नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पूर्ण बहुमत रहेको केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार परिवर्तनलाई लिएर अहिले राजनैतिक वृत्तमा विभिन्न टीका टिप्पणीहरू भै रहेका छन् । गृहजिल्ला झापा पुगेर प्रधानमन्त्री ओलीले सरकार ढाल्न षड्यन्त्र भै रहेको सार्वजनिक अभिव्यक्ति दिएको भोलिपल्टै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार परिवर्तनको खेलमा आफूहरू नरहेको स्पष्ट पार्यो ।
हुन पनि सत्तारूढ नेकपाको स्पष्ट बहुमत रहेको सरकारलाई विस्थापित गर्न प्रतिपक्षी कांग्रेसको मात्रै जोडबलले नपुग्ने समीकरण छ । अर्थात सरकार ढाल्ने षड्यन्त्रको समीकरण सत्तारूढ नेकपा भित्र नै बनिरहेको कुरा बुझ्न कसैलाई गाह्रो छैन । सत्तारूढ नेकपाका “को-पाइलट” समेत भनिएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई केपी ओलीलाई प्रधानमन्त्रीबाट विस्थान गर्ने खेलमा लागेका ओली पक्षीय नेताहरू बुझाइ छ । प्रधानमन्त्रीको अभिव्यक्तिले पनि त्यतै संकेत गर्छ ।
हुन पनि प्रधानमन्त्री ओली अहिले नेकपा भित्र अल्पमतमा छन् । आफ्नो शक्तिको लेखाजोखा गर्न ओलीले आफू पक्षधरहरूको छुट्टै भेला बोलाएर समेत आफ्नो शक्तिको परिक्षण पनि गरिसकेको अवस्था हो । अर्कोतिर संवैधानिक रूपमा समेत ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने मार्ग खुलेको छ । एकातिर प्रधानमन्त्रीले सरकार ढाल्ने षड्यन्त्र भै रहेको सार्वजनिक गर्नु अनि अर्कोतिर अविश्वासको प्रस्ताव ल्याउने मार्ग प्रशस्त हुनुलाई केवल संयोग मात्रै मान्न पनि नसकिएला ।
कार्यकारी अध्यक्ष प्रचण्डले ओलीलाई पदमुक्त गराउनको लागि भित्री रणनीति बनाउन व्यस्त छन् । पार्टीको स्थायी कमिटी हुँदै पोलिटव्युरो, केन्द्रीय समिति र संसदीय समितिमा समेत प्रधानमन्त्री ओली अल्पमतमा रहेको बताइन्छ । ७० प्रतिशत मत ओली विरुद्ध रहेको समयको सदुपयोग गर्दै ओलीलाई प्रधानमन्त्री पदबाट विस्थापन गर्न प्रचण्ड सकृय रहेको खबरले बालुवाटारमा भने बेचैनी बढेको बताइन्छ ।
‘पूर्व माओवादी समूहलाई एक राख्दै पूर्व एमाले समूहको अन्तरविरोधमा खेल्दै सके आफैं प्रधानमन्त्री बन्ने नसके ‘डि जुरे’ प्रधानमन्त्री नै सहि तर ओलीलाई विस्थापित नगरी आफू नेकपाको हर्ताकर्ता बन्न नसक्ने निष्कर्षमा भने प्रचण्ड पुगेका छन् । यसले पनि सरकार परिवर्तनको सम्भावना भने बढाएको जानकारहरूको भनाइ छ । खासगरी पूर्व एमाले समूहका माधवकुमार नेपाल प्रचण्डको योजनामा सहमत हुने हो भने सरकार परिवर्तनका लागि धेरै समय नलाग्ने देखिन्छ तर नेता नेपाल भने अहिले नै ओलीलाई प्रधानमन्त्रीबाट विस्थापित गर्ने मनसायमा नरहँदा सरकार परिवर्तनको खेल प्रचण्डको लागि पनि सहज भने पक्कै छैन ।’
पूर्व एमाले समूहका प्रभावशाली नेताहरू झलनाथ खनाल र वामदेव गौतम भने प्रचण्डको योजनामा सहमत छन् । गौतमलाई प्रचण्डकै सहारामा सहि एकपटक प्रधानमन्त्री बन्ने धोको छ भने खनाल राजनैतिक जिवनको अन्त्य राष्ट्रपतिको पदबाट गर्न चाहान्छन् । संघीय संसदको निर्वाचनमा बर्दियाबाट आफूलाई पराजित गर्न प्रधानमन्त्री ओलीको समूहनै लागेको बुझाइमा रहेका गौतम र राष्ट्रपति बन्ने आकांक्षा ओलीकै कारण तुहिएको बुझेका खनाल स्पष्ट रूपमै ओली विरुद्धको यो मोर्चाबन्दीमा प्रचण्डका सहयोगी बनेका छन् ।
तर राजनीतिका चतुर खेलाडी ओलीले प्रचण्डको यो खेल बुझेका छैनन् भन्नू मुर्खता मात्रै हो । प्रचण्डको सम्भावित रणनीतिलाई काउण्टर दिनकै लागि प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्र नेता ईश्वर पोखरेलको नेतृत्वमा आफू पक्षका मुख्यमन्त्रीहरू शेरधन राई, डोरमणि पौडेल, शंकर पोखरेल र पृथ्वी सुब्बा गुरुङको नेतृत्वमा आफ्नो समूहका कमजोरी पहिचान गरि पार्टीभित्रका असन्तुष्टहरूलाई समेट्न कोशिश गर्नको लागि निर्देशन नै दिएको समेत स्रोतको दावी छ ।
अर्कोतिर नेकपा भित्र राम्रो पकड बनाउन सफल राष्ट्रपति विद्या देवी भण्डारीको पनि साथ ओलीलाई हुने हुँदा सरकार परिवर्तनको खेल सोचेजस्तो सरल नहुने कुरामा दुईमत छैन । तर पनि कमजोर स्वास्थ अवस्था र अलोकप्रीय पात्रहरूको सहायतामा शक्तिशाली भनिएको सरकारको नेतृत्व गरिरहेका ओलीलाई यो चुनौती पन्छाउन सजिलो भने नभएको विश्लेषण गरिदैंछ ।
यही अवस्थालाई बुझेर प्रतिपक्षको भूमिकामा रहेको मधेसकेन्द्रीत दल राष्ट्रिय जनता पार्टीलाई सरकार ल्याउने प्रधानमन्त्री ओलीको चाहानामा तत्कालका लागि भने ब्रेक लागेको छ । उपसभामुख सहित कम्तीमा ४ मन्त्रालय र तीन वटा संवैधानिक पदको दावी गरेको राजपालाई त्यत्रो हैसियत दिन प्रधानमन्त्री ओलीले असमर्थता देखाएपछि राजपा अर्को प्रतिपक्षी दल समाजवादी पार्टीसँग एकताको लागि छलफल गर्न जुटेको छ ।
आफ्नो हैसियत भन्दा तल रहेर सरकार नजान भारतीय संस्थापन पक्षले दवाव दिएपछि राजपा सरकारमा जान खुट्टा उचालेर पनि एक कदम पछाडि हटेको छ । राजपा अध्यक्ष मण्डलका सदस्यहरू राजेन्द्र महतो र शरदसिंह भण्डारीको दिल्ली यात्राले पनि काठमाडौको सत्तारोहण पक्का गर्न नसकेपछि ओलीलाई देखाउनकै लागि भएपनि केही न केही गर्नैपर्ने बाध्यतामा राजपा पुगेको छ । यहि बेला अल्पमतमा रहेका ओलीलाई जसरी पनि विस्थापन गर्ने रणनीतिमा प्रचण्ड लाग्नुले ओली सरकारको निरन्तरतामा भने प्रश्न उठेको छ ।
















प्रतिक्रिया