Logo

विचार / ब्लग

महासंघको आपत्ति र विभागको अनुगमनपछि अब के हुन्छ रामदेवको च्यानल ?



भारतीय बाबा रामदेवले सञ्चालन गर्ने भनिएका दुई टिभी च्यानलमा सूचना तथा प्रशारण विभागले छापा मारेको छ । विभागको अनुगमन टोलीले आइतबार आस्था नेपाल र पतञ्जली नेपाल टेलिभिजनमा छापा मारेर दुवै टेलिभिजनको केही महत्वपूर्ण कागजात समेत निणन्त्रणमा लिएको छ ।
तामझमका साथ प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन भएको पतञ्जलि नेपालले इजाजत पत्र नै नलिई दुई टेलिभिजन च्यानल चलाउन लागेको समाचार धमाधम आउन थालेपछि बल्ल विभागले छानबिन थालेको छ ।

उद्घाटनमा किन गए प्रधानमन्त्री ?

कानुनले विदेशी लगानी प्रतिबन्ध गरेको अवस्थामा भारतीय योगगुरू रामदेव र पतञ्जलि योगपीठका अध्यक्ष आचार्य बालकृष्णले नेपालमा दुई टेलिभिजन च्यानल सञ्चालनमा ल्याए । सूचना तथा प्रसारण विभागमा दर्ता नगरिएका यी दुई टेलिभिजन च्यानल उद्घाटनमा भने प्रधानमन्त्री शेरबहादुर देउवा आफैं पुगेका थिए ।

नेपाली सञ्चार क्षेत्रमा हुने वैदेशिक लगानी स्वीकार गर्ने वा नगर्ने नीति पनि प्रष्ट छैन । नेपाल सरकारले आमसञ्चार नीतिलाई महत्व दिएर कार्र्यान्वयन गरेको पनि देखिँदैन । नेपालीलाई उद्योग खोल्न नदिने, भएका उद्योग बन्द गराउने, आफ्नो देशमा उत्पादन भएका वस्तुलाई कर लगाउने, प्रहरी लगाएर तरकारी, बिउबिजन खाल्डोमा हाल्ने, पढेकालाई विदेश पठाउने, उद्योगधन्दामा राजनीति खेल्ने, अनि आफ्नो हैसियत बिर्सिएर नुनदेखि सुनसम्म भारतबाट ल्याएपछि भारतले आफ्नो अभिमान देखाउँदैन त ? हेर्दै जानुस् एकदिन फेरि नाकाबन्दी लगाउँछ ।

भारतसँग निकट सम्बन्ध छ भन्दैमा जे पायो, जस्तो पायो त्यस्तै कार्यक्रम उद्घाटन गर्दै हिँड्नु प्रधानमन्त्रीको मुख्र्याइँपन हो । बिनादर्र्ता कुनै पनि सञ्चारमाध्यम प्रकाशन प्रसारणमा ल्याउन नपाइने कानुनी व्यवस्था भएको नेपालमा अझ प्रतिबन्धित नेपालको कानुनविपरीत वैदेशिक लगानी त्यसमाथि पनि देशको प्रधानमन्त्रीजस्तो व्यक्ति यस्ता अवैधानिक कम्पनीको उद्घाटनमा जानु आफैंमा लज्जास्पद कुरा हो यसमा प्रधानमन्त्री आफैँलाई लाज लाग्नुपर्ने हो ।

पत्रकार महासंघको आपत्ति

नेपाल पत्रकार महासङ्घले भारतको पतञ्जली योगपीठले नेपालमा टेलिभिजन च्यानल सञ्चालन गर्न लागेको र त्यसको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको विषयमा आपत्ति जनाएको छ । पत्रकारका महासङ्घका महासचिव रोशन पुरीले विज्ञप्तिमार्फत नेपालको प्रचलित कानुनले सञ्चार माध्यममा विदेशी लगानीलाई निषेध गरेको अवस्थामा भारतीय योगगुरु बाबा रामदेवको पतञ्जली योगपीठले नेपालमा टेलिभिजन खोल्नु कानुनको ठाडो उल्लङ्घन भएको बताए ।

महासंघको विज्ञप्तिमा भनिएको छ, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले विदेशी लगानी खुल्ला नगरिएका उद्योग वा व्यवसायको सूचीमा आमसञ्चारमाध्यमहरूलाई राखेको कानुनी प्रवन्धप्रति महासंघ सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ, दर्ता प्रक्रियासमेत पूरा नगरी टेलिभिजन सञ्चालन गर्न लागिएकाले महासंघ सम्बन्धित पक्षलाई राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियामावली २०५२ र प्रसारणसम्बन्धी निर्देशिका स्मरण गराउन चाहन्छ ।’

‘योगा र दर्शनको नाममा रामदेवले पतञ्जलीलाई ब्रान्ड बनाइरहेका छन् । धार्मिक प्रवचनका माध्यमबाट आफैंलाई औषधि बेचेको थाहा पाउँदा पाउँदै पनि धार्मिक तथा आयुर्वेदिक भन्दै पत्याउने र उसकै पछि लाग्ने हुस्सुहरू भेटिन्जेलसम्म रामदेवको ‘धार्मिक व्यापार’को दबदबा रहिरहनेछ । यो एउटा उसको व्यापारको शैली हो । यसैको माध्यमबाट रामदेवले आयुर्वेदको प्रचार, व्यापारसँगै राजनीति गर्ने गरेका छन् ।
विज्ञप्तिमा दर्ता प्रक्रियासमेत पूरा नगरी टेलिभिजन सञ्चालन गर्न लागिएकाले सम्बन्धित पक्षलाई राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियमावली २०५२ र प्रसारणसम्बन्धी निर्देशिका स्मरण गराउन आवश्यक छ । जसले नीति निर्माण गर्‍यो उसैले कानुन मिच्छ भने ऊ जति ठूलो देशद्रोही अरु हुन सक्दैन । ऊ महाअपराधी हो । उसले यस्ता हर्कतहरू बारम्बार दोहोर्‍याई रहन्छ । यसबारे सरकारले पनि गम्भीर भएर सोच्न आवश्यक छ ।

पतञ्जली नेपालका प्रमुख के भन्छन् ?

पतञ्जलीका नेपाल प्रमुख शालिग्राम सिंह यी दुई टीभी च्यानलले सरकारबाट अनुमति सञ्चालन पाइसकेको दाबी गर्छन् । ‘पतञ्जली नेपाल र आस्था नेपाल दुवै टीभी स्याटलाइट प्रविधिका हुन् । हामीले प्रसारणका लागि सरकारबाट स्वीकृति पनि पाइसकेका छौँ ।
आस्था च्यानलले चाहिँ भारतीय आस्था च्यानलकै सामग्री प्रसारण गर्ने उनी बताउँछन् । उनका अनुसार यी टीभीले योगसाधना, योगाभ्यास र धार्मिक गतिविधिबारे सामग्री प्रसारण गर्नेछन् । ‘यी दुवै टीभी च्यानल कुनै व्यावसायिक स्वार्थले सञ्चालनमा आएका होइनन् ।

सरकारको नीतिमा के छ ?

आमसञ्चार माध्यममा विदेशी लगानीलाई निरुत्साहित गर्ने गरी सरकारले बनाएको विधेयक प्रतिनिधिसभाबाट पास भएपछि ऐनको रूपमा कार्र्यान्वयनमा ल्याइएको थियो । तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको पालामा यो कानुन आएको थियो। नयाँ कानुन ल्याउँदा सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ खारेज गरेको थियो ।

आमसञ्चार नीति २०७३ मा यो सम्बन्धी व्यवस्था भने छ । त्यसमा ‘नेपाली जनताको विचार, अभिव्यक्ति स्वतन्त्रता, राष्ट्रिय हितमा असर नपु¥याउने गरी पूर्र्वाधार र प्रविधिको विकासमा विदेशी लगानी खुला गर्नुपर्ने अवस्थामा’ विदेशी लगानीको भनेको छ । नीतिमा भनिएको छ, ‘नेपाली जनताको विचार, अभिव्यक्ति स्वतन्त्रता, राष्ट्रिय हितमा असर नपुर्‍याउने गरी पूर्र्वधार र प्रविधिको विकासमा विदेशी लगानी खुला गर्नुपर्ने अवस्थामा प्रकाशन र प्रसारण माध्यममा सम्पादकीय स्वतन्त्रताको सुनिश्चितताका लागि विशेष सर्तहरू तोकी त्यस्तो सञ्चारमाध्यममा पत्रकार, कामदार र कर्मचारी नेपाली नागरिक मात्र रहने व्यवस्था गरिने छ । विदेशी लगानीकर्ताको भूमिका निर्णायक हुने गरी लगानी प्रोत्साहन गरिएको छैन ।’

तर, यता सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालले यी दुई टेलिभिजन च्याल विभागमा दर्तै नभएको बताएका छन् । ‘यी च्यानल कानुनसम्मत रूपमा दर्र्त हुन आउनुपर्ने हाम्रै विभागमा हो, अहिलेसम्म आएको देखिँदैन, दर्र्ता हुन नआएकाले उनीहरूको के–कस्तो लगानी, कार्यक्रम के चलाउने हो भन्नेबारे जानकारी नभएको उनले भनेका छन् । २०७३ मा आएको नीतिले सञ्चारको पूर्र्वधार क्षेत्रमा विदेशीले लगानी गरे पनि त्यसको सञ्चालनमा नेपाली लगानीकर्र्ताको नियन्त्रण हुनुपर्ने नीति लिएको थियो । तर, २०७५ मा ऐन आउँदा सञ्चार क्षेत्रमा विदेशी लगानीलाई पूर्ण रूपमा निषेधित गरियो । ऐनले नै सञ्चार क्षेत्रमा विदेशी लगानी निषेध गरेपछि नीतिमा के लेखिएको छ भन्ने कुराको अर्थ नभएको हमालले बताएका छन् ।

नेपालमा यसले कस्तो असर पार्ला ?

कानुनले प्रतिबन्ध गरेको क्षेत्रमा रामदेवले लगानी गर्दै दुई वटा टेलिभिजन सञ्चालनमा ल्याउने बताएपछि यसले नेपाली क्षेत्रमा ठूलो तरंग ल्यायो । तरंग नल्याओस् पनि किन ? रामदेवको ‘आस्था’ र पतञ्जलि च्यानलको हल्लाले मात्रै अहिले तत्कालका लागि नेपाली सञ्चारमाध्यम ओझेलमा परिसकेको छ ।

सरकारले स्वदेशी सञ्चारमाध्यमको व्यावसायिकतामाथि आँच पुग्नेगरी सञ्चार क्षेत्रमा विदेशी लगानी भित्र्याउँदा नेपालको राष्ट्रियता, राजनीतिक, आर्थिक, भाषिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा यसले ठूलो प्रभाव पार्दछ भन्ने कुरा बुझ्नुपर्छ । यसप्रति सञ्चार क्षेत्र मात्र नभई सबै क्षेत्रका विज्ञ तथा युवाहरू गम्भीर र संवेदनशील हुन आवश्यक छ । यस्तो गम्भीर विषयमा सरकारले आफूलाई मात्रै फाइदा खोज्नुहुँदैन । सरकारले यसरी कानुनविपरीत सञ्चार क्षेत्रमा भित्रिएको वैदेशिक लगानी रोकेर स्वदेशी लगानीका सञ्चारमाध्यमलाई नै प्रतिस्पर्धात्मक तथा व्यावसायिक रूपमा विकास गर्ने वातावरण निर्माण गनुपर्छ । यसका लागि क्षणिकरूपमा व्यक्तिगत फाइदा मात्रै नहेरी देश र जनताको भविष्यबारे सोच्नुपर्छ ।
यसले भविष्यमा नेपाली सञ्चारमाध्यमलाई उठ्नै नसक्ने गरी पत्तासाफ गरी भारतीय टिभी, रेडियो अनलाइको हालीमुहाली हुन बेर छैन । यसले नेपाली सञ्चारमाध्यमलाई ठूलै नकारात्मक असर पार्ने देखिन्छ । सञ्चार क्षेत्रको भविष्यबारे सरकारले बेलैमा सोच्ने हो कि ?

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार १४:०५   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।