कोरोना भाइरसको महामारी नियन्त्रणका लागि अपनाइएका लकडाउन सहितका उपायहरू खुकुलो नगर्न विश्व स्वास्थ संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ ।
डब्लूएचओका महानिर्देशक डा. टेजरोज आध्यानोम गेब्रेयेसोसले प्रतिबन्धहरू फुकुवा वा खुकुलो बनाउँदा देशहरू सचेत बन्नुपर्ने बताएका हुन् । प्रतिबन्धका कारण आर्थिक समस्या वा संकट आउने भएपनि त्यसले मानव जिवनको रक्षा गरिरहेकाले हतार गर्न नहुनेमा उनले जोड दिएका छन् ।
युरोपमा सबैभन्दा बढी प्रभावित भएका स्पेन र इटालीमा केहि प्रतिबन्धहरू खुकुलो पारिएको भएपनि त्यहाँ लकडाउन भने कायम छ । विश्वभर अहिलेसम्म कोरोना भाइरसबाट करिब १७ लाख मानिस संक्रमित भएका छन् भने मृतकको संख्या एक लाख नाघेको छ ।
जेनेभामा भएको पत्रकार सम्मेलनमा डब्लूटीएचओ प्रमुख डा. टेडरोजले युरोपका केहि देशमा महामारी केहि कम भएको देखिएको बताए । डब्लूएचओले विश्वका सरकारहरूसँग जारी प्रतिबन्धहरू फुकुवा गर्ने वा खुकुलो पार्ने सम्बन्धमा रणनीति बनाइरहेको बताए । तर त्यसका लागि हतारो भने नगरिने उनको भनाइ छ ।
उनले भनेका छन्, ‘प्रतिबन्ध हतारमा फुकुवा गर्दा संक्रमण पुनः पहिले भन्दा घातक बनेर फैलिने जोखिम हुन्छ । यदी राम्रोसँग व्यवस्थापन गरिएन भने बढ्दो क्रमको भन्दा घट्दो क्रमको संक्रमण जोखिमपूर्ण हुन्छ ।’
स्पेन र इटालीमा निर्माण तथा औद्योगिक उत्पादन क्षेत्रका केही कामहरु सोमबारदेखि सञ्चालन गर्ने तयारी छ । कामदारहरुलाई यी क्षेत्रमा जान दिने तयारी थालिएको छ । यसले थप जोखिम निम्त्याउन सक्ने भन्दै डब्लुएचओले सचेत गराएको हो । तर स्पेन र इटालीका सरकारले सामाजिक दूरी भने कामय गर्न भनेका छन् ।




















प्रतिक्रिया