जर्मनीको राजधानी बर्लिनमा प्रतिबन्धकाे विराेधमा प्रदर्शन भएकाे छ । कोरोना भाइरस नियन्त्रणका लागि भनेर लगाइएको प्रतिबन्धको विरोधमा हजारौँ मानिसहरु सडकमा उत्रिएर विराेध प्रदर्शन गरेका हुन् । जर्मन सरकारद्वारा जारी मास्क लगाउने वा अनुहार ढाक्नुपर्ने नियम समेत स्वतन्त्रता विरोधी रहेको भन्दै मानिसहरुले प्रदर्शन गरेका छन् ।
बिबिसीका अनुसार प्रदर्शनका क्रममा बर्लिनको ब्रेडनवर्ग गेटमा हजारौँ मानिसको भीड लागेकाे थियाे । प्रदर्शनमा सहभागी केहीले मात्र मास्क लगाएका थिए, बाँकी खुलेअाम भीडमा थिए । उनीहरुले भौतिक दूरीको नियमसमेत पालना गरेका थिएनन् । जबकि त्यहाँकाे सरकारले काेराेना फैलिन नदिन दूरी कायम राख्न र भीड नगर्न तथा मास्क लगाउन भनिरहेकाे छ ।
प्रदर्शनका क्रममा प्रहरीसँग झडप समेत भएकाे छ । प्रहरीले लकडाउनको नियम उल्लङ्घन नगर्न आग्रह गर्दा उल्टै प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए । प्रदर्शनमा सहभागी झण्डै २ सय जनालाई भने प्रहरीले पक्राउ गरेकाे जनाइएकाे छ ।
समाचार एजेन्सीहरूका अनुसार उक्त प्रदर्शनमा ३० हजारभन्दा धेरै मानिस सहभागी भएका थिए । कोरोनाबाट अति प्रभावित देशकै सूचीमा जर्मनी पनि रहेकाे छ । त्यहाँ गत अप्रिल महिनाबाट सामाजिक दूरी कायम गर्नुपर्ने नियम लागू गरिएको थियो । तर पछिल्ला दिनमा संक्रमण बढ्दै गएपछि कडा नियम लागू भएको हो । मानिसहरूले भने सरकारका नियमकाे उल्लंघन गर्न थालेका छन् ।





















प्रतिक्रिया