Logo

समाचार

काठमाडौँ उपत्यकामा जोर विजोर नियममा थप कडाई गरिने



नेपाल सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गर्दै आएको लकडाउनको नयाँ मोडालिटी जोर विजोर प्रणालीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा थप कडाई गर्ने भएको छ ।

जोर विजोर प्रणालीको पूर्णपालना नभएको भन्दै ट्राफिक प्रहरीले कडाई गर्ने भएको हो ।

महाशाखाले एकातर्फ आम नागरिकहरूलाई सचेतना जगाउन, सामाजिक दुरीको पालना गराउन तथा सवारी साधनहरुमा हुने भिडभाड कम गराउनका लागि सजगता र सचेतनाका लागि उपत्यकाको मुख्य मुख्य चोकहरूमा प्लेकार्डमार्फत सचेतना दिईरहेको छ भने अर्कातर्फ जोर विजोर प्रणालीको पूर्णपालना गराउन चेकप्वाईन्टहरू राखि थप कडाई गरिरहेको छ ।

शुक्रबार मात्रै अटेर गरी जोर विजोर प्रणालीको उल्लङ्घन गरी सञ्चालन गरेका ९४८ वटा दुई पाङ्ग्रे, २४७ भाडाकार ट्याक्सी र १६३ वटा साना तथा ठूला सवारी गरी जम्मा १,३५८ वटा सवारी साधनलाई उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।

एसएसपी ढकालले विभिन्न बहानामा सवारी साधन चलाउनेहरुको सख्या बढेको कारण थप चेकजाँज गरी कडाई गरेको बताए ।

हालसम्म लकडाउन कार्यान्वयनमा आमनागरिकले पुर्‍याएको सहयोग प्रति आभार व्यक्त गर्दै अत्यावश्यक सेवा र कामबाहेक सवारी साधन नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत महाशाखाले आग्रह गरेको छ ।

काठमाडौँ उपत्यकामा जेठ ३० गतेदेखि आजसम्म जोर विजोर प्रणाली उल्लङ्घन गर्ने १२,५८२ वटा सवारी साधनहरू नियन्त्रणमा लिईसकेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार १८:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।