प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौला पन्तले विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड – १९) बारे सरकारकै भनाइ आपत्तिजनक रहेको भन्दै कोरोना भाइरस नियन्त्रणको लागि सरकारले गरेको प्रयास अपर्याप्त रहेको उल्लेख गरिन ।
बिहिवारको प्रतिनिधिसभाको विषेश समयमा बोल्दै सांसद संग्रौलाले नेपाल सरकारका सम्बन्धित विभागीय मन्त्रीले नै कोरोना भाइरस संक्रमित जनतालाई आइसोलेसनमा राख्न नसक्ने, संक्रमित जनताले आफैं क्वारेन्टाइन बस्नुपर्ने अभिव्यक्तिले जनतामा त्रास फैलाउने काम गरेको मात्रै टिप्पणी गरिन ।
कोरोना भाइरसको विश्वव्यापी संक्रमण बढेसँगै बजारमा कालोबजारी बढेको र खाद्यान्न र उपभोग्य बस्तुको कृत्रिम अभाव गरेर कालोबजारी गर्दा पनि सरकारले उपभोक्तालाई राहत महशुस हुने कुनै पनि कदम चाल्न नसकेको भन्दै सरकारको लाचारीपनको कडा आलोचना गरिन ।
कोरोना भाइरसको महामारीको समयमा सरकारले पूर्वाधार विकास करका नाममा प्रेट्रोलियम पदार्थमा कर लगाउने सरकारको कदमको आलोचना गर्दै प्रेट्रोलियम पदार्थमा लगाइएको पूर्वाधार विकास कर तुरुन्त फिर्ता गर्न पनि सरकारको ध्यानाकर्षण गराइन ।
काठमाडौ उपत्यकामा लिच्छविकाल र मल्लकालमा स्थापना गरिएका धारा र पानीको मुहान संरक्षण अभावमा लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै त्यस्ता संरचनाको संरक्षणमा ध्यान दिन पनि सरकारको ध्यानाकर्षण समेत गराइन ।




















प्रतिक्रिया