Logo

कर्पोरेट फोकस

टेलिकमका कर्मचारीहरुको चेतावनीः आजको वार्ताबाट निष्कर्ष नआए आईतबारदेखी कडा आन्दोलन गर्ने



नेपाल टेलिकमको मुख्यालयमा कर्मचारीहरुले विभिन्न ११ बुँदे माग राखेर आन्दोलन र धर्ना दिएको ३९औं दिन पुगेको छ । पटकपटक वार्ता भएपनि शान्तिपूर्ण आन्दोलन र धर्नाको यत्रो दिन वितिसक्दा पनि टेलिकम व्यवस्थापनले आफुहरुले राखेको मागप्रति कुनै सुनुवाई नगरेकोमा कर्मचारीहरुले आक्रोश व्यक्त गरेका छन् ।

आन्दोलनको ३९औं दिनमा आइपुग्दा टेलिकम व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच बिहान ६ बजेदेखि नै वार्ता चलिरहेको छ । तर टेलिकमका प्रवन्ध निर्देशक डिल्लिराम अधिकारीले आफ्नो पदिय स्वार्थ नछोडेका कारण कुनै निष्कर्ष निस्कन नसकेको नेपाल टेलिकम वर्कस युनियनका पूर्व महासचिव सुरेश प्रसाद रौनियारले बताए ।

उनले भने– ‘प्रवन्ध निर्देशक अधिकारीले पदिय स्वार्थ राखेर वार्ता गरिरहनु भएको छ । उहाँले कार्यकाल सकिएपछि पनि दुई तह घटेर टेलिकममै रहने अडान राखिरहनु भएको छ, हामीलाई त्यो मान्य छैन ।’

टेलिकमले कर्मचारीहरुको माग सुनुवाई नगरेसम्म आन्दोलन र धर्ना शसक्त रुपले जारी रहने कर्मचारीहरु बताउँछन् । व्यवस्थापनले माग सम्बोधन गर्न जति ढिलो गर्छ आन्दोलन त्यति नै शसक्त हुँदै जाने संयुक्त कर्मचारी युनियन संघर्ष समितिले जनाएको छ ।

टेलिकम युनियनमा आवद्ध कर्मचारीहरु कर्मचारी विनियमावली सम्बन्धमा पेश गरेका सुझाव तथा ध्यानाकर्षणहरुको सम्झौता सहमति कार्यान्वयनमा व्यवस्थापन र संचालक समितिले उदासिनता देखाएका कारण टेलिकमको केन्द्रीय कार्यालयमा धर्ना दिइरहेका छन् । उनिहरुले आफ्ना मागहरु आजै सम्बोधन नगरे आइतबारदेखी कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार १३:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।