चितवनको भरतपुरस्थित संचालित चितवन मेडिकल कलेजले (सीएमसी)ले कलेजको रवैयाको विरोधमा उत्रिएका विद्यार्थी र अभिभावकसँग घुँडा टेकेको छ ।
सरकारले तोकेको भन्दा ६ देखि २० लाख रुपैयाँ बढी अवैध रुपमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीबाट शुल्क असुलेको भन्दै फिर्ता गर्न गएको भदौ ५ गतेबाट आन्दोलित विद्यार्थी र अभिभावकसँग सीएमसीले घुँडा टेकेको हो ।
आन्दोलनले उग्र रुप लिँदै गएको र व्यापक समर्थन पाउँदै गएपछि कलेज प्रशासन झुकेको हो । कलेजले एमबीबीएसलगायत विषय अध्ययनरत विद्यार्थीहरुबाट बढी शुल्क लिएको स्वीकार गर्दै उक्त शुल्क समायोजन गर्ने प्रतिवद्धता जनाउँदै झुकेको हो ।
कलेजले आजै शुक्रबार बिहान पत्रकार सम्मेलन गरी शुल्क फिर्ता गर्ने प्रतिवद्धता जनायो । गत शैक्षिक सत्रमा बढी लिएको शुल्क फिर्ता गर्ने कलेजका अध्यक्ष एवम् प्रवन्ध निर्देशक डा. हरिष न्यौपानेले पत्रकार सम्मेलनमा बताए ।
‘कलेजबाट शुल्क उठाउँदा गल्ती भएकै हो । सहमतिअनुसार विद्यार्थीहरुबाट बढी लिएको शुल्क फिर्ता गछौं’ न्यौपानेले भने । सरकारले राजधानीबाहिरका लागि शिक्षण शुल्क ४२ लाख ४५ हजार तोकेको छ । तर कलेजले ६० लाख रुपैयाँ उठाएको पाइएपछि आन्दोलन मच्चिएको थियो । आन्दोलनको नेतृत्व ‘चिकित्सा शिक्षा संघर्ष समिति’ संयोजक प्रकाश चन्दले गरेका छन् ।
उता मेडिकल माफिया भनेर चिनिने बाराको वीरगन्जस्थित संचालित बरुस्दीन अन्सारीको नेशनल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरु बढी लिएको शुल्क फिर्ता गर्न माग गर्दै आन्दोलित छन् । देशैभरका मेडिकल कलेजहरुमा आन्दोलन फैलिएको छ ।




















प्रतिक्रिया