Logo

टिप्पणी

गुमनाम प्रचण्ड: के सत्ता समीकरण फेरबदलको लागि अन्तिम योजनाको तयारीमा जुटेका हुन् ?



सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले गुमनाम जस्तै छन् । सरकारको कार्यशैलीलाई लिएर पार्टी भित्रै प्रश्न उठ्दा समेत उनी शान्त छन् । वा भनौं गुमनाम नै छन् ।

प्रचण्ड निकटाकाहरूले पनि उनको मौनतालाई आश्चर्यजनक मानेका छन् । देश कोरोना भाइरस महामारीका विरुद्धको लडाइँमा लागिरहेका बेला सत्तारूढ दलका कार्यकारी अध्यक्षको यो मौनतालाई कतिपयले फरक अर्थ निकाल्न थालेका छन् ।

सानातिना कुरामा समेत प्रतिक्रिया दिईहाल्ने प्रचण्ड कोरोनाको महामारी देखि देशमा घटेका तमाम घटनामा चुपचाप रहेको कुराले उनका समर्थकहरूमा समेत संशय थपिएको छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले थालेको स्वास्थ सामाग्री खरिद प्रकरण सार्वजनिक भएपछि सरकार र पार्टीको आलोचना बढ्दा समेत उनी किन गुमनाम छन् । कसैले यसको चित्तबुझ्दो जवाफ भेट्न सकेका छैनन् ।

भलै पार्टीको सचिवालय बैठक बोलाएर यो सम्बन्धमा पार्टी सचिवालयमा छलफल हुनुपर्छ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली विरुद्ध हस्ताक्षर अभियान नै सञ्चालन गरेपनि उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता माधवकुमार नेपाल मात्रै होइन आफ्नै समूहका नेता गृहमन्त्री रामबहादुर थापा र प्रवक्ता नारायणकाजी श्रेष्ठको समेत साथ नपाउँदा उनी दुई कदम पछाडि हट्न बाध्य भएको बताइन्छ ।

प्रचण्ड निकट स्रोतका अनुसार उनी अहिले यही कारण निकै तनावमा परेका छन् । प्रचण्डमाथि पार्टी भित्रको एउटा समूह योजनाबद्ध आक्रमणमा लागेको र पूर्व माओवादी भित्रकै एउटा समूले यो योजनामा साथ दिएको उनको बुझाई छ । उनलाई कमजोर गराउन पार्टीभित्रको ठूलो शक्ति लागेकैले पनि उनिमाथि दबाब बढेको र उनी गुमनाम बस्न बाध्य बनेको उनी निकट स्रोतको दावी छ ।

यो सँगै देश कोरोना भाइरसकै कारण लकडाउनमा गएका बेला चिनियाँ राष्ट्रपतिलाई आवश्यक सहायता गर्नको लागि भन्दै लेखेको पत्र समेत निकै विवादित बन्न पुग्यो । यो पत्र विवादित बन्नुमा पनि पार्टी भित्रकै आफू विरुद्धको शक्तिको हात रहेको प्रचण्डको बुझाई छ ।

कोरोना संक्रमण फैलिन नदिन अत्यावश्यक उपचार सामाग्री तथा स्वास्थ उपकरण खरिद प्रकरणमा समेत पार्टी सचिवालय बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता श्रेष्ठलगायतका नेताहरूले प्रधानमन्त्री र सरकारको चर्को आलोचना गर्दा समेत प्रचण्ड मौन बसे । यो प्रकरणमा प्रधानमन्त्रीको सचिवालय र केहि मन्त्री नै विवादमा परेपछि पार्टीका शिर्ष नेताहरूको दबाब कै कारण प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाउन बाध्य बनेपनि बैठकमा प्रचण्डले खासै कुनै कुरामा विरोध वा समर्थन नगरेको समेत बताइन्छ ।

एक हप्ताको समयमा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्ड बिच जम्मा दुईपटक भेटवार्ता भयो, भेटमा पनि प्रचण्डले खुलेर आफ्नो कुरा नराखेको बताइन्छ । प्रचण्डको मौनताले ठूलो अर्थ बोकेको र समयक्रममा पार्टी र सरकारमा यसले ठूलो भूकम्प ल्याउने प्रचण्ड निकट नेताहरूको दावी छ ।

सरकारको कार्यशैलीलाई लिएर पार्टीभित्र विरोध बढ्दै गएको छ । पार्टीका प्रभावशाली नेताहरू नै स्वास्थ मन्त्रालयबाट स्वास्थ सामाग्री खरिदमा भएको अनियमितता र सेनालाई स्वास्थ सामाग्री खरिदको जिम्मा दिने निर्णयलाई लिएर सार्वजनिक आलोचनामा उत्रेका छन् । त्यतिमात्र नभएर प्रधानमन्त्री ओलीले समेत स्वास्थ सामाग्री खरिद प्रक्रियामा कुनै चलखेल नभएको र मिडियाले झुठा आरोप लगाएको अभिव्यक्ति दिएपछि प्रचण्ड अहिले ‘पर्ख र हेर’ को रणनीतिमा रहेको बताइन्छ ।

प्रचण्ड निकट नेताहरूका अनुसार सरकारको अलोकप्रियताको जगबाटै सत्ता समीकरण समेत फेरबदल गर्न सकिने सम्भावनालाई नजिकबाट देखेका प्रचण्ड उपयुक्त समय नआएसम्म नबोल्ने र पार्टीभित्र आफ्नो शक्ति संचयमा संयमताका साथ अगाडि बढेको बताइन्छ । उपयुक्त समयमा सत्ता समीकरण परिवर्तनको लागि अन्तिम प्रयास गर्ने योजनामा बिस्तारै अगाडि बढेको स्रोतको दावी छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार ०६:५४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।