Logo

अन्तर्राष्ट्रिय

कोरोना भाइरसका कारण धेरैको मृत्यु हुने देश अमेरिका होइन चीन होः ट्रम्प



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका कारण सबैभन्दा धेरै व्यक्तिको मृत्यु अमेरिकामा नभई चीनमा भएको बताएका छन् ।

ह्वाइट हाउसमा भएको कोरोना भाइरस टास्क फोर्सको शनिबारको ब्रिफिङ्गको क्रममा अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुने दर युरोपमा भन्दा कम रहेको बताए । युरोपको जर्मनी मात्रै अपवाद रहेको उनको भनाई छ ।

चीनमा भन्दा अमेरिकामा धेरै कम मानिसको मृत्यु भएको दाबी ट्रम्पले गरेका हुन् । उनले भनेका छन्, ‘बेलायत, स्वीट्जरल्याण्ड, बेल्जियम तथा फ्रान्सको तुलनामा अमेरिकामा कोरोना भाइरसका कारण भएको मृत्युदर कम छ । स्पेनको मृत्युदर तर अमेरिकाको भन्दा चार गुणा बढी छ ।’

ट्रम्पले अघि भनेका छन्, ‘कोभिड–१९ बाट हुने मृत्युमा अमेरिका पहिलो नम्बरमा होइन कि चीन हो । हामी त चीनको नजिक पनि छैनौँ । त्यहाँ धेरै मानिसको ज्यान गएको छ, यो कुरा तपाईँलाई पनि थाहा छ र मलाई पनि ।’

गएको शुक्रबार महामारीको उद्गम थलो चीनको वुहानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सच्याइएको थियो । त्यहाँ यसअघि भनिएको भन्दा थप १२९० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको उल्लेख चीनले गरेको थियो । चीनको आधिकारिक तथ्यांक अनुसार अहिलेसम्म त्यहाँ कोभिड–१९ बाट ४६ सय ३२ जनाको मात्रै निधन भएको छ ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा हालसम्म ३८ हजार ८३५ जनाको मृत्यु भइसकेको छ । यस्तै स्पेनमा २० हजार ६३९, इटालीमा २३ हजार २२७, फ्रान्समा १९ हजार ३४९, बेलायतमा १५ हजार ४९८ तथा जर्मनीमा ४५ सय ३८ जनाको निधन भएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आईतवार ०८:१७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।