विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा निकै न्यून देखिएपनि चर्को दबाबपछि परिक्षणको आकार बढाउने तयारी गरेको छ ।
शुक्रबार साँझसम्मको तथ्यांक अनुसार १ हजार १ सय ८४ नमुना जाँच गर्दा अहिलेसम्म ६ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको भएपनि त्यो नमुनाले यथार्थको प्रतिनिधित्व गर्नुका साथै विश्वसनीय हुनुपर्ने सरकारद्वारा गठित ‘कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर अप्रेसन’ (सिसिएम ओपिएस) को निर्णय अनुसार चैत मसान्तसम्म ६ हजार नमुनाको परिक्षण हुने भएको हो ।
सरकारको आधिकारिक सूचना अनुसार नेपालका विभिन्न भेगबाट नमुना संकलन गरि कोरोना भाइरस बाट प्रभावित या अप्रभावीतको भरपर्दो अध्ययन गरि आवश्यक निति तर्जुमा हुन लागेको अब कोरोना भाइरस परिक्षणको नेतृत्व पनि नेपाली सेनालाई दिने तयारी गरिएको छ ।
चीनको वुहानबाट ल्याइएका १ सय ७५ जनालाई क्वारेन्टाइनमा राखी सफलता हात पारेको सेनाले यो कार्यमा विश्वसनीयता हासिल गरेकाले परिक्षणका लागि नमुना संकलन गर्ने जिम्मेवारी पनि उसैलाई दिन लागेको बताइन्छ । यद्यपि त्यसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पनि संलग्नता भने रहने छ। दुई दिन अघि धनगढीमा गरिएको ६९ र महेन्द्रनगरमा गरिएको २९ नमुना सकंलन र परीक्षणकाे काममा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि पनि संलग्न थिए ।
तर यो काम सहज छैन, खर्चिलो छ र भक्तपुर क्यारेन्टाइनमा र्खच भएको करिब ३० लाख रुपैयाँसमेत अर्थ मन्त्रालयले अहिलेसम्म नदिएको भन्दै यसबारे स्थायी व्यवस्था गर्न आवश्यक भएको स्रोत बताउँछ । उपत्यकाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला बाहेक, १ नम्बर प्रदेशमा धरान, सुदूरपश्चिम प्रदेशमा धनगढी, कर्णाली प्रदेशमा सुर्खेत, ५ नम्बर प्रदेशमा बुटवल, गण्डकी प्रदेशमा पोखरा, बाग्मती प्रदेशमा हेटौँडामा कोरोना भाइरस परीक्षण शुरु भइसकेको छ ।
दुई नम्बर प्रदेशको जनकपुरमा कोभिड-१९ परीक्षण मेसिन पुगिसके पनि परीक्षण शुरु भएको छैन । सरकारले ओम्नी समूहसँग खरीद गरेका ५ वटामध्ये ४ वटा प्रोटेवल पीसीआर मेसिन सुर्खेत, धनगढी, बुटवल र जनकपुरमा पठाइएको थियो । पोखरा, धरान र हेटौँडामा पुरानै मेसिन थिए भने ‘टेस्टिङ किट’ सँगै केही प्राविधिक पठाइएपछि परीक्षण सम्भव भएको हो ।
टेकुस्थित जनस्वास्थ्य प्रयोगशालाले पहिलो पटक नेपालमा कोरोना भाइरस देखिएका व्यक्तिको नमुना हङकङमा पठाएको थियो । उक्त नमूनामा कोरोना भाइरस पुष्टी भएपछि प्रयोगशाला आफैले त्यसको परीक्षण शुरु गरेको थियो । तर थप पुष्टीका लागि केही समय हङकङ नै पठाउने गरेको थियो । उपत्यका बाहिर प्रदेशस्तरमा हालै सञ्चालनमा आएका प्रयोगशालाहरुले पनि शुरुवाती चरणमा नमुनाको थप पुष्टिका लागि टेकुस्थित प्रयोगशालामै पठाउने गरेका छन् ।




















प्रतिक्रिया