Logo

समाचार

नोबेल मेडिकल कलेजमा सुत्केरीको मृत्यु



नोबेल मेडिकल कलेज विराटनगरमा सुत्केरीको मृत्यु भएको छ । प्रसूतिका लागि सोमबार भर्ना भएकी सुनसरी झुम्काकी पार्वती कार्कीको मृत्यु भएको हो । नोबेल मेडिकल कलेजमा भर्ना भएकी ३५ वर्षीय कार्कीले मंगलबार बिहान १० बजे दोस्रो सन्तानको रुपमा छोरीलाई सामान्य रुपमै जन्म दिएकी थिइन् ।

सामान्यरुपमै सुत्केरी भएकी महिलाको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको मृतकका आफन्तहरुले आरोप लगाएका छन् । नर्मल डेलिभरी भएकी महिलाको रगत धेरै बग्दा पनि चिकित्सले उपचारमा चासो नदिएको उनीहरुको गुनासो छ । ‘नर्मल डेलिभरी भएपछि उहाँको पाठेघरबाट रगत बगेछ,’ पावर्तीका आफन्त पुस्बिन अधिकारीले भने, ‘तर रगत बग्दा चिकित्सकले हेरेनन् ।’

वार्डमा ब्लड ब्लडिङ भए पनि चिकित्सकले चासो नदिएको उनको गुनासो छ । एक्कासी बेहोस भएपछि पाठेघर फाल्न भन्दै अप्रेशन थिएटरमा लगेपछि चिकित्सकले बुधबार बिहान ३ बजे मृत घोषणा गरेको उनले बताए । बेलैमा चिकित्सकले विरामीलाई हेरेको भए पार्वतीको मृत्यु नहुने आफन्तहरुले बताएका छन् ।

नर्मल डेलिभरी भएपछि वार्डमा सारेको केही समयपछि पार्वतीले खाना खान खोजेकी थिइन् । उनका आफन्तले खाना खुवाउन खोज्दा उनी बेहोस भएर लडेपछि मात्र चिकित्सकले धेरै रगत बगेको भन्दै पाठेघर फाल्न लगेका थिए । ‘वार्डमा रगत रोक्ने प्रयास असफल भएपछि दिउँसो २ बजे पाठेघर फाल्नुपर्छ भन्दै अप्रेशन गर्न लागे,’ अधिकारीले भने, ‘अप्रेशनपछि भेन्टिलेटरमा राखे ।’

मृतक कार्कीले दोस्रो सन्तानको रुपमा छोरी जन्माएकी थिइन् । बच्चाको स्वास्थ्य भने सामान्य छ । उनका श्रीमान वैदेशिक रोजगारीकालागि कतारमा छन् । यता अस्पताल प्रशासनले भने महिलाको मृत्युमा अस्पतालको लापरबाही नभएको बताएको छ । अस्पतालका प्रशासकीय अधिकृत नारायण दाहालले धेरै रगत बगेका कारण महिलाको मृत्यु भएको हो । नर्मल डेलिभरी भएपछि धेरै रगत बगेको थियो । रगत बगेपछि पाठेघरको सल्यक्रिया गरेको तर सफल नभएको उनले बताए ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार ०८:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।