Logo

समाचार

‘स्मार्ट’ चालक अनुमतिपत्र धमाधम छपाइ हुँदै



निजी कम्पनीले छपाइ गर्दा स्पस्ट नबुझिने कार्ड छापेपछि यातायात व्यवस्था विभागले झण्डै १३ हजार कार्ड पुनः छपाइ गर्न थालेको छ । निजी कम्पनीले रङ्गीन कार्ड छाप्दा फोटो र विवरण नबुझिने छापेपछि पुनः छपाइ शुरु भएको हो ।  निजी कम्पनीले झण्डै तीन लाख रङ्गीन कार्ड छापिएकामा १३ हजार कार्ड अस्पस्ट रहेको विभागका प्रवक्ता तीर्थराज खनालले बताए ।

उनका अनुसार यी कार्डमध्ये कुनैमा फोटो त कुनैमा नाम, रक्त समूह, ठेगाना लगायतका विवरण स्पस्ट थिएनन् । तीमध्ये अधिकांश कार्ड सेवाग्राहीलाई वितरण भइसकेको छ । वितरण भएका कार्ड पुनः छपाइको माग गर्दै निवेदन आइरहेको उनले बताए । चार वर्ष पहिलेदेखि हस्तलिखित कार्डका सट्टा ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु भएपछि विभाग आफैँले छपाइ गर्दा श्यामस्वेत कार्ड छापिरहेको उनले बताए। ती कार्डमा स्पष्ट नभएको भन्ने गुनासो छैन ।

उनले भने, “कार्डका विवरण नबुझिएको भन्ने गुनासो रङ्गीन कार्डमा मात्रै छ ।” अहिले विभाग आफैँले ‘स्मार्ट’ चालक अनुमतिपत्र श्यामश्वेत छपाइ गरिरहेको प्रवक्ता खनालले बताए। पछिल्लो समयमा छपाइ भएका कार्डमा समस्या रहेको छैन । रङ्गीन कार्ड नबुझिने हुँदा पुनः छपाइ गर्नु परेको र सेवाग्राहीले राजस्व तिर्नुपर्नेमा त्यो अहिले हटाइएको उनले बताए।

उनले भने, “हाम्रै गल्तीले गर्दा पुनः छपाइमा सेवाग्राहीसँग राजस्व लिनु हुँदैन भनेर हटाइएको छ ।” ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि उपकरण अपर्याप्त भएपछि विभागले साढे नौ लाखभन्दा बढी कार्ड वितरण गर्न बाँकी छ ।

प्रकाशित मिति : १५ असार २०७६, आईतवार ०९:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।