Logo

समाचार

स्नातक तहको परीक्षाफल प्रकाशित, यसरी हेर्नुहोस परिक्षाफल



त्रिभुवन विश्वविद्यालयले परीक्षाफल प्रकाशित गरेको छ । स्नातक तह प्रथम वर्ष अन्तर्गतको बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक गरेको त्रिविले जनाएको छ ।

त्रिविले २०७५ साउन–भदौमा संचालित ३ वर्षे बीबीएस प्रथम वर्षको नतिजा आइतबार प्रकाशित गरेको छ । विद्यार्थीले नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 3BBS लेखी एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखी ३३६२४ मा एसएमएस पठाउनुपर्ने हुन्छ ।

यसैबीच कक्षा १२ को वार्षिक परीक्षा आज (आइतबार) देखि सुरु भएको छ ।

२०७६ को कक्षा १२ को परीक्षा आइतबार बिहान ७ देखि १० बजेसम्म हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका अनुसार कक्षा १२ को साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको वार्षिक परीक्षा भइरहेको हो । परीक्षा वैशाख २६ गते सकिनेछ ।

त्यसैगरी कक्षा ११ को साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा वैशाख २९ बाट सुरु भएर जेठ ८ गते समाप्त हुनेछ । परीक्षामा बोर्डबाट सम्बन्धन प्राप्त ४ हजार १ सय ३७ विद्यालयका कक्षा १२ मा ४ लाख २८ हजार ५२ जना परीक्षार्थी सहभागी छन् ।

कक्षा ११ मा ५ लाख ८ हजार ४ सय ९४ जना परीक्षार्थी गरि जम्मा ९ लाख ३६ हजार ५ सय ६ (जसमध्ये छात्र ४ लाख ४२ हजार, ९ सय ९७ र छात्रा ४ लाख, ९३ हजार ५ सय ४९) परीक्षार्थी सहभागी रहेको बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले बताए ।

नेपालभर कुल १ हजार १ सय ७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । जसमध्ये सबैभन्दा बढी काठमाडौंमा १ सय २२ र सबैभन्दा कम मनाङ-मुस्ताङमा १-१ केन्द्र निर्धारण गरिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आईतवार ११:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।