रूपन्देहीको तिलोत्तमा नगरपालिका-१०, कान्छीबजार, शान्तिनगरकी अनुजा (नाम परिर्वतन) राम्रोसँग बोल्दिनन् । नयाँ मान्छे कोही घरमा पुग्नासाथ उनी झस्किन्छिन् । उनी घरअगाडि बाँसको झाङमुनि डोरीले बुनेको खटियामा पल्टिरहन्छिन् ।
८ वर्षकी अनुजा खटियामा पल्टने, उठ्नेबाहेक केही गर्दिनन् । उनको अनुहार मलिन । आँखामा त्रास । उनका लागि २६ वैशाख कालो दिन बनेर आयो । त्यस दिनदेखि अनुजा नयाँ मान्छे नजिक पर्दा झस्किन्छिन्, बोल्न पनि डराउँछिन् ।
घरअगाडि रहेको खटियामा बसेका आफ्ना आमा, दिदी, हजुरबुबासँग समेत उनी बोल्दिनन् । परिवारका सदस्य, समाजका केही व्यक्ति नजिक बसेर पीडामा मल्हम लगाउन, सम्झाउन र घटनाबारे अरू जानकारी दिन आग्रह गर्दा पनि अनुजा टोलाइरहन्छिन् ।
गत २६ वैशाखमा शान्तिनगरकै एक १४ वर्षीय बालकबाट यौन दुर्व्यवहारको शिकार बनेकी अनुजा अहिले पनि विक्षिप्त छिन् । त्यस दिनअघि उनी खेल्थिन्, हाँस्थिन्, घरको काम सघाउँथिन् । बलात्कार गर्ने ती बालक पनि सधैँ अनुजासँग खेल्ने गर्दथे । तर, त्यस दिन सँगै खेल्दै गर्दा उनले अनुजाको हात तानेर घरमा लगे ।
घरमा कोही थिएनन् । चिच्याएर प्रतिकार गर्छिन् भनेर ती बालकले अनुजाको मुखमा टेप लगाए । हातखुट्टा बाँधेर बलात्कार गरे । नजिकै कोदालो थियो । त्यही कोदालोको बिँड ती बालिकाको यौनाङ्गमा कोचिदिए । अहिले उनको यौनाङ्ग मलद्वारसम्मै छियाछिया भएको छ । कोदालोको बिँडले यौनाङ्गको भित्रैसम्म गहिरो चोट लागेको थियो । घटनाबारे कसैलाई बताए मारिदिने भनेपछि अनुजा घरमा आइन् । यौनाङ्ग र मलद्वार क्षतविक्षत भएर रगत बगिरहेको थियो ।
घरमा आमा र दिदीहरूले सोधखोज गरे पनि अनुजाले रूखबाट लड्दा कोदालोले लागेर काटेको बताइन् । समाजका अगुवा भेला भए । पारिवारिक आर्थिक स्थिति कमजोर थियो । अनुजालाई उपचारका लागि कहाँ कसरी लैजाने भनेर छलफल भयो । त्यो दिन यत्तिकै बित्यो । २७ वैशाखमा स्थानीय सहनशील टोल विकास संस्थाका अध्यक्ष गोपालप्रसाद घिमिरेले गाउँलेसँग चन्दा संकलन गरेर बालिकालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाए ।
दिदी र अनुजाका बुबाले लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याए पनि उपचार सम्भव नभएको भन्दै अस्पतालले भैरहवामा रहेको मेडिकल कलेजमा रेफर गर्यो । उपचारका क्रममा चिकित्सकले यौनाङ्गमा कोदालोले काटेर नभई कुनै वस्तु कोच्दा चोट पुगेको भनेर बताए । उपचारपछि घर आएर पुनः अनुजालाई सम्झाई बुझाई गर्दा उनले घटनाको यथार्थ बताइन् । त्यसपछि मात्र २६ वैशाखमा सँगै खेल्ने साथीले अनुजाको मुखमा टेप र हातखुट्टा बाँधेर बलात्कार गरेको र यौनाङ्गमा कोदालाको बिँड कोचिदिएको थाहा भयो ।
अनुजा र ती परियार थरका बालक सँगै खेल्थे । परिवारले केही पनि गलत शंका गर्दैन थिए । ती बालक अनुजाको घरमा आइरहने र अनुजा पनि खेल्न उनको घरमा गइराख्थिन् । घटनाको दिन पनि अनुजा खेल्न भनेर जाँदा बलात्कारको शिकार बनेकी हुन् ।
अनुजाको अहिले उपचार चलिरहेको छ । मलद्वारको ठूलो अप्रेसन बाँकी छ । अहिले पेटबाट पाइप लगाएर दिसा गर्ने व्यवस्था गरिएको छ । मलद्वारबाटै दिसा गर्नका लागि ठूलो अप्रेसन गर्नुपर्ने चिकित्सकले बताएका छन् । सहनशील टोल विकास संस्थाका अध्यक्ष घिमिरेले सुरुवातमै छिमेकीसँग चन्दा संकलन गरी उठाएको ३९ हजार रुपैयाँबाट उपचार भएको र अब परिवार पुनः उपचारका लागि सहयोगको प्रतीक्षामा रहेको बताए ।
अनुजाका बुबा अर्को बिहे गरेर तिलोत्तमा- ८ मा बस्छन् । बुबाले कान्छी आमा ल्याएपछि अनुजाकी आमा डिप्रेसनमा परिन् । ४ जना दिदीभाइको पालनपोषण अनुजाकी आमाले मजदुरी गरेर कहिले आधा पेट र कहिले पेट भर्ने गरी खुवाउँछिन् । अनुजाकी जेठी दिदीको विवाह भइसकेको छ ।
बालकलाई हाजिरी जमानतमा अदालतले छाेड्यो
२६ वैशाखमा घटना भए पनि १९ जेठमा मात्र जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा उजुरी दर्ता भएको छ । उजुरी दर्तापछि घटनाको अनुसन्धानका लागि प्रहरीले ती बालकलाई पक्राउ गर्यो । पक्राउपछि अनुसन्धानका लागि अदालतको अनुमति माग गर्दा अदालतले नाबालक रहेको भन्दै हाजिरी जमानीमा अनुसन्धान गर्न आदेश दियो ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले पीडक भनिएका किशोर पनि नाबालक भएकाले अदालतले अभिभावकको जिम्मामै राखेर अनुसन्धान गर्न आदेश दिएको र प्रहरीले अदालतको आदेशको पालना गर्दै अनुसन्धान पक्रिया अगाडि बढाएको बताए ।
बालकको पारिवारिक अवस्था पनि कमजोर
अनुजाको उपचारमा लाग्ने खर्च ब्यहोर्न बालकको परिवार पनि सक्दैन । बालकका हजुरबुवाको नाममा रहेको शान्तिनगरमा १ तलाको घरमा बालक र बालककी आमा बस्दै आएका थिए । आरोपित बालकका बाबु पनि कारागारमा छन् ।
महिलालाई वैदेशिक रोजगारमा पठाउने काम गर्दै आएका किशोरका बाबुले पनि २ भन्दा बढी श्रीमती विवाह गरेको र अवस्था दयनीय भएको सहनशील टोल विकास संस्थाका घिमिरेले बताए । ‘बालकको परिवारबाट पैसा मागौँ भने पनि अवस्था कमजोर भएकाले गाउँबाट चन्दा उठाएर उपचार गराइएको हो । अब दोस्रो अप्रेसनका लागि नगरपालिकाबाट पनि सहयोग आउने कुरा भएको छ,’ उनले भने ।
तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरी चौधरीले घटनाबारे पछि मात्र बाहिर आएको र पीडित बालिकाको उपचार खर्च नगरपालिकाले ब्यहोर्ने बताइन् ।
बुधबारदेखि बालिका कदम नेपालको संरक्षणमा
बलात्कारको शिकार भएकी अनुजालाई अहिले कदम नेपालले संरक्षणमा राखेको छ । कदम नेपालका अध्यक्ष इन्दिरा आचार्यले बालकलाई अभिभाकको जिम्मा अदालतले लगाएपछि बालिका घरमा हुँदा थप पीडा हुने भएपछि संरक्षणमा राखिएको उनले बताइन् । कदम नेपालसँगै एड्भोकेसी फोरम र सिद्धार्थ सामुदायिक विकास केन्द्रको समन्वयमा बालिकाको न्याय, राहत र उपचारका लागि पहल सुरू गरेको आचार्यले बताइन् । शिलापत्र डटकममा समाचार प्रकाशित छ ।




















प्रतिक्रिया