हामी भन्ने भावना राखेर काम गर्न सकेको खण्डमा समुदाय अगाडि बढ्न सक्छ भन्ने कुरामा जोड दिनै आफ्नो भाषा, कला, संस्कृतिको संरक्षणका लागि सबै एकजुट हुनको लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले आव्हान गरेका छन् ।
नेपालमण्डल टेलिभिजनका अध्यक्ष रमेश महर्जनको सभापतित्वमा शनिबार ललितपुरको ज्यापू प्रज्ञा भवनमा भएको नव निर्वाचित संचालक समितिको परिचयसहित स्वागत कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्ने क्रममा मन्त्री श्रेष्ठले यस्तो आव्हान गरेका हुन् ।
कार्यक्रममा उनले दशक देखि नेवार समुदायको भाषा,कला, संस्कृति , सभ्यता प्रचारप्रसार गरेर नेपालमण्डल टेलिभिजनले खेल्दै आएको योगदान उल्लेख गर्दै नव निर्वाचित संचालक समितिलाइ शुभकामना व्यक्त गरे ।
नेपालमण्डल टेलिभिजनका अध्यक्ष रमेश महर्जनले नेपालमण्डल टेलिभिजन भाषा, कला संस्कृति सम्पदा संरक्षणका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्नको लागि तयार छ भन्दै सहकार्यका लागि आव्हान गरे । त्यस्तै कार्यक्रममा बाङ्मय शताब्दीपुरूष महाविद्यावारिधि डा सत्यमोहन जोशीले अडियो सन्देशमार्फत नेपालमण्डल टेलिभिजनले आगामी दिनमा बालसाहित्यका कार्यक्रम उत्पादन, प्रशारण गर्नको लागि जोड दिए ।
त्यस्तै, काठमाण्डौ उपत्यका मेयर फोरमका उपाध्यक्षएवमं ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरले मूर्त, अमूर्त सम्पदा संरक्षणका लागि गर्दै आएका गतिविधिकाबारेमा जानकारी दिदै नेपालमण्डल टेलिभिजनसँग थप सहकार्य गरेर अगाडि बढ्ने धारणा राखे ।
त्यस्तै टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डंगोलले टोखा नगरपालिकाले सांस्कृतिक संरक्षित लागा घोषणा गरेर चाकु लगायतका माध्यमबाट टोखाको पहिचान दिने काम भइरहेको भन्दै यस्तो पहिचान दिने कामका बारेमा प्रचारप्रसार गरेर नेपालमण्डल टेलिभिजनले ठूलो भूमिका खेलिरहेको बताईन।
कार्यक्रममा नव निर्वाचित संचालक समितिको प्रतिनिधित्व गर्दै उद्योगपति पद्म ज्योति कंसाकारले भाषा कला संस्कतिप्रति समर्पित नेपालमण्डल टेलिभिजनमा आफूहरू आबद्व हुनपाउँदा गौरन्वावित भएको धारणा राखेका थिए ।
कार्यक्रममा ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्य, ललितपुर उद्योग वाणिज्य संघका नव निवार्चित अध्यक्ष मनोज बहादुर न्याछ्यो, महासचिव रूपकमान महर्जन, ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णलाल महर्जन, अजरमान जोशी, थ्रिस्टार क्लबका अध्यक्ष अरूणमान जोशी, नेपालभाषा मंका खल यलका अध्यक्ष ऋषिप्रसाद श्रेष्ठ, ललितपुरका १९ जातिय समाजका अध्यक्षहरू, ललितपुर नगर प्रहरीबलका प्रमुख सिताराम हाछेथु लगायतको उपस्थिति थियो ।
कार्यक्रममा संचालक समितिका सदस्य मंगल महर्जनले धन्यवाद ज्ञापन गरेका थिए भने औपचारिक कार्यक्रम पश्चात अतिथिहरूलाई ज्यापू म्यूजियमको अवलोकन गराइएको थियो ।
प्रतिक्रिया