विश्वव्यापी स्वास्थ महामारीको फैलिएको कोरोना भाइरस (कोभिड – १९) को अबको केन्द्र भारत बन्न सक्ने चेतावनी दिएका छन् । एशियाका अन्य देशमा प्रभावकारी देखिएका सतर्कताका उपायहरू विश्वकै दोस्रो ठूलो जनसंख्या भएको मुलुकका लागि प्रभावकारी हुनेमा उनिहरूको आशंका छ ।
भारतमा अहिलेसम्म १३८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । कोरोना संक्रमितको उपचार गरिरहेका लखनऊका डाक्टरमा समेत कोरोना संक्रमण देखिएको छ भने अहिलेसम्म ३ जनाको ज्यान गैसकेको छ । कोरोनाको प्रकोप बढेसँगै भारतले अन्तराष्ट्रिय सिमा बन्द गर्ने अन्य देशबाट भारत छिर्नेहरूको स्वास्थ परिक्षण गर्ने र संक्रमण पुष्टि भएका साथै संक्रमितसँग सम्पर्कमा रहेकाहरूलाई समेत क्वारेन्टाइनमा राख्ने प्रयास गरिरहेको छ ।
मंगलबार मात्रै इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले देशमा कोरोना भाइरस परिक्षण क्षमता दैनिक ५ सय नमूना परिक्षण गर्न सक्नेबाट बढाएर दैनिक ८ हजार पुर्याउने घोषणा गरेको छ । काउन्सिलका अनुसार अहिलेसम्म समुदायमा भाइरस फैलिरहेको कुनै प्रमाण फेला नपरेको जनाएको छ । १ अर्ब ३० करोडभन्दा धेरै जनसंख्या भएको भारतमा अहिलेसम्म भैरहेको प्रयासले कोरोना भाइरस फैलिनबाट रोक्ने कुरामा सहमत हुन सकेका छैनन् । उनिहरूले संक्रमण फैलिन नदिन उच्च जनघनत्व भएका शहरमा वाइस्प्रेड टेस्टिङ र सामाजिक रूपमा दुरी कायम गर्न सुझाव समेत दिएका छन् ।
विश्व स्वास्थ संगठनले समेत युरोपसँगै दक्षिण पूर्वी एशियामा कोरोनाको संक्रमण फैलनसक्ने चेतावनी दिएको छ । कोरोना भाइरसको संक्रमण विस्तार हुन नदिनका लागि गरिएका प्रयासहरूलाई तत्काल सघन र प्रभावकारी बनाउन नसकिए अवस्था भयवाह हुने भन्दै डब्लूएचओले दक्षिण पूर्वी देशहरूलाई चेतावनीसमेत दिएको थियो । यसले पनि कोरोना भाइरसको केन्द्र भारत बन्नसक्ने तर्फ संकेत गरेको भारतीय विशेषज्ञहरूको अनुमान छ ।
भारतमा अहिलेसम्म संक्रमणको वृद्धिदर ढिलो छ तर यो दर अप्रिल १५ सम्ममा बढेर १० गुणा उच्च हुने डा. टी ज्याकब जोनले बताएका छन् । भारतको इण्डियन काउन्सिल फर मेडिकल रिसर्च सेन्टरको एड्भान्स्ड रिसर्च इन भाइरोलोजीका पूर्व प्रमुख डा. जोनले चिनियाँ मिडिया साउथ चाइना मर्निङ पोस्टसँग कुरा गर्दै भने ‘उनीहरु बुझिरहेका छैनन् यो हिमपहिरो हो ।’ डा. जोन भारत सरकारको पोलियो मुक्त अभियान र भेल्लोरस्थित क्रिस्चियन मेडिकल कलेजको राष्ट्रिय एचआइभी एड्स रेफरेन्स सेन्टरका सल्लाहकार समेत रहिसकेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले भाइरस संक्रमण फैलिन नदिन आफ्नो क्षमताले भ्याएसम्म गरिरहेको बताएका छन् । भारतको मुख्य चिन्ताको क्षेत्र महाराष्ट्र हो जो भारतको सबैभन्दा धेरै शहरीकरण भएको राज्य हो । भारतको आर्थिक राजधानी मुम्बइ रहेको यो राज्य स्टक एक्सचेन्जको पनि बेन्चमार्क हो । यहीँ सबैभन्दा धेरै संक्रमण फैलिएको छ । महाराष्ट्रमा मात्र ३९ संक्रमित भेटिएका छन् । महाराष्ट्र सरकारले सोमबार यहाँका शहरहरुलाई ‘भर्चुअल लकडाउन’को घोषणा गरेको छ । यहाँका सबै सार्वजनिक स्थल बन्द गरिएका छन्, विश्वविद्यालयको परीक्षा स्थगित गरिएको छ र सबै सरकारी तथा निजी कम्पनीका कर्मचारीमध्ये आधालाई घरबाटै काम गर्न भनिएको छ ।
‘अहिले महाराष्ट्र दोस्रो चरणमा छ’ महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश टोपेले भने ‘तर यदि हामीले संक्रमण फैलिनबाट घटाउन वा रोक्न सकेनौं भने हामी तेस्रो स्टेजमा चिप्लिनेछौं । हामीले कुनै हालतमा यसलाई रोक्नुपर्छ ।’ यसबाहेक भारतको अर्को चुनौती बाक्लो जनघनत्व हो । यहाँ प्रति वर्ग किलोमिटर ४२० को दरले मानिसहरु बस्छन् । यो चीनको १४८ जना प्रति वर्ग किलोमिटरको तुलनामा निकै बाक्लो हो ।
भारतको जनसंख्याले यहाँ भाइरस संक्रमणको परीक्षण द्रुत गतिमा गर्नु निकै कठिन भएको डा. के श्रीनाथ रेड्डी बताउँछन् । हार्वर्ड विश्वविद्यालयको टिएच चान स्कुल अफ पब्लिक हेल्थका प्रोफेसर र भारतको स्वास्थ्य सम्बन्धी थिंक ट्यांक पब्लिक हेल्थ फाउण्डेशन अफ इण्डियाका अध्यक्ष डा. रेड्डी भन्छन् ‘सामाजिक दूरी बढाउने विषयमा धेरै कुरा भइरहेको छ तर यसले शहरी मध्यम वर्गमा मात्र काम गर्छ । शहरी गरिब र गाउँले जनसंख्यामा यो कठिन छ किनकि उनीहरु साना र कोचिनुपर्ने घरमा बस्छन् र उनीहरु यता ठाउँमा काम गर्न जानुपर्छ जो सामाजिक दूरी बढाउने हिसाबले उपयुक्त छैनन् ।’
भारतले मंगलबार राज्य सरकारले अनुमति दिएका प्रयोगशालाले कोरोनाभाइरसको परीक्षण गर्न सक्ने घोषणा गरेको थियो । तर, सरकारले अझैसम्म आधिकारिक प्रयोगशालाको सूची जारी नगरिसकेको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चका प्रवक्ता डा. लोकेश कुमार शर्माले बताए । विश्वभरका १ लाख ८० हजार भन्दा धेरैलाई संक्रमण गरिसकेको र ७ हजारभन्दा धेरैको ज्यान लिइसकेको यो भाइरसले सुरुवातमा ढिलो फैलिँदै एक्कासी महामारीको रुप लिने गरेको छ । यसले मेनल्याण्ड चीनपछि दक्षिण कोरिया र इटलीलाई सबैभन्दा धेरै प्रभावित पारेको छ ।
दक्षिण कोरियामा गत महिना १ हप्तामा भाइरस संक्रमणको दर २ हजार प्रतिशत थियो तर उसले यसलाई धेरै हदसम्म नियन्त्रण गरेको छ । उसले हजारमा सय जनालाई क्लिनिक र ड्राइभ थ्रु स्टेशनमै परीक्षण गरेर संक्रमणको दर कम गरेको थियो । भारतमा ५ हजार २ सयभन्दा बढी सम्भावित केसहरु संक्रमितसँग सम्पर्क भएकाहरुलाई खाज्दै जाँदा भेटिएका छन् र सबैलाई सर्भिलेन्समा राखिएको स्वास्थ्य मन्त्रालयले सोमबार बताएको छ ।
















प्रतिक्रिया