कोरोना भाइरसको उपचार तथा परिक्षण गर्न स्वास्थ तथा जनसंख्या मन्त्रालयले किनेको र्यापिड टेस्ट किन विश्व स्वास्थ संगठनले स्वीकृत नै नगरेको नक्कली किट खरिद गरेको पाइएको हो ।
चरम आर्थिक अनियमितता गरेर खरिद गरिएको आरोप लागिरहेको बेला परिक्षण किट नै नक्कली परेपछि अनियमितता भएको भन्ने कुरालाई नै संकेत गरेको छ ।
कोरोना परिक्षणका लागि स्वास्थ सामाग्री खरिदका लागि दुई महिनाअघिको प्रक्रिया रद्द गरेर लकडाउनको समयमा तीन घण्टाभित्र महंगोमा सामाग्री खरिद गर्ने सम्झौता गरेको मन्त्रालयले कोरोना परिक्षणमा कामै नलाग्ने किट खरिद गरेको खुलासा भएको हो ।
विश्व स्वास्थ संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्यापिड टेस्टिङ किट सरकारले किनेपछि त्यसमाथि चौतर्फी प्रश्न उठेको छ । सरकारले चीनबाट सात करोड रुपैयाँभन्दा बढी लागतमा ७५ हजार त्यस्ता कीट किनेको छ ।
चीनमा बनेका त्यस्तो किटले १० देखि १५ मिनेटमै कोरोना भाइरस (कोभिड – १९) पत्ता लगाउन सक्छ । तर त्यसको परिणाम भरपर्दो हुँदैन, यसले संक्रमित व्यक्तिको नतिजा पनि नेगेटिभ देखाईदिंदा संक्रमितहरू समुदायमा जाने र त्यसले अर्को खतरा निम्ताउने विज्ञहरूले चेतावनी दिंदै प्रयोगमा निरुत्साहित गरिरहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबिसिआई)सँग सामाग्री खरिदको सम्झौता गरेको थियो ।आबिसिआईले चीनबाट विश्व स्वास्थ्य संगठनले अनुमति नै नदिएको र्यापिड टेस्ट किट ल्याएको हो । चीनबाट आइबिसिआईले स्वास्थ्य मन्त्रालयमा ७५ हजार थान यस्ता किट ल्याएको छ । मन्त्रालयले प्रति किट ८ डलरमा यस्ता किट खरिद गरेको हो । ७५ हजार किटका लागि ६ लाख डलर अर्थात ७ करोड २० लाख नेपाली रुपैयाँ परेको छ ।
मन्त्रालयले खरिद गरेको उक्त किटको प्रभावकारितमा प्रश्न उठेपछि स्पेनले फिर्ता गरेको थियो । विश्व स्वास्थ्य संगठनले पनि उक्त किट प्रयोग नगर्न भनेको छ । स्वास्थ्य मन्त्रालयको मंगलबारको नियमित कोरोना ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले समेत यस्ता किट प्रयोग गर्न नहुने बताएका थिए ।
डा कार्कीले ती टेष्ट कीटहरु विश्व स्वास्थ्य संगठनले जाँचका लागि गुणस्तरीय नभएको भन्दै अनुमति नदिएकोले प्रयोग नगर्न अनुरोध गरेका थिए । तर, यस्ता किट खरिदका लागि स्विकृती दिने क्रममा भने उनकै हस्ताक्षर समेत छ । कोभिड १९ को रोकथाम तथा व्यवस्थापनको सामग्री आपूर्तिको विवरणमा डा कार्कीले समेत हस्ताक्षर गरेको छन् । कीट लगायतका उपकरणहरु प्रक्रिया मिचेर खरिद गरिएको भन्दैै सरकारको आलोचना भइरहेको छ ।




















प्रतिक्रिया