“हाम्ले गल्ती गर्दैनौँ जानाजान ।
आलु काउली हेमजाको पहिचान ।।
नयाँ नयाँ प्रविधि थाल्नुहोस् ।
कडा÷कडा विषादी नहाल्नोस् ।।
तरकारीमा हेमजाकै भर ।
जीवन, आयु सबैले ख्याल गर ।।”
माथिका गीतका भाका पोखरा महानगरपालिका–२५ स्थित हेमजा गाउँमा जारी १० औँ संस्करणको आलु महोत्सवका क्रममा गाइएका हुन् ।गीतमा भने झैं हेमजा गाउँ अहिले आलु गाउँका रुपमा परिचित त भएको छ नैयहाँका आलुले देशमा मात्र नभई विदेशमा पनि ख्याती कमाएको छ ।
आलु यतिखेर हेमजाको पहिचान त बनेको छ नै पहिचानलाई लक्षित गरी शुरु गरिएको महोत्सवले पनि यसको प्रवद्र्धनमा सघाएको छ ।‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ’ भन्ने नाराका साथ गाउँको प्रचारप्रसार गर्ने र उत्पादित आलुको बजारिकरणको उद्धेश्यले स्थानीय विष्णु पादुका क्लबको आयोजनामा जारी दशौँ संस्करणको महोत्सवको प्रमुख आर्कषण यतिखेर आलुको पहाड नै बनेको छ।
स्वदेशी मात्र नभएर विदेशी पर्यटक पनि महोत्सव स्थलमा निर्मित आलुको पहाडबाट आकर्षित छन् । आयोजकले करीब ४० हजार केजी आलुबाट बनाएको आलुको पहाड हेर्नका लागि पनि दर्शक पुग्ने गरेका छन् ।
महोत्सवमा पुग्नेको आकर्षण बन्दै गएको आलु पहाडलाई दर्शनार्थीले सेल्फीका माध्यमबाट आफ्ना मोवाइल तथा क्यामेरामा कैद गर्ने गरेका छन् । महोत्सवस्थलमा रहेको सो पहाडमा तस्वीर लिन र सेल्फी खिच्नेहरुको भीड देख्न सकिन्छ । बच्चाबच्चीदेखी बुढाबुढीसम्मलाई आलु पहाडले लोभ्याएको छ ।
पोखरा मालेपाटनबाट महोत्सवस्थलमा पुगेका हरिश्चन्द्र पौडेलले आलुको विशाल पहाड देख्दा तस्वीर लिन लालायित भएको बताउनुभयो । यसबाट आफू लोभिएको र पछिसम्म सम्झनाका लागि परिवारका साथ फोटो खिचेको भनाई उहाँको छ ।“पहिले पहिलेका वर्षमा सुन्ने त गरिएको थियो, अहिले भने आलुको पहाड हेर्नै मन लागेर आएँ,” उहाँले भन्नुभयो, “महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम त छँदै छन् आलु पहाड महोत्सवको छुट्टै हेर्न लायक पाएँ ।”
महोत्सवका संयोजक कृष्ण खड्काले आलु पहाडले यस ठाउँको प्रवद्र्धनमा थप टेवा पुगेको बताउनुभयो । “दर्शक यहाँ आएर तस्वीर लिएर सामाजिक सञ्जालमा पोष्ट गर्दा यस ठाउँको थप प्रवद्र्धन र यहाँको आलुको ब्रान्डिङ्गमा निकै सघाउ पुगेको छ,” उहाँले थप्नुभयो ।
स्थानीय कृषक जयराम तिमिल्सिनाका अनुसार ३० जना कृषकबाट ल्याईएको सो परीमाणको आलुबाट नौ दिन लगाएर पहाड निर्माण गरिएको हो । “महोत्सव सफल पार्न हामीले कृषकसँग माग्यौं, उहाँहरूले आलु उपलव्ध गराउनुभयो, आलुको पहाड बनाएर यहीँबाट बिक्री गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।
महोत्सव आयोजक समितिले आफूलाई आलुको सो पहाड निर्माण गर्ने जिम्मेवारी दिएको तिमिल्सिनाले बताउनुभयो ।आलु पहाडबाट प्रतिकेजी रु. ३२ रुपैयाँमा विक्री गरिएको र आलुको मुल्य किसानले भने २८ रुपैयाँ प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो ।दशकअघि शुरु गरिएको महोत्सवले हेमजालाई आलु गाउँको रुपमा चिनाउन सफल भएको र त्यस यता वर्षेनी आलु पहाड छुट्टै आकर्षण बनेको महोत्सवका परिकल्पनाकार धर्मराज बास्तोलाले बताउनुभयो ।
उत्पादित आलुको बजारिकरणको लागि गरिएको महोत्सवले राष्ट्रिय रुपमै चर्चा पाएर समग्र गाउँनै आलुमय भएको बताउँदै उहाँले प्रत्येक महोत्सवमा बनाईने आलु पहाडले समेत वर्षेनी दर्शक बढाइरहेको उल्लेख गर्नुभयो । हेमजामा वि.सं २०४५÷४६ मा सानो क्षेत्रमा आलुखेतीमा गर्ने गरिएको वि.सं २०५४-५५ मा आएर व्यावसायिक रुपमा लगाउन थालिएको स्थानीयबासी बताउँछन् । यहाँ एमएस ४२, कुफ्रज्योति, खुमल लक्ष्मी, जनकदेव, खुमल सेतो र डेजीरे जातका आलु लगाउने गरिएको छ । यहाँको लगभग ४०० देखि ४२५ हेक्टर क्षेत्रफलमा आलु खेती गरिन्छ ।




















प्रतिक्रिया