म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको पहिरोमा बेपत्ताको खोजी र उद्धारमा कठिनाइ भएको छ । प्रतिकूल मौसम र भौगोलिक विकटताका कारण सुरक्षाकर्मी पुग्न नसक्दा शुक्रबार बिहान पहिरो गएको ठाउँमा उद्धार र खोजीमा ढिलाइ भएको हो ।
मालिका गाउँपालिका–७ बिममा गएको पहिरोमा उद्धार टोली पुगिसकेको छ भने मराङमा सडक र घोरेटोबाटो पहिरोले भत्काएकाले सुरक्षाकर्मी घटनास्थलसम्म पुग्न नसकेको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले काठमाडौंपाटीलाई जानकारी दिए । उनले सो घटनास्थलमा कसरी जाने भन्ने तयारी भइरहेको जानकारी दिए ।
शुक्रबार दुई पटक घटनास्थलतर्फ गएको हेलिकप्टर मौसमको खराबीका कारण भिजिबिलिटी नभएर फिर्ता भएको थियो । पहिरोमा हराइरहेकामध्ये १२ जनाको शव भेटिएको छ । २३ जना अझै बेपत्ता छन् ।
मराङमा एक सुत्केरी महिलासहित ८ जनालाई तत्काल उद्धार गर्नुपर्ने देखिएको छ भने ५ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ । चारैतिर पहिरोले घेरिएको कल्लेनीका ५० जनाभन्दा बढीलाई गाउँपालिकाको अगुवाइमा उद्धार गरेर धारापानी र ताकम लगिएको छ । घण्टीवाङका पहिरोपीडित १३ परिवार आरवाङको जनविकास आधारभूत विद्यालयको भवनमा आएर बसेका छन् ।
गए राति वर्षा नभएको र बिहानसम्म बादल लागेको स्थानीयवासीले बताएका छन् । रघुगङ्गा–३ राहुघाटका करिब २५ घर विस्थापित भएका छन् । राहुघाटमा पाइप बगाएपछि सदरमुकाम बेनी बजारमा पुम्दीखोलाको पानी आपूर्ति बन्द भएको छ ।




















प्रतिक्रिया