विद्यार्थीसँग अवैध रकम लिएको आरोप खेपिरहेको चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजद्वार शिक्षण अस्पतालमा असोज २७ मा भर्ना भई नाकको उपचार गराइरहेकी नवलपुरको मध्यविन्दु नगरपालिका–९ चोरमाराकी ३१ वर्षीया आशा ज्ञवालीको मृत्यु भएपछि आफन्तले आइतबार अस्पतालभित्रै नाराजुलुससहित विरोध प्रदर्शन गरेका छन् ।
आफन्तहरुले अस्पतालको चरम लापरवाहीले गर्दा नाकको सामान्य उपचारमा आएका ज्ञवालीको ज्यान गएको भन्दै घटनमा दोषी चिकित्सक र अस्पताललाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।
पिनासको शल्याकृया गर्दा मिर्गौलाले काम गर्न छोडेका भन्ने चिकित्सकको जवाफ हदैसम्मको लापरवाहीपूर्ण रहेको भन्दै कारवाही नगरेसम्म प्रदर्शन नरोक्ने प्रदर्शनमा सहभागीहरुले बताए । प्रदर्शनमा मृतककी पति टुकनारायण ज्ञवाली सहभागी छन् ।
घटनाबारे अस्पतालले भने वार्ता गरेर समस्या समाधान गर्न तयार रहेको सूचना प्रदर्शनकारीहरुसम्म पठाइरहेको बताइन्छ । मृगौलामा समस्या आएपनि बचाउन सकिने हुँदा चिकित्सकको हदैसम्मको गैरजिम्मेवारीका कारण बिरामीको ज्यान गएको भन्दै भीड आक्रोशित छन् ।
अस्पताल परिसरमा अहिले बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । ज्ञवालीलाई सुनियोजित रुपमा हत्या गरेको भन्दै हत्यारालाई कारवाही गर्न माग गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनमा दर्जनौं महिला पुरुष सहभागी छन् ।
चितवन मेडिकल कलेज (सीएमसी) बद्नाम कलेजको रुपमा चिनिन्छ । केही हप्ताअघि मात्र कलेजले ६ सरकारले तोकेको भन्दा ६ देखि २० लाख रुपैयाँसम्म कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थीबाट शुल्क लिएको पाइएपछि जिल्ला प्रशासन कार्यालय चितवन, आन्दोलन पक्ष विद्यार्थीको तर्फबाट चिकित्सा शिक्षा संघर्ष समिति, अभिभावकको तर्फबाट अभिभावक संघर्ष समिति र कलेज प्रतिनिधि सम्मिलित अध्ययन तथा छानबिन प्रतिवेदन तयार समिति गठन गरेको थियो ।
तर कलेजले छानबिनमा असहयोग गरेपछि संघर्ष समितिले आन्दोलन जारी राखेको छ । विद्यार्थी संघर्ष समितिको नेतृत्व प्रकाश चन्दले गरिरहेका छन् ।
तस्बीर: इकान्तिपुरबाट




















प्रतिक्रिया