियो । सो पुरस्कार उपेन्द्रमान सिंह र हरी खड्काले प्राप्त गरेका थिए ।

अपार्टमेन्ट पुरस्कार दिदाँ समस्या आएकाले एन्फाले पछिल्लो समय नगद पुरस्कारबाटै खेलाडीको सम्मान गर्न सुरु गरेको थियो । एन्फाले २०७३ सालमा राजु तामाङलाई सर्वोत्कृष्ट खेलाडी घोषणा गर्दै २५ लाख रुपैयाँ सहित सम्मान गरेको थियो । उनी विभागीय टिम आर्मीका समेत खेलाडी हुन् ।

एन्फाभित्र आन्तरिक विवाद चुलिएपछि पुरस्कार वितरणको काम रोकिएको थियो । एन्फामा नयाँ नेतृत्व आएसगै पुरस्कार दिने व्यवस्थाले निरन्तरता पाएको हो ।

एन्फाको साधारण सभाले सर्वोकृष्ट खेलाडीलाई दिने २५ लाख रुपैयाँको बजेट समेत पारित गरेको छ । एन्फा महासचिव ईन्द्रमान तुलाधरले अपार्टमेन्ट दिने प्रक्रियामा समस्या आएकाले नगद पुरस्कारको व्यवस्था गरिएको खेलपाटीलाई बताए ।

‘खेलाडीले पाउने २५ लाख रुपैयाँमा सरकारले २० लाख रुपैयाँ उपलब्ध गराउने र त्यसमा एन्फाले ५ लाख रुपैयाँ थप्नेछ ।’ उनले भने ।

खेलकुद मन्त्रालयले एन्फालाई दिने बार्षिक बजेटमा सर्वोत्कृष्ट खेलाडी पुरस्कार शीर्षकमा २० लाख रुपैयाँ उपलब्ध गराउने गरेको छ ।

प्रकाशित मिति : चैत्र १०, २०७५ आईतबार  ३ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।