Logo

अन्तर्राष्ट्रिय

‘कोरोना भाइरसविरुद्धको लडाइँमा अबको दुई हप्ता अति कठिन’: ट्रम्प



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्धको लडाइँमा अबको दुई हप्ता अति कठिन हुने बताएका छन् । कोरोना भाइरस टास्क फोर्सको नियमित ब्रिफिङ्गको क्रममा राष्ट्रपति ट्रम्पले शनिबार ह्वाइटहाउसमा पत्रकार समक्ष यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘आउँदा दिनमा धेरैको मृत्यु हुन सक्छ ।’

ट्रम्पले ब्रिफिङ्गको क्रममा अबको दुई हप्ता कोरोना भाइरसका कारण उत्पन्न संकटको विकराल रुप आउन सक्ने र त्यसबाट धेरैको मृत्यु हुन सक्ने चेतावनी दिएका हुन् । तर संक्रमण रोक्ने र फैलिन नदिने उपायहरु अपनाइएमा संकटको स्तरलाई कम गर्न सकिने उनले बताएका छन् ।

उनले भनेका छन्, ‘शायद यो हप्ता र आउँदो हप्ताबिचको समय कोरोना भाइरस महमारीको सबैभन्दा कठीन समय हुने छ । दुर्भाग्य, यो अवधिमा धेरैको मृत्यु हुन सक्छ । सावधानी अपनाइएमा मृत्युको संख्या केही कम हुन सक्छ, तर मृत्यु निश्चित छ ।’

ह्वाइस आउस कोरोना भाइरस रेस्पोन्स कोअडिनेटर डा. डेबरो बक्सले चेतावनी दिँदै भने, ‘यो समय ग्रोसरी स्टोर, फार्मेसी वा अरु कामका लागि बाहिर निस्कने बेला होइन । आफू, परिवार र साथीहरुलाई सुरक्षित राख्ने समय हो । यसको अर्थ सबैले कम्तिमा ६ फिटको दूरी कामय गर्ने र हात राम्रोसँग धुनु हो ।’

अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म ८ हजार ४ सय भन्दा बढीको मृत्यु भएको छ । शनिबार एकै दिन १२ सय २४ भन्दा बढीको ज्यान गयो । यस्तै अमेरिकामा संक्रमितको संख्या तीन लाख १० हजार भन्दा बढी पुगेको छ ।

अमेरिकामा सबैभन्दा बढी प्रभावित भएको राज्य न्यूयोर्क हो । त्यहाँ अहिलेसम्म ३५ सय भन्दा बढीको ज्यान गएको छ र संक्रमितको संख्या एक लाख १३ हजार सात सय भन्दा बढी रहेको छ ।

विश्वभर कोरोना भाइरसका कारण अहिलेसम्म ६४ हजार ६७५ जनाको मृत्यु भएको छ । संक्रमतिको संख्या १२ लाख भन्दा बढी पुगेको छ । अहिलेसम्म दुई लाख ४६ हजार भन्दा बढी निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आईतवार ०७:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।