Logo

समाचार

सीमामा अलपत्र नेपाली आफ्नै देश आउन पाएनन्, भारतमै क्वारेन्टाइनमा राखियो



भारतको विभिन्न क्षेत्रमा काम गरी फर्किएका ५ सय ६३ जना नेपालीहरूलाई आफ्नै देश प्रवेश गर्न निषेध गर्दै भारतकै धार्चुलामा क्वारेन्टाइन राखिएको छ । पिथौरागढ, डिडिहाट, मसुरी लगायतका क्षेत्रमा काम गरी नेपाल फर्किएका उनिहरू केही दिन देखि नेपाल भारत सिमामै अलपत्र परेका थिए ।

उनिहरूले महाकाली किनारमा आफ्नो देश प्रवेश गर्न पाउनुपर्ने भन्दै नारावाजी समेत गरेका थिए । कोरोना भाइरसका कारण अरू देशले चार्टर्ड प्लेन मार्फत आफ्ना देशका नागरिकको उद्दार गर्दा नेपाल सरकारले भने सिमामै रोकेर आफ्नो देश प्रवेशमा प्ररिबन्ध लगाएको भन्दै आक्रोश समेत पोखेका थिए ।

सोमबार जिल्ला प्रशासन कार्यलय दार्चुलाको पहलमा भारतीय अधिकारीहरू सँग छलफल गरी भारतकै धार्चुलामा खाने बस्ने व्यवस्था सहित क्वारेन्टाइनमा राख्ने सहमति भएको जिल्ला प्रशासन कार्यलय दार्चुलाले जनाएको छ ।

क्वारेन्टाइनको कार्यविधि अनुसार त्यहाँ रहेका सबैको स्वास्थ परिक्षण सहित मंगलबार बाटै क्वारेन्टाइनमा राखिएको छ । हाल धार्चुलामा रहेको एउटा विद्यालयमा ३ सय र अन्यलाई त्यहीँ रहेका सार्वजनिक ठाउँमा क्वारेन्टाइन स्थापना गरि राखिएको जनाइएको छ । २७ चैतमा लकडाउन खुल्यो भने मात्रै उनिहरूलाई आउन दिने वा नदिने निर्णय हुने जिल्ला प्रशासन कार्यलय दार्चुलाले जनाएको छ ।

सोमबार नै महाकाली नदिमा पौडी खेलेर भारतबाट आएका सहित तीन जनालाई सोमबार जिल्ला प्रहरी कार्यलयमा राखिएको र मंगलबार तिनै जनालाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाउने जनाइएको छ । लकडाउनका बारेमा जनतालाई बुझाउन नसक्दा यो समस्या आएको जिल्ला प्रशासन कार्यलय दार्चुलाको ठहर छ ।

श्रमका लागि भारत पुगेका, खासगरी सुदूरपश्चिमका नेपाली प्रभावित भएका छन् । उनीहरु हिँडेरै भए पनि नेपाली सीमामा आइपुगेका हुन् । सीमामा आइपुग्दा नेपालमा पनि लकडाउनका कारण सरकारले सीमा नाका बन्द गरेपछि उनीहरुले आफ्नै देश छिर्न नारा लगाएका थिए ।शुक्रबार राति १० बजेसम्म दार्चुला सदरमुकाम खलंगास्थित झोलुंगे पुल खुलाएर २ सय २५ जनाको उद्धार गरिएको थियो । राति १२ बजेपछि भारतको धारचुलामा आइपुगेका नेपालीहरु अलपत्र परेका हुन् ।

नेपाल–भारत दुवैतर्फ लकडाउन भएको अवस्थामा नेपाली मजदुरहरु तीन दिनको पैदल यात्रापछि पिथौरागढबाट धारचुला आइपुगेका हुन् । भारतका होटलहरुमा बस्न र खान नदिएपछि बाध्य भएर काम छोडेर फर्किनु परेको नेपालीहरुले बताएका छन् ।

हाल धारचुलामा रोकिएका सबैभन्दा बढी बैतडीका नागरिक रहेका छन् । प्राप्त विवरण अनुसार दार्चुला मार्मा गाउँपालिका अपिहिमाल गाउँपालिका, शैल्यशिखर नगरपालिका, बैतडी जिल्ला पुर्चौडी नगरपालिका, डिलाशैनी गाउँपालिका, बझाङ जिल्ला बुङ्गल नगरपालिकाका र जाजरकोटका गरि ५ सय ६३ जना रहेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलवार १०:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।