Logo

प्रमुख समाचार

भूकम्पले ध्वस्त बनाएका ललितपुरका स्वास्थ्य संस्था अझै पुनःनिर्माण हुन सकेनन्



भूकम्प गएको पाँच वर्ष पुग्न लाग्दा पनि राजधानीसँगै जोडिएको ललितपुरका ग्रामीण भेगमा क्षति पुगेका स्वास्थ्य संस्थाको पुनःनिर्माण हुन नसक्दा स्थानीयवासी गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् ।

जिल्लाका ११ स्वास्थ्य संस्था भूकम्पले क्षति भएका थिए । क्षति भएकामध्ये सबैजसो ललितपुरका ग्रामीण भेगका स्वास्थ्य संस्था छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले स्वास्थ्य संस्था, विद्यालय जस्ता संरचनाको पुनःनिर्माणमा प्राथमिकता दिने भने पनि भूकम्पको पाँच वर्ष पुग्न लाग्दासमेत जिल्लाका सात स्वास्थ्य संस्था बन्ने नबन्ने निश्चित छैन ।

स्वास्थ्य संस्थाकै नाममा लालपूर्जा भएको जग्गा नभएकाले पुनःनिर्माण अघि बढ्न नसकेको जिल्ला आयोजना कार्यान्वयन एकाई (भवन) का आयोजना प्रमुख चन्द्रकाजी गुरुङले जानकारी दिए ।

लालपूर्जा भएका चार स्वास्थ्य संस्थाको पुनःनिर्माणको प्रक्रिया भने अघि बढेको छ । चार स्वास्थ्य संस्थाको ठेक्कापट्टा सकेर सम्झौता गर्ने तयारी रहेको उनले बताए ।

पुनःनिर्माण गर्न लागिएका स्वास्थ्य संस्थामा महाङ्काल गाउँपालिका-१ स्थित ठूलादुर्लुम, सोही वडाको बुखेल, वाग्मती गाउँपालिका–५ स्थित इकुडोल, सोही गाउँपालिका-६ स्थित आस्राङको स्वास्थ्यचौकी भवनको काम अघि बढ्दैछ ।

स्वास्थ्य संस्थाकै नाममा लालपूर्जा भएको जग्गा नभएकाले कोञ्ज्योस्योम गाउँपालिका-२ शङ्खुको प्राथमिक स्वास्थ्य केन्द्र, सोही गाउँपालिका–३ दलचोकी, वाग्मती गाउँपालिका-२ को माल्टा, महाङ्काल गाउँपालिका-२ मानीखेल, महालक्ष्मी नगरपालिकाको लामाटार, गोदावरी नगरपालिका-२ को विशङ्खुनारायणको स्वास्थ्यचौकी भवन र आयुर्वेद औषधालय कहिले बन्ने निश्चित हुन सकेको छैन ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन सरकारी कार्यालयको भवन सार्वजनिक जग्गामा नबनाउने गरी स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड नै संशोधन गरिनुपर्ने बताउछन्। मापदण्डपरिवर्तन नगरे स्वास्थ्यचौकी एवं आयुर्वेद औषधालयका भवन बनाउन सकिँदैन भनी पुनःनिर्माण प्राधिकरण र जिल्ला प्रशासन कार्यालयमा लेखी पठाएको उनले बताए ।

स्वास्थ्य मन्त्रालयले आफ्नै नाममा लालपूर्जा भएको जग्गामा मात्र स्वास्थ्य संस्था बनाउने नीति लिएकाले सार्वजनिक जग्गा भएको स्थानमासमेत पुनःनिर्माण हुन नसकेको एकाइ ९भवन० ललितपुरका इञ्जिनीयर सवि श्रेष्ठले बताए ।

काम अघि बढ्न लागेका केही संस्थाको भने स्थानीय तहको सहयोगमा सम्बन्धित स्वास्थ्य संस्थाका नाममा पूर्जा बनाएर काम शुरु गर्न लागिएको हो ।

रासस

प्रकाशित मिति : २३ पुष २०७६, बुधबार १०:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।