Logo

प्रमुख समाचार

प्रोटोकल एजुकेशनले गायब पार्यो भ्रामक सूचना



बागबजारस्थित कार्यालय राखेर संचालन गरिरहेको प्रोटेकल एजुकेशन एण्ड भिसा सर्भिसेज प्रा.लि.ले सार्वजनिक गरेको भ्रमपूर्ण सूचनालाई गायब पारेको छ ।

केही समयदेखि प्रा.लि.को आधिकारिक फेसबुक पेज protocol education & visa services मा विदेश पढ्न जाने विद्यार्थीहरुलाई छात्रावृत्ति र निःशुल्क हवाई टिकटको व्यवस्था रहेको जानकारसहितको सूचना पोष्ट गरिएको थियो ।

करिब वर्ष अघिदेखि संचालित प्रा.लि.ले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरुको लागि शैक्षिक परामर्श दिने काम गर्दै आइरहेको प्रा.लि.का प्रबन्ध निर्देशक रमण साहले जानकारी दिए ।

अहिले छिमेकी राष्ट्र भारत र अमेरिका, बेलायत र अष्ट्रलियामा पढ्न जाने विद्यार्थीका लागि परामर्श दिने र भिसा प्रोसेसिङमा सघाउँदै आइरहेको समेत साहले बताए । पाटनर विदेश गएपछि आफू एक्लैले कार्यालय चलाइरहेको पनि उनले बताए । जापान, बंगलादेश र युराेपका विभिन्न मुलुकमा पढ्ने जानेलाई पनि परमर्श दिने जनाइएकाे छ ।

तर फेसबुक पेजमा केही दिनपहिलेदेखि राखिएको विदेशमा पढन जाने विद्यार्थीलाई छात्रावास र निःशुल्क टिकटको व्यवस्था रहेको सूचनालाई हिजैबाट हटाइसकिएको छ । यसबारे जिज्ञासा राख्दा निर्देशक साहले ‘त्यस्तो कुरा राख्न नहुने भन्ने विषय थाहा भएन, त्यसलाई हिजैबाट पेजबाट हटाइदिएँ’ भने । त्यस्तो सूचना राख्नेबारे आफूलाई ज्ञान नभएकोले ‘मिस्टेक’ हुन पुगेको बताउँदै आइन्दा त्यस्तो गल्ती हुन नदिने समेत अनलाइनपानासँगको कुराकानीमा साहले बताए ।

उनका अनुसार सम्पूर्ण विद्यार्थीलाई छात्रावृत्ति र निःशुल्क टिकट भारतका कलेजमा जानेका लागि मात्र भएको बताए । तर अहिलेसम्म कुनैपनि विद्यार्थीलाई यो सुविधा दिइएको छैन । ‘उतैबाट कलेज दिन्छौं भनेकाले राखिएको हो, नत्र राख्ने थिइनँ’ उनले भने ‘तर अहिलेसम्म कसैलाई दिइएको छैन ।’ अहिलेसम्म आफ्नो संस्थाबाट भारत, अमेरिका, बेलायत र अष्ट्रलिया कुनैपनि मुलुकमा अध्ययनका लागि विद्यार्थी नपठाएको र कसैलाई अप्ठ्यारो पनि नपुर्याएको दाबी उनको छ ।

कार्यालयबाट अहिले भारतको बैंगलोर, आन्ध्रा प्रदेशका कलेजहरुमा जाने विद्यार्थीहरुको लागि परामर्श दिइँदै आएको छ । कार्यालयका अनुसार त्यहाँ मुख्यगरी ईञ्जिनियरिङ कोर्ष अध्यायनका लागि नेपाली विद्यार्थी जाने गरिएको छ । आन्ध्रा प्रदेशको आदित्य एजेकेशनल ग्रुपद्वारा संचालित विभिन्न कलेजहरुमा विद्यार्थी पठाउने कोशिसमा प्रोटोकल इजुकेशन लागिरहेको छ ।

उसले यसैका लागि हो सूचना राखेको । ‘ग्राब योर मेरिट स्कलरसिप एट आदित्य एजुकेशनल ग्रुप’ लेखेर फ्रि फ्लाइट टिकेट टू अल द स्टुडेन्ट’ लेखेर पेजमा पोष्ट गरिएको थियो । तर पेजबाट यसलाई हटाइएको हाे ।

शैक्षिक परामर्श क्षेत्रमा पुराना एक परामर्शदाताले यसबारे टिप्पणी गर्दै प्रलोभन देखाएर विद्यार्थी तान्ने गलत तरिका भएको बताए । यो एक किसिमले अपराध भएको उनको टिप्पणी छ । भारतका कलेज र तिनका एजेन्टले नेपाली बजारमा बढी प्रलोभन र भ्रामक सूचना र समाचार फैलाउने गरिएको इक्यानका एक सदस्यले बताए । गलत र भ्रमपूर्ण विज्ञापन र सूचना दिने एजुकेशन कन्सल्टेन्सीलाई सम्बन्धित निकायले नियमन र दोषीलाई कारवाही गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार १०:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।