अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसदमा आर्थिक वर्ष २०७६ \७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।
प्रस्तुत बजेट ०७६ साउन १ गतेबाट मात्रै लागू हुनेछ भने राजस्वका परिवर्तन गरिएका दरहरु भने बुधबार राती १२ बजेदेखि लागू भइसकेका छन् ।
अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको यो बजेट मुलुकको ७३औं बजेट हो । नेपालमा बजेट भाषण सुरु हुन थालेको ६८ वर्षमा राजनीतिक स्थिरताका कारण ७३ वटा बजेट आएकाछन् ।
अर्थमन्त्री खतिवडाले बजेटमार्फत स्थानीय तहलाई २ खर्ब १३ अर्ब ९२ करोड ११ लाख र प्रदेशलाई ९९ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ बजेट बिनियोजन गरेका छन् ।
नेपालमा वि .सं २००८ सालदेखि औपचारिकरुपमा बजेट घोषणा सुरु भएको हो । तत्कालीन अर्थमन्त्री सूवर्ण समशेरले संसदसमक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए ।
शुवर्णको बजेटले ३ करोड ६ लाख १९ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । अहिले मन्त्री खतिवडाले प्रस्तुत गरेको बजेटले ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।
नेपालको पहिलो बजेट नेपाली कांग्रेसका नेता मातृकाप्रसाद कोइराला प्रधानमन्त्रीको सरकारले ल्याएको थियो । २००८ सालअघिका सरकारका बजेट पारिवारिक हुन्थे । जनता लक्षित कार्यक्रम हुँदैनथे । जनतालाई जवाफ पनि दिनुपर्दैनथ्यो ।
२००७ सालमा प्रजातन्त्र आएपछि बजेट संसदसमक्ष प्रस्तुत गर्ने प्रणालीको विकास भएको पाईन्छ । १ सय ४ वर्षे जहानियाँ राणा शासनको शोषणमा रहेका जनताले यो बजेटले पहिलोपटक आर्थिक स्वतन्त्रताको अधिकारको महशुस गराएको थियो ।
बजेटबारे विश्वको इतिहास हेर्दा बेलायतबाट सन् १७१३ देखि त्यहाँका प्रधानमन्त्री रवट वालपोलको सरकारले बजेट ल्याउन सुरु गरेको हो ।
आर्थिक वर्ष २०२७ \०२८ सालसम्म बजेटको आकार करोडमा थियो । त्यसपछिका वर्षदेदेखि मात्रै नेपालको बजेट १ अर्ब नाघेको हो ।
२०४६ को राजनीतिक परिवर्तनपछि तत्कालीन अर्थमन्त्री महेश आचार्यले ल्याएको बजेटको आकार जम्मा ३६ अर्ब ६४ करोड रुपैयाँको थियो । जसमा १६ अर्ब ८९ करोड विकासका लागि छुट्याइएको थियो ।
तर, महेश आचार्यको त्यो बजेटले नेपालमा आर्थिक उदारीकरणको सुरुवात गर्यो । उदारीकरणको नीतिले लाइसेन्स राजको अन्त्य भयो, निजी क्षेत्र फस्टायो, आर्थिक क्रियाकलाप बढ्यो, जसले राजस्व पनि बढायो ।
२०६१ \०६२ सालमा पहिलोपटक नेपालको बजेटको आकार १ खर्ब रुपैयाँ नाघेको थियो । त्यसयता बजेटको आकार सामान्यरुपमा बढे पनि ०७२ वैशाख १२ गते भूकम्प गएपछि त्यसको पुनर्निर्माणका लागि बजेट थप्नु परेकाले अर्थमन्त्री डा . रामशरण महतले एकैपटक २ खर्बले बढाउँदै आर्थिक वर्ष ०७२ \७३ मा ८ खर्ब १९ अर्ब ४६ करोड रुपैयाँको बजेट ल्याए ।
त्यसअघि आर्थिक वर्ष ०७१\०७२ मा पनि डा. महत नै अर्थमन्त्री थिए । सो वर्ष उनले ६ खर्ब १७ अर्बको बजेट महतले नै ल्याएका थिए ।
महतपछि अर्थमन्त्री बनेका विष्णु पौडेलले २०७३र७४ का लागि १० खर्ब ४८ र त्यसपछिका अर्थमन्त्री कृष्णबहादुर महराले २०७४\७५ का लागि १२ खर्ब ७७ अर्ब रुपैयाँको बजेट ल्याएका थिए ।
चालू आर्थिक वर्ष अर्थात् २०७५\०७६ का अर्थमन्त्री खतिवडाले लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएका थिए ।
पछिल्ला ४ वर्षमा बजेटको आकार दोब्बर भन्दा धेरैले बढेको छ ।
पछिल्ला वर्षहरुमा सरकारले बजेटको आकार बढाए पनि छुट्याएको बजेट खर्च गर्न नसक्ने प्रवृत्ति झनै मौलाउँदै गएको छ ।
सुरुमा १४ खर्ब खर्ब ९३ अर्ब रुपैयाँको बजेट ल्याउन योजना आयोगले सिलिङ दिएको थियो । तर बजेट आउने अघिल्लो दिन अर्थ मन्त्रालयको आग्रहमा योजना आयोगले सिलिङ बढाएर १५ खर्ब ७७ अर्ब रुपैयाँ पुर्याएको हो ।
अघिल्लो पटक तत्कालीन एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा विष्णु पौडेल अर्थमन्त्री थिए । अर्थमन्त्री पौडेलले राष्ट्रिय योजना आयोगले दिएको सिलिङभन्दा झन्डै डेढ खर्ब रुपैयाँ बढी आकरको बजेट ल्याएका थिए । योजना आयोगले ९ खर्ब ९ अर्ब रुपैयाँको बजेट ल्याउन सिलिङ दिएको थियो । तर, पौडेलले १० खर्ब ४८ अर्ब रुपैयाँको बजेट ल्याएका थिए ।
अहिले पनि डा . खतिवडाले ठूलो आकारको बजेट बनाएर वित्तीय अनुशासन तोडेका छन् ।





















प्रतिक्रिया