Logo

प्रमुख समाचार

कोरोना भाइरस: ‘डब्लुएचओ’को खतरनाक चेतावनी



विश्वव्यापी स्वास्थ महामारीको रूपमा फौलिएको कोरोना भाइरस (कोभिड – १९) को कहर कम हुने कुनै छाँटकाँट छैन । कोरोनाको संक्रमीत हुनेको संख्या ६ लाख पुगेको छ । यस्तै २७ हजार भन्दा धेरैको मृत्यु भएको छ ।

परिस्थिति थप संकटपूर्ण बन्दै गएको बेला विश्व स्वास्थ संगठनले संक्रमित जीवन रक्षाका लागि दिनरात खटिएका स्वास्थकर्मीको सुरक्षाका लागि आवश्यक पर्ने पिपिईको अभावमा गम्भीर बनेको बताएको छ ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले डाक्टर, नर्ससहितका स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इकुप्मेन्ट (पिपिई) उत्पादनका लागि शुक्रबार पुनः अपिल गरेका छन् ।

यस्तै उनले कोरोना भाइरसका कारण हुने कोभिड–१९ विरुद्ध प्रभावकारी नतिजा नदेखिएका औषधिको प्रयोग रोक्न पनि सुझाव दिएका छन् । जेनेभामा भएको पत्रकार सम्मेलनमा उनले भने, ‘विश्वभर भइरहेको पिपिईको अभाव अहिलेको सबैभन्दा ठूलो र तात्कालीक चुनौति हो । यसले गर्दा जीवन रक्षा गर्ने हाम्रो संयुक्त प्रयासमा धक्का लाग्ने जोखिम बढेको छ ।’

डा. टेडरोसले भने, ‘कम तथा मध्यम आय भएका देशका स्वास्थ्यकर्मीले पनि धनी देशका स्वास्थ्यकर्मीले जस्तै सुरक्षात्मक सामग्री पाउनु पर्छ ।’ डब्लुएचओका आपतकालीन अवस्था सम्बन्धी शीर्ष विज्ञ डा. माइक रायनले विश्व अनिश्चित भविष्य तर्फ लागेको बताए । उनले भने, ‘विश्वका धेरै देशहरुमा यो महामारी चक्रको सुरुवात मात्रै भएको देखिँदै छ । केही देशहरु यो महामारीको चक्रबाट गुज्रिएका छन्, सिंगापुर र चीन । यी देशहरुमा रोग पुनः नफैलियोस् भन्ने छ ।’

कोरोना भाइरसका कारण हुने कोभिड–१९ को जोखिम वृद्ध तथा गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिमा हुने भए पनि ५० वर्षमुनिका १० देखि १५ प्रतिशत व्यक्तिमा पनि मध्यम तथा गम्भीर संक्रमणको जोखिम रहेको डा. रायनले बताए । वयश्यकहरुमा भएको संक्रमणबारे गरिएको प्रश्नमा उनले भने, ‘अधिकांश वयश्यकमा यसको अति कम संक्रमण देखिएको छ । तर २० देखि ६० वर्षका केही सीमान्तकृत व्यक्तिहरुमा भने संक्रमण अधिक छ ।’

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार ०८:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।