सरकारले तोकेको भन्दा बढी शुल्क विद्यार्थीबाट असुलेर फिर्ता गर्न अटेर गर्ने मेडिकल कलेजका संचालकमाथि अब ‘ठगी मुद्दा’ चलाउने तयारी गरेको छ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आइतबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर कलेज सञ्चालकहरूलाई जिल्ला प्रशासन कार्यालयमार्फत कारबाही गर्नुपर्ने धारणा राखेका छन् ।
शिक्षा मन्त्रालयले यसअघि शुल्क फिर्ता गर्न वा समायोजन गर्न तेस्रोपटक दिएको समयसीमा हिजो आइतबार नै सकिएको छ । तर मेडिकल कुनैपनि मेडिकल कलेज संचालकले शुल्क फिर्ता गरेका छैनन् ।
उल्टै शुल्क फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सा शास्त्र अध्ययनरत विद्यार्थीमाथि कुटपिट र झुठा मुद्दामा फसाउने प्रपञ्च रचिरहेका छन् । सरकारद्वारा गठित अध्ययन तथा छानबिन समितिको प्रतिवेदनमा एउटै मेडिकल कलेजले ८३ करोड रुपैयाँसम्म ठगी गरेको तथ्यांक देखाइएको छ ।
शनिबार चितवन मेडिकल कलेज (सीएमसी) को छात्रावासमा पेस्तोल र गोली भेटिएको भनेर कलेजले गरेको दाबीलाई खण्डन हुनेगरी आइतबार शिक्षामन्त्री पोखरेलले गृहमन्त्री थापासँग भेटेर शुल्क अध्ययन गठिन ‘अध्ययन तथा छानबिन समिति’को प्रतिवेदनलाई आधार मानेर बढी शुल्क असुलेर फिर्ता गर्न अटेर गर्ने कलेज संचालकविरुद्ध ठगी गरेको कसुरसम्बन्धी अभियोगमा मुद्दा चलाउन मन्त्री पोखरेलले थापासँगको छलफलमा धारणा राखेको थापानिकट स्रोतले बतायो ।
यसअघि नै पोखरेलले सरकारको तोकेको भन्दा बढी शुल्क उठाउने मेडिकल कलेजसंचालक विरुद्ध जिल्ला प्रमुख अधिकारीको कार्यालयमा लिखित उजुरी दिन समेत पीडित विद्यार्थीलाई आग्रह गर्दै आएका थिए ।
सीएमसी लगायत ३ वटा मेडिकल कलेजमा सम्पत्ति शुद्धिकरण विभागले गत हप्ता छापा हानेर कागजपत्र नियन्त्रणमा लिइसकेको छ । सीएमसीले अध्ययन टोलीलाई कागजपत्र नदिएर असहयोग गर्दै आएको छ ।
चिकित्सा शिक्षा शास्त्र संकाय चलाइरहेका त्रिभुवन विश्वविद्यालय तथा अन्य विभिन्न विश्वविद्यालयबाट सम्बन्धन लिएर देशभरका कलेजले आफूहरुसँग ६ देखि २० लाख रुपैयाँसम्म अवैध शीर्षक राखेर सरकारले तोकेको भन्दा बढी रकम उठाएर ठगी गरेको आन्दोलनरत विद्यार्थीहरुले बताउँदै आइरहेका छन् ।
उनीहरु अहिले पनि आन्दोलनमै छन् । उनीहरुका अभिभावकसमेत आन्दोलनमा उत्रिएका छन् । वीरगञ्जको नेशनल, पोखराको मणिपाल, रुपन्देहीको देवदह, चितवनको सीएमसीलागयत डेढ दर्जनभन्दा बढी मेडिकल कलेजहरुले सरकारले तोकेको काठमाडौं उपत्यकाबाहिर ४२ लाख ५० हजार र उपत्यकाभित्र ३८ लाख ५० हजार शुल्कभन्दा करोडौं रुपैयाँ अवैध शीर्षकमा खडा गरी रकम असुलेको तथ्य फेला परेको शिक्षा मन्त्रालयले स्वीकार गरिसकेको छ ।
सीएमसीको ‘पेस्तोल प्रचार’
चितवनको भरतपुरस्थित संचालित चितवन मेडिकल कलेजको छात्रावासमा भेटिएको भनिएको पेस्तोल र गोली आन्दोलित विद्यार्थीलाई फसाएर अवैध शुल्कको विषयलाई अन्यत्रै मोड्न चिकित्सा शैक्षिक माफियाले रचेको षडयन्त्रबाहेक अन्य केही नभएको आन्दोलनरत विद्यार्थीले बताएका छन् ।
आन्दोलनको नेतृत्व गरिरहेका ‘चिकित्सा शिक्षा संघर्ष समिति’का संयोजक प्रकाश चन्दले आइतबार नै ‘हतियारको भ्रमपूर्ण षडयन्त्र र माफियाको राज्यको चलखेल’ शीर्षकमा एक प्रेस विज्ञप्ति जारी गरेर पीडित विद्यार्थीलाई न्याय दिनुको साटो राज्य आज डरलाग्दो षडयन्त्रसहित विद्यार्थी, अभिभावक र जनताविरुद्ध मेडिकल माफियाको संरक्षणका खातिर घिनलाग्दो नाङगो हस्तक्षेपमा उत्रेको छ’ बताएका छन् ।
राज्यको घिनलाग्दो षडयन्त्र र मेडिकल माफियालाई जरैबाट उखेर फाल्न संघर्षमा एकजुट हुन चिकित्सा शिक्षाका विद्यार्थी, अभिभावक, शिक्षक, स्वास्थ्यकर्मी सम्पूर्णसँग उनले अपिल गरेका छन् । अवैध रुपमा विद्यार्थीबाट मेडिकल कलेजहरुले उठाएको रकम फिर्ता नभएसम्म आन्दोलन जारी रहने अडान संयोजक चन्दले दोहोर्याए ।
अवैध रुपमा उठाएको रकम फिर्ता नगर्ने मेडिकल कलेज संचालकलाई अवैध शुल्क फिर्ता गराउने समयसीमा थप नगरेर कारवाही गरेरै छाड्ने शिक्षामन्त्री पोखरेलको अडान कायमै रहेको शिक्षा मन्त्रालय स्रोतले जनायो ।




















प्रतिक्रिया