पर्साको जगरनाथपुर गाँउपालिका प्रमुख जालिम मियाँले भारतीय सञ्चारमाध्यमहरूले आफूलाई भारतमा कोरोना संक्रमित व्यक्तिहरूलाई घुसाएको झुटो आरोप लगाएर आफ्नो चरीत्र हत्या गरिएको भन्दै अब कानुनी उपचारको लागी अन्तराष्ट्रिय अदालत जाने चेतावनी दिएका छन् ।
प्रमुख मियाँले भारतीय सञ्चारमाध्यमले आफ्नो चरित्रमा प्रश्न उठाउनु चरीत्र हत्या मात्रै नभएर राष्ट्रियता प्रतिको आक्रमण भएको समेत जिकिर गरे । परराष्ट्रमन्त्रालयले सामन्य खण्डन मात्रै गरेर आफ्नो जिम्मेवारी बाट पन्छिएको उनको आरोप छ । आफू एक व्यक्ति मात्रै नभएर एक स्थानीय तहको प्रमुख भएको कुरालाई समेत भुल्न नहुने उनको भनाइ छ ।
नेपालको परराष्ट्रमन्त्रालय र भारतस्थित नेपाली दूतावासले यो सम्बन्धमा गम्भीर पहल नगरेको महसुस आफूले गरेको प्रमुख मियाँको भनाइ छ । आफू अब न्यायको लागि अन्तराष्ट्रिय अदालत जानू नै एकमात्र एक विकल्प रहेको उनको भनाइ छ । केहीदिन अघि भारतीय टेलिभिजन टीभी ९ र न्युज १८ ले भारतमा मियाँले नै कोरोना फैलाएको दावी गर्दै समाचार प्रकाशित गरेका थिए ।
संकटको समयमा लाभ हासिल गर्न सक्रिय गिरोहले आफ्नो चरीत्र हत्या गरेको त्यसमा भारतीय सञ्चारमाध्यमहरू समेत प्रयोग भएको उनको भनाइ छ । जिल्ला पदाधिकारी कुन्दन कुमारले लेखेको पत्रको हवाला दिंदै भारतीय सञ्चारमाध्यमले उक्त समाचार सम्प्रेषण गरेका थिए । तर समाचार गलत भएको भन्दै भारतीय सञ्चारमाध्यमले माफी भने मागेका थिए ।
गलत समाचार सम्प्रेषण गरेर आफ्नो चरीत्र हत्या गरिएको कुरालाई माफी माग्दैमा माफी दिन नसकिने भन्दै प्रमुख मियाँले कानुनी उपचारको लागि आफू अन्तराष्ट्रिय अदालत जाने बताएका हुन् । तर सञ्चारमाध्यममा गलत समाचार प्रकाशन/प्रशारण गरेकै आधारमा अन्तराष्ट्रिय अदालतमा मुद्दा नचल्ने उल्लेख गर्दै अधिवक्ता ओम प्रकाश अर्यालले सम्बन्धित मिडियाको हेड अफिस रहेको भारतको दिल्लीस्थित सेसन कोर्टमा याचिका दायर गर्न सक्ने जानकारी दिए ।
यस्तै भारतीय प्रेस काउन्सिलमा समेत कानुनी उपचारको लागि याचिका दायर गर्नसक्ने अधिवक्ता अर्यालको भनाइ छ । घटनापनि भारतमा नै घटेको यसमा भारतीय मिडिया नै संलग्न रहेकाले कानुनी उपचार पनि भारतबाटै खोज्नुपर्ने अर्यालको भनाइ छ । भलै सम्बन्धित मिडिया हाउसले माफी मागीसकेको अवस्थामा प्रेस काउन्सिलमा गरेको उजुरीको प्रभावकारीताको विषयमा भने अनभिज्ञता प्रकट गरे ।




















प्रतिक्रिया