पार्टी विभाजनको असरले गर्दा सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एमाले) भन्दा नवगठित नेकपा (एकिकृत समाजवादी) ठूलो दल बनेको छ । प्रदेशसभामा रहेका एमालेका २५ सांसदमध्ये १३ जना एकीकृत समाजवादी पार्टीमा सामेल हुने भएपछि एमाले समाजवादी भन्दा सानो दल बनेको हो ।
प्रदेश सरकारमा सामेल तीन मन्त्री, तीन राज्यमन्त्रीसहित जम्मा १३ सांसदले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा रहने गरी निर्वाचन आयोगको कार्यालयमा सनाखत गराउन लागेका छन् । उनीहरुले मंगलबार नै निर्वाचन कार्यालयमा गएर सनाखत गराउने तयारी भइरहेको बताइएको छ ।
मंगलबार १३ जना सांसदहरुले सनाखत गरेपनि अरु धेरै सांसदहरु समाजवादीमा आउने नेताहरुको भनाइ रहेको छ । सभामुखसहित प्रदेशसभामा रहेका एमालेका २५ सांसदमध्ये १८ जना माधव नेपाल समूहमा र ७ जना केपी ओली समूहतिर खुलेका थिए । सुदूरपश्चिममा एमालेका प्रभावशाली मानिने नेता तथा पार्टीका उपाध्यक्ष भीम रावल एमालेतिरै फर्किएपछि माधवकुमार नेपाल पक्षका केही सांसद एमालेमै रहने निर्णयमा पुगेको अनुमान नेताहरुले गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी)मा दिर्घ सोडारी, पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अमरबहादुर साउद, चुनकुमारी चौधरी, मना साउद, तारा लामा तामाङ, अर्चना गहतराज, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्टले निर्वाचन कार्यालयमा सनाखत गराउन लागेका हुन् ।





















प्रतिक्रिया