Logo

विविध

गरिब मर्ने देश



 

मृत्यु पश्चात स्वर्ग पुग्दा
ढोकामा मलाई सोधियो,
कहाँबाट आइस
मेरो उत्तर थियो,
गरीब मर्ने देश
के रे भनि फेरी सोधियो,
मैले फेरी भने
गरीबलाई मार्ने देश ।

स्वर्ग आउनु अघि
यानी कि देशमा बाँच्दा पनि
जिउंदै मरेको म,
बाँच्नका लागि
दिनहुँ मरे,
सरकार नभेट्दा
दिनहुँ मरें,
दया नदेख्दा
दिनहुँ मरें,
झन् मानवता हराएको देख्दा
हरेक क्षण मरें ।

मलाई फेरी सोधियो
म आफैं मरें कि मलाई मारियो,
अनि मैले भनें
गरिब हुँदा मेरो देशमा,
आफैं पनि मरिन्थ्यो,
अनि अरुबाट पनि मारिन्थ्यो ।

प्रश्न फेरी आयो
कसरी मरे भनि,
अनि मैले भने
देशमा महामारी आयो,
म मजदुर थिएँ र
खानको लागि खाना सकियो,
भाडा तिर्न पैसा सकियो,
त्यसै कारण निकालियो,
अन्तत:
गाउँ जाने निधो गर्दा
सबै तिरको बाटो छेकियो,
हिंड्नका लागि खुट्टा रोकियो,
प्रहरी ‘मेरो साथी’ झोकियो,
अनि
टाउकोमा लाठि ठोकियो ।

प्रश्न फेरी सोधियो
संकटका बेला
तिम्रो देशको सरकारले के गर्यो भनि
अनि मैले भने,
सरकार त एकदमै राम्रो थियो,
गरीबलाई देउता मान्थ्यो,
दु:खीलाई सुख दिन्थ्यो,
श्रमिकलाई खान दिन्थ्यो ।

मलाई ठुलो स्वरमा प्रश्न सोधियो,
त्यो संकटका बेला
तिम्रो देशको सरकारले के गर्यो भनि
अनि मैले भने
धनीलाई ठेक्का दिन व्यस्त थियो,
कमिसन मिलाउने ध्यान थियो,
आयोग भर्ने मात्र ज्ञान थियो,
गरिब, मजदुर अनि सर्वहाराको
नाम बेच्ने ‘स्टेट्सम्यान’ थियो,
सरकार गफ दिन तल्लिन थियो,
जनताको अनुहार मलिन थियो,
हामी सधैं गरिबीमा जलिन्थियो ।

अनि बल्ल मैले सोधें
यो कुरा कसरी थाहा भयो भनि
अनि मलाई भनियो,
मेरो देशका गरीबले
यस्ता उत्तर
सयौं पटक दिए,
हजारौं पटक दिए,
र सबैले उही दिए ।

अन्तिममा मलाई फेरी सोधियो
कहाँबाट आइस
मेरो उत्तर थियो,
गरीब मर्ने देश
के रे भनि फेरी सोधियो,
मैले फेरी भने
गरीबलाई मार्ने देश ।।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार १०:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।