Logo

प्रमुख समाचार

एमबीबीएस र बीडीएसको शुल्क वृद्धिविरुद्ध उत्रिए विद्यार्थी संगठन



आइतबार मात्र चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडिएसमा वृद्धि गरेको निर्णय बाहिर आएको छ । निर्णयले एमबीबीएस र बीडीएसमा लाखौं रुपैयाँ शुल्क वृद्धि गरिएको निर्णय थियो ।

निर्णय बाहिर आएसँगै शिक्षालाई सर्वसुलभ र निशुल्कको व्यवस्था गरिनुपर्ने मागसहित शैक्षिक क्षेत्रमा सक्रिय विभिन्न विद्यार्थीहरु आयोगको निर्णयको विरोधमा खरो रुपमा उत्रिएका छन् । उनीहरुले आयोगले निर्णय गलत भएको भन्दै तत्काल खारेज गर्नुपर्नेमा जोड दिएका छन् ।
सोमबारै मात्र नौ विद्यार्थी संगठनहरुले निर्णयविरुद्ध संयुक्त रुपमा र विप्लव नेकपानिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवि ढकालले छुट्टै प्रेस विज्ञप्ति प्रेषित गरी आन्दोलनमा उत्रिएका हुन् । मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अवैध शुल्क फिर्ता गर्न पनि माग गरिरहेका संगठनहरु आयोगको निर्णयले आक्रोशित बनेका छन् ।

आयोगले निर्णय फिर्ता नलिए चरणवद्ध रुपमा आन्दोलन घोषणा गर्ने उद्घोष विज्ञप्तिमा गरिएको छ । नौ विद्यार्थी संगठनहरुमा अनेरास्ववियू (पाँचौं), अखिल (क्रान्तिकारी), अनेरास्ववियू, अखिल नेपाल विद्यार्थी युनियन, नेविसंघ, समाजवादी विद्यार्थी युनिययन, राष्ट्रवादी विद्यार्थी संघ, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघलगायत नौ संगठनले सोमबार निर्णयविरुद्ध ३ बुँदे निर्णय सार्वजनिक गरेका छन् ।

संयुक्त विज्ञप्तिमा विद्यार्थी संगठनका नेतृत्वहरु घनश्याम मिश्र, आलोक रायमाझी, चिरञ्जीवि ढकाल, ऋृषिकेश जंग शाह लगायतले हस्ताक्षर गरेका छन् ।

अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले सरकारले एमबीबीएस र बीडीएसमा गरिएको शुल्क वृद्धिविरुद्ध सशक्त रुपमा प्रतिरोध गर्ने निर्णय गरेको अध्यक्ष चिरञ्जीवी ढकालले आइतबारै प्रेस विज्ञप्ति जारी गरेर जनाएका छन् ।

मेडिकल शिक्षाका माफियाहरुलाई पोस्ने र त्यसबाट मनग्गे कमिशन लिने खेलमा आयोग लागेको गम्भीर आरोप ढकालले लगाएका छन् । शुल्क वृद्धिले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने विश्वास उनले गरेका छन् ।

‘कम्युनिस्टको बर्को ओढेर शिक्षा, स्वास्थ्यजस्तो गम्भीर विषयमा माफियाहरुको पुच्छर बनेको वर्तमान दलाल केपी वली सरकारको शिक्षा र स्वास्थ्यप्रतिको नीति र व्यवहार फेरि एकपटक उदांगिएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘वृद्धि गरिएको शुल्कको कडा प्रतिवाद गर्न अपिल गर्दछौं ।’

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार ०८:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।