एक वर्षसम्म भारतमा डायलायसिस गराएकी चौमालाकी प्रभा चौधरी अहिले सेती प्रादेशिक अस्पतालमा मृगौलाको डायलायसिस गराइरहेकी छिन् । मृगौलामा समस्या देखिएको समयमा सेतीमा बेड नपाएपछि उनले भारतमा उपचार गराएकी हुन् । लामो समयको प्रतिक्षा पछि उनले सेतीमा डायलायसिसको लागि पालो पाइन् ।
अहिले उनी सेतीमै हरेक महिना डायलायसिस गर्न धाउने छिन् । तर, समय समयमा मेसिनको खराबीका कारण उनले प्रभावकारी रुपमा सेवा पाउन सकेकी छैनन् । ‘घर नजिकै सेवा पाएका छौं खुशी लाग्छ । तर, यसको प्रभावकारिताका लागि कसैले पनि दबाब दिएका पाइदैन्’ उनले भनिन्, ‘प्रदेश सरकारले मृगौलाका विरामीहरुलाई प्रदेशमै सम्पूर्ण उपचारको ब्यवस्था गर्नुपर्छ ।’
रोजगारीको सिलसिलामा झन्डै १० वर्षअघि पहिलोपटक मलेसिया गएका कञ्चनपुर पुनर्वासका सूर्य तामाङले करिब ७ वर्ष उतै बिताए । ७ वर्षको अवधिमा घरको ऋण तिरी परिवारसँगै रमाउन घर फर्किए पनि उनी परिवार बढेपछि आवश्यकता परिपूर्ति गर्न नसक्दा पुनः मलेसिया हानिए । आफ्नो स्वास्थ्यको कुनै पर्वाह नगरी परिवारको खुसीका लागि दैनिक १९ घण्टा काम गरिरहेका तामाङको स्वास्थ्यमा अचानक समस्या आयो । चेकजाँचका लागि अस्पताल पुग्दा उनको पेटमा पत्थरीसँगै अन्य समस्या पनि देखिए ।
उनी काम गर्न नसक्ने भएपछि उपचारका लागि घर फर्किए । चेक जाँचपश्चात उनले आफ्नो २ वटै मृगौला खराब भएको जानकारी पाए । मृगौलाको उपचारका लागि उनी सेती अञ्चल अस्पतालको डायलाइसिस कक्षमा गए । ‘सातामा दुईपटक डायलाइसिस गर्नुपर्छ’ तामाङले भने ‘मिर्गौला प्रत्यारोपणका लागि आवश्यक खर्च छैन् । साह्रै गाह्रो भएको छ ।’ डायलाइसिस गरेको खर्च सरकारले निशुल्क गरेको भएपनि औषधिको खर्च धान्न गाह्रो भएको उनले बताए ।
२ वर्षअघि सेतीमा डायलसिस सेवा स्थापना भएको हो । सरकारकै नितीअनुरुप हाल डायलसिस सेवा सञ्चालन ब्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रको विरंग हेल्थ केयरलाई दिइएको छ । बिरामी दर्ता, आवश्यक निगरानी र आर्थिक ब्यवस्थापन भने सेतीबाटै हुने गरेको छ । करिब २७ लाख जनसंख्या रहेको सुदुरपश्चिममा धनगढीको सेती प्रादेशिक अस्पतालमा मात्रै डायलाईसिको सुबिधा रहेको छ । त्यो सेवा पनि प्रभावकारी नभएको सेवाग्राहीहरुले समय समयमा गुनासो गर्ने गरेका छन् ।
सुरुवातमा १० वटा मेसिनबाट सेवाप्रवाह गर्ने भनेर अस्पतालसँग सम्झौता गरेको भएपनि अहिले ६ वटा मेसिनबाट मात्रै विरामीले सेवा पाइरहेका छन् । ३ वटा मेसिन बिग्रिएका छन् । तिनको मर्मतका लागि कुनै चासो दिइएको छैन । प्रबन्ध निर्देशक भट्टल भने विरामीहरुले प्रभावकारी सेवा पाइरहेको दाबि गरेका छन् । ‘पहिले केहि समस्या भएपनि अहिले विरामीहरुले समयमै उपचार पाइरहेका छन्’ उनले भने । चिकित्सकहरु पनि विरामीको चाप अनुसार रहेको उनको भनाइ छ ।

सहजै उपचार सम्भव नभएपछि मिर्गौलापीडित जीवन र मरणको दोसाँधमा छन् । ‘फिस्टुला भर्न तथा मिर्गौला प्रत्यारोपण गर्न पैसा नहुँदा धेरै विरामीले अस्पतालको शैयामै प्राण त्यागेका छन्’ घोडाघोडी नगरपालिका ६ का गणेश सिह खड्काले भने ‘फिस्टुला भर्न काठमाडौंं जाँदा दोब्बर खर्च लाग्ने गरेको छ । आर्थिक अवस्था कमजोर भएका हामीहरुको लागि धेरै भार पर्ने गरेको छ ।’
सेती अस्पतालमा डायलाइसिस गराउन नाम दर्ता गरेका अधिकांश बिरामी सेवा प्रभावकारी नभएपछि सम्पकविहीन भएका छन् । २ वर्षअगाडि मात्रै सेती अस्पतालमा डायलाइसिसका लागि २ सय ५० जना बिरामीले नाम दर्ता गराएकोमा अहिले साप्ताहिक रूपमा ४८ जनाले मात्रै सेवा लिइरहेका छन् ।
‘डायलायसिसको उपचार त अहिले पाइरहेको छु । तर, कैंयौं गरिब परिवारका मृगौलाका विरामीहरुले फिस्टुला भर्न नसकेर अकालमा ज्यान गुमाउन बाध्य भएका छन्’ विगत २ बर्षदेखि डायलायसिस गराइरहेका धनगढीका कोमल राज शोपले भने ‘प्रदेशमा फिस्टुला भर्ने सुबिधा नभएपछि विरामी महंगो शुल्क तिरेर भारत र नेपालका अन्य प्रदेशमा गैरहेका छन् ।’
सेती अस्पतालमा डायलाइसिस गराउन नाम दर्ता गरेका अधिकांश बिरामी सेवा प्रभावकारी नभएपछि केहि काठमाण्डौं केहि भारत तिर जाने गरेका छन् । २ वर्षअघि प्रदेशको सेती अस्पतालमा पहिलो पटक डायलाइसिसको सुबिधा सञ्चालन भएपछि २ सय ५० जना बिरामीले उपचारका लागि नाम दर्ता गराएका थिए । अहिले साप्ताहिक रूपमा ४८ जनाले मात्रै सेवा लिइरहेका छन् ।
मिर्गौलाको स्थिति जान्न विशेषज्ञ डाक्टर नै नहुँदा समस्या झन् बढेको छ । ‘प्रदेश सरकारले नै बिशेषज्ञ चिकित्सकको ब्यवस्था गर्नुपर्छ’ सेती प्रादेशिक अस्पतालमा डायलायसिको सेवा दिइरहेको विरंग हेल्थ केयरका प्रबन्ध निर्देशक दिपक भट्टले भने ‘मृगौलाका विरामीको संख्या बढ्दै गैरहेको छ । प्रदेश सरकारले प्रादेशिक अस्पतालमै फिस्टुला भर्ने डाक्टरको ब्यवस्था गर्नुपर्दछ । डाक्टर नहुदा विरामी ठूलो रकम खर्च गरेर फिस्टुला गर्न अन्त जानुपर्ने बाध्यता छ ।’
डायलाइसिसका लागि सेती अस्पतालमा नाम दर्ता गराएका मध्ये ७५ भन्दा बढीले पालो कुर्दाकुर्दै ज्यान गुमाएको अस्पताल स्रोतले जनाएको छ । झन्डै १ सय ३० जना बिरामी भने सुदूरपश्चिमबाहिर डायलाइसिस गराइरहेका छन् । अस्तव्यस्त जीवनशैलीका कारण मिर्गौलासम्बन्धी रोगीको संख्या पछिल्लो समय बढ्दै गएको छ । पत्थरी, मधुमेह, उच्च रक्तचाप र जीवनशैलीका कारण नै मृगौलामा समस्या देखिने गरेको डा. शेरबहादुर कमरको भनाइ छ । ‘मानिसहरु आफ्नो स्वास्थ्यप्रति गम्भीर देखिँदैनन् । जसका कारण खानपिन तथा जीवनशैलीमा तालमेल नमिल्दा विभिन्न रोगहरुले ग्रस्त हुने गरेका हुन्’ उनले भने ।
सुदूरपश्चिममा ३० हजारको हाराहारीमा मिर्गौलापीडित रहेको सामाजिक विकास मन्त्रालयको तथ्यांकले देखाएको छ । तर, मिर्गौलारागीको संख्या बढिरहँदा उपचारका लागि प्रदेश सरकारले कुनै पहल गरेको छैन । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख दयाकृष्ण पन्तले भने उपचारको पहल भइरहेको बताए । उनले भने ‘प्रदेश सरकार प्रदेशवासीको स्वास्थ्यप्रति गम्भिर छ । मृगौलाको फिस्टुला भर्नसमेत बाहिर जान नपर्ने गरी गृहकार्य सुरु भएको छ ।’




















प्रतिक्रिया