Logo

प्रमुख समाचार

सभामुखका चुनौती



अनेक विवादका वाबजुद सभामुखको कुर्सीमा अग्नि सापकोटा पदासिन भएका छन् । राष्ट्रपतिवाट सपथ खाइसकेको हुनाले अव उनले सभामुखको कुर्सीमा बसेर संसद वैठक चलाउनेछन् । उनले चलाउने वैठक भनेको नीति निर्माण र देशको सही वाटो देखाउने महत्वपुर्ण थलो हो । संघीय संसदको तल्लो सदन प्रतिनिधीसभाले सरकार संचालनका प्रक्रियालाई दिशानिर्देश गर्छ ।

सभामुखका समक्ष अहिले मुख्य ३ वटा चुनौती छन् । पहिलो, ब्यवस्थापकीय तटस्थता । यसमा उनले संसदमा प्रतिनिधित्व गर्ने सवै दलको विश्वास आर्जन गर्न सक्नुपर्छ । तत्कालिन सभामुख कृष्णबहादुर महराले यो भुमिका निर्वाह गर्न सकेका थिएनन् । विपक्षी दलले उनलाई भेदभावको भुमिका निर्वाह गरेको आरोप लगाएका थिए । यसमा सापकोटाले गंभिरतापुर्वक कदम चाल्न सक्नुपर्छ ।

दोस्रो हो, कानुनी लडाईं । सापकोटालाई सभामुख बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा रिटको अन्तिम सुनुवाई बाँकी नै छ । उनका लागि यो संसद बाहिरको चुनौति हुनेछ । किनभने, यो मुद्दा धेरै अघिदेखिको हो र यसको होहल्ला निकै चर्को सुनिनेछ ।
यसबाहेक अहिले विपक्षी कांग्रेसले सभामुखमा उम्मेद्वार नदिएर सापकोटाप्रति ‘नरम’ नीति अपनाए पनि संसद संचालनका बेला विपक्षीको आक्रामक रवैया सभामुख सापकोटाका लागि ‘चुनौती’ बन्न सक्छ ।

राजनीतिक विश्लेषकहरु र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु सभामुखका रुपमा सापकोटाका सामु चुनौतीको चाङ देख्छन् । लामो समय राजनीति गरेका र तीनपटक सांसद भए पनि सापकोटा पहिलोपटक सभामुख भएका छन् । त्यसैले केही समय उनलाई अनुभव अभावको पनि चुनौती बन्नेछ । संसदमा धेरैथरी मतलाई सम्बोधन गर्नुपर्ने चुनौती पनि उनीसँग हुनेछ । लोकतान्त्रिक मूल्य र मान्यताअनुसार काम गर्नुपर्ने चुनौतीले पनि सापकोटालाई छाड्ने छैन ।

तेस्रो चुनौती हो, विधेयकहरु पेश गर्ने सम्वन्धमा । सभामुखले कुन बिषय, कुन विधेयक पेश गर्ने कस्लाई वोल्न दिने , कुन कुरा कति प्राथमिकतामा पार्ने अधिकार हुन्छ । अहिले दर्जनौं विधेयक अड्किएका छन् । सुचना प्रविधी विधेयक लगायतमा विवाद चर्किएको छ । यसमा निकै होसियारपुर्वक सन्तुलित भुमिका सभामुखले खेल्नुपर्ने हुन्छ । एमसीसीलाई लिएर उत्पन्न विवाद चाँडै नै संसदमा प्रवेश गर्दैछ । त्यसैले यसलाई सकेसम्म कम विवादित बनाएर हल खोज्नुपर्ने चुनौती पनि देखिन्छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालको जोडबलमा सभामुख भएका सापकोटा अब सरकारका कामलाई संसदमा लैजाने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग समन्वय गर्दै जानुपर्ने भूमिकामा छन् । यसरी हेर्दा ओली र दाहालबीच सन्तुलनको सम्बन्ध बनाउनुपर्ने अर्को चुनौती पनि देखिन्छ ।

सापकोटाका आगामी दिन कति चुनौतीपूर्ण छन् भन्ने कुरा कांग्रेस नेता मीनेन्द्र रिजालले हिजो संसदमा बोलेको कुराले प्रष्ट गर्छ ।
‘एउटा आवाज आएको छ । भोलीको दिन विधिको शासनले चल्छ चल्दैन ? संविधानले भने अनुसारको बाटोमा हिँड्छ हिँड्दैन ? लोकतान्त्रिक स्पेस खुम्चिन्छ खुम्चिदैन ? आशंका छन्, त्यो पाटो पार लाग्छ कि लाग्दैन,’ संसदमा सापकोटाका बारेमा बोल्दै रिजालले भनेका थिए , ‘उहाँ (अग्नी सापकोटा)ले त्यो काम पूरा गर्न सक्नुहुन्छ कि सक्नुहुन्न ? भरोसा जित्न सक्नु हुन्छ कि हुँदैन ? नेपाली कांग्रेसको तपाईप्रति भरोसा छ । यी आशंकालाई भोली कार्यसम्पादन गर्नेक्रममा कसरी शान्त गर्दै जान सक्नु हुन्छ ? यो तपाईको परीक्षा हो ।’

सापकोटालाई सभामुखको रुपमा संसदमा प्रस्ताव गर्दै नेकपाका उपनेता सुवासचन्द्र नेम्वाङ्ले पनि सापकोटाका आगामी दिन चुनौतीपूर्ण छन् भन्ने संकेत गरे । ‘सिंगो संसदलाई विश्वासमा लिएर अगाडि बढ्न सक्ने भूमिका उहाँले पूरा गर्नुपर्छ । पारदर्शिता र जवाफदेहितालाई स्थापित गर्ने प्रक्रियालाई नेतृत्व गर्नुपर्छ । यो विश्वासमा उभिएर उहाँले संसदको नेतृत्व गर्नुपर्छ,’ नेम्वाङ्ले पनि उस्तै अर्थ लाग्ने बिषय भनेका थिए ।

मुख्य यी तिन चुनौतीको थुप्रोले अग्नि सापकोटाका लागि भविस्यको गोरेटो निर्धारण गर्नेछ । निकै पहिलेदेखि खल्बलिएको संसदका कामहरु उनले सम्हालेर लानुपर्ने अर्को सहायक चुनौती छ । महराकै पालामा संसदको कार्यशैलीमा प्रश्न उठिसकेको थियो । ति प्रश्न अहिले झन बल्झिएका छन् । त्यसैले, कुशलतापुर्वक संसद हाँकिसकेका सुवास नेम्वाङ, दमननाथ ढुँगाना, तारानाथ रानाभाट लगायतका सल्लाहलाई उनले अनुकुल समय अनुसार ग्रहण गरेर गएमा यी चुनौती हल नहोला भन्न सकिन्न । तर, पनि यो मध्यावधी चुनाववाट सभामुखको भुमिका निर्वाह गर्न वाटो त्यति सहज छैन ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार १३:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।