विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणको लागि लकडाउन नै प्रभावकारी कदम भएकोले कोरोना भाइरस नियन्त्रण भएको सुनिश्चित नभएसम्म लकडाउन निरन्तर कायम रहने प्रधानमन्त्री केपी शर्मा ओलीले संकेत गरेका छन् ।
शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यमका प्रतिनिधिहरूसँगको विशेष कुराकानीमा उक्त कुराको संकेत गरेका हुन् । कुराकानीमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस पूर्ण रूपमा निर्मूल नभएसम्म लकडाउन अन्त्य गर्न नसकिने प्रधानमन्त्री ओलीको स्पष्ट संकेत थियो ।
त्यो सँगै छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर लगातार बढिरहेको संकेत गर्दै प्रधानमन्त्री ओलीले खुल्ला सिमानाका कारण कोरोना संक्रमण फैलिने सम्भावना रहेको भन्दै तत्काल सिमा नाका खोल्न नसकिने पनि उनले स्पष्ट पारेका थिए । सरकारले समयमै लकडाउन, सीमाबन्द र नागरिकमा जनचेतना फैलाउने लगायतका विधि अपनाएकोले पनि नेपालमा कोरोना भाइरसको संक्रमणले विकराल रूप लिन नपाएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
लकडाउनका कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव परे पनि अर्को वर्ष सुधार गर्न सकिने भएकोले मानव जीवनरक्षा पहिलो प्राथमिकता हुने स्पष्ट गर्दै लकडाउन निरन्तर कायम रहने संकेत गरेका हुन् । ‘अहिले जिवन रक्षा छाडेर अर्थतन्त्रको नाफाघाटालाई प्राथमिकतामा नराख्ने’ प्रधानमन्त्री ओलीको भनाइ छ ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि लकडाउन नभएका देशमा बर्बादी भएको भन्दै विश्वस्तरमै कोरोना नियन्त्रणका लागि प्रभावकारी यो विधि अपनाइएको विषयलाई अर्थतन्त्र, राजनीतिक विचार र राजनीतिक प्रणालीसँग जोड्न नहुने प्रधानमन्त्री ओलीको भनाइ छ ।




















प्रतिक्रिया