Logo

स्वास्थ्य

खुसिको खवर : रुसी भ्याक्सिन भ्याक्सिन सार्वजनिक रुपमा वितरण सुरु



रुसी भ्याक्सिन  ‘स्पुतनिक पाँचौ’ को पहिलो सेटको सार्वजनिक वितरण सुरु भइसकेको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन् । ११ अगस्टमा रुसले यस भ्याक्सिनलाई दर्ता गरेको थियो । मस्कोस्थित गामालिया रिसर्च इन्स्टिच्युुट अफ इपिडेमियोलोजी एन्ड माइक्रोबायोलोजीले विकास गरेको यस भ्याक्सिनको आवश्यक गुणस्तर जाँच भइसकेको र सर्वसाधारणमाझ वितरणको चरणमा रहेको मन्त्रालयले जारी गरेको छोटो विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयका अनुसार रुसभर वितरणका लागि भ्याक्सिनका अन्य सेटहरु पनि तयार अवस्थामा छन् ।

पहिलो र दोस्रो चरणको परीक्षण पास गरेको यस भ्याक्सिनलाई तेस्रो चरणमा परीक्षण हुन अगावै रुसले स्वीकृति दिएको हो । रुस सरकारले तेस्रो चरणको परीक्षण र सर्वसाधारणमा भ्याक्सिन लगाउने काम एकसाथ अघि बढ्ने घोषणा यसअघि नै गरेको थियो, पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी र शिक्षकहरु रहने पनि बताइएको थियो ।

स्वास्थ मन्त्रालयका अनुसार अब तेस्रो चरणको परीक्षणसँगै रुसका विभिन्न क्षेत्रमा विस्तारित रुपमा भ्याक्सिन वितरण हुनेछ । तेस्रो चरणमा ४० हजार जनामा भ्याक्सिन परीक्षण गर्ने रुसको योजना छ ।

भारतमा यसै महिना परीक्षण

रुसी डाइरेक्ट इन्भेस्टमेन्ट फन्डका सिईओ किरिल डिमिट्रिभले यसै महिना भारतसहितका देशमा भ्याक्सिनको परीक्षण सुरु हुने बताएका छन् । रुसले यसअघि नै युुएई, साउदी अरेबिया, इन्डोनेशिया, फिलिपिन्स, मेक्सिको, ब्राजिल, भारतसहितका कम्तिमा २० देशले परीक्षणका लागि इच्छा देखाएको जनाएको थियो । भ्याक्सिन लिइसकेका रुसका रक्षामन्त्री सर्जेइ सोइगुले आफुले कुनै साइड इफेक्ट महसुस नगरेको प्रतिक्रिया दिएका थिए । ‘मैले सबै सहज महसुस गरेको छ ।

कुनै साइड इफेक्ट वा उच्च तापक्रम महसुस भएन । म सबैलाई भ्याक्सिन लगाउन सल्लाह दिन्छु,’ शनिबार उनले रुसी टेलिभिजनमार्फत भने । यसअघि बेलायतको प्रतिष्ठित मेडिकल जर्नल द लान्सेटले प्रकाशित रिर्पोटमा सबै सहभागीहरुमा एन्टिबडिज विकास भएको उल्लेख थियो ।

त्यस्तै, भ्याक्सिनको कुनै साइड इफेक्ट नदेखिएको रिपोर्टमा उल्लेख थियो । तर भ्याक्सिनको प्रभावकारीतको पूर्ण जाँच गर्न अझै धेरैमा परीक्षण गरे आवश्यक रहेको यस अध्ययन रिपोर्टले सुुझाव दिएको थियो । रुसले २०२० सम्म २२ करोड डोज भ्याक्सिन उत्पादन गर्ने योजना राखेको छ ।

विद्यालयहरु खुले

रुसमा संक्रमितको संख्या १० लाख नाघिसकेको छ । तर, १ सेप्टेम्बरदेखि नै रुसले विद्यालयहरु खोलिसकेको छ । रुसमा अहिले दैनिक ५ हजारको हाराहारीमा नयाँ कोरोना संक्रमित देखिएका छन् । कक्षाकोठामा निश्चित सुरक्षा मापदण्ड कायम गरेर विद्यालयहरु खोलिएको हो ।

रुसले शिक्षकहरुलाई पहिलो प्राथमिकतामा भ्याक्सिन लगाइने जनाएको छ । यद्यपी, रुसमा ठूलो संख्यामा स्वास्थकर्मी र शिक्षकहरुले भ्याक्सिन लिन अस्विकार गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा छाएको छ ।

प्रकाशित मिति : आश्विन १, २०७७ बिहीबार  ११ : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।