साढे सात दशक लामो यात्रामा नेपाली कांग्रेस झन्डै आधा समय सत्ता वा प्रतिपक्षका रूपमा नेपाली सत्ताको केन्द्रवरिपरि रहेको देखिएको छ । विसं २००७ अघि राणाशासनका बेला र २०१७ सालदेखि २०४६ सालसम्मको पञ्चायती व्यवस्थामा मात्र कांग्रेस सत्ताको केन्द्रबाट टाढा बस्यो । नेपालका सबैजसो राजनीतिक परिवर्तनको केन्द्रमा रहेको उक्त दल पछिल्ला वर्षहरूमा आफ्नै आन्तरिक किचलो र गुटबन्दीको सिकार भएको ठान्नेहरू धेरै छन् । कांग्रेस अहिले आन्तरिक किचलोबाट मात्र गुज्रिरहेको छैन, “विचारविहीन, सैद्धान्तिक रूपमा विचलित र पार्टीको आदर्श तथा मूल्यमान्यताबाट टाढिएको” जस्तो पनि देखिन पुगेको छ ।
नेपाली कांग्रेसलाई हामीले स्थापनाकाल (विसं २००३) देखि अहिलेसम्मको अवस्थामा आइपुग्दाको कुरा बुझ्नका लागि विभिन्न चरणमा विभाजन गरेर हेर्नुपर्ने हुन्छ । स्थापनाकालदेखि २००७ सालसम्मको खण्डमा कांग्रेसले र भनौँ देशले नै पाएको उपलब्धि भनेको देशमा राणाशासन अन्त्य गरेर प्रजातन्त्र ल्याउनु हो । विसं २००७ देखि २०१७ सालसम्मको अवधि भनेको नेपाली कांग्रेसले सत्तामा आएर फेरि सत्ता र प्रजातन्त्र दुवै गुमाएको अवधि हो ।
विसं २०१७ देखि २०४६ सालसम्मको अवधि भनेको फेरि प्रजातन्त्र पुनस्थापनका लागि सङ्घर्ष गरेको अवधि हो । त्यसैगरी २०४६ सालदेखि हालसम्मको अवधि भनेको देशमा प्रजातन्त्रमा टेकेर गरिएका परिवर्तनका उपलब्धिहरू मात्र हुन् । खासगरी यी सबै कार्यरूमा नेपाली कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेको छ । त्यो भूमिकासँगै नेपाली कांग्रेसमा विभिन्नखाले परिवर्तनहरू पनि देखा परेका छन् । कतिपय सकारात्मक परिवर्तन होलान्, तर हिजोको कांग्रेस र आजको कांग्रेस तुलना गर्दा कतिपय खराब परिवर्तन देखिएको पाइन्छ ।
के के हुन् ती खराब परिर्वतनहरू ?
१. स्वार्थकेन्द्रित गुट र उपगुट
स्थापनाकालमा नेपाली कांग्रेसको नाम नेपाली राष्ट्रिय कांग्रेस थियो । नेपाली कांग्रेसमा स्थापनाकालदेखि नै गुटहरू नदेखिएका होइनन्। सुरुमै उक्त पार्टीमा गुटबन्दी थियो । त्यसको अध्यक्ष टङ्कप्रसाद आचार्य जेलमा थिए र बीपी कोइरालाले कार्यवाहक जिम्मेवारी पाएका थिए । पछि बीपी पनि जेलमा परेपछि डिल्लीरमण रेग्मीले कार्यवाहक पाए अनि बीपी जेलबाट छुटेपछि पनि उनले प्रमुखको पद छाड्न मानेनन् ।
महाधिवेशन गर्नुपर्छ भन्ने रेग्मीको अडानपछि पार्टी भिन्न भयो। रेग्मीले आफ्नो जीवनकालभरि नेपाली राष्ट्रिय कांग्रेसको अध्यक्षका रूपमा आफूलाई कायम राखे । पछि बीपीको कांग्रेस र सुवर्ण शमशेरको नेपाल प्रजातन्त्र कांग्रेसबीच एकीकरण भएर नेपाली कांग्रेस बनेको हो । त्यसपछि पनि बीपी, सुवर्ण र मातृकाप्रसाद कोइरालालगायतका आ–आफ्ना समूह देखियो । तर ती समूहबीच दृष्टिकोण र विचारमा बहस थियो, व्यक्तिवादी ढङ्गको गुट थिएन । कति विषयमा बहस हुन्थ्यो, तर एक अर्कालाई निषेध गर्ने खालको प्रवृत्ति थिएन। २०१७ सालपछि पनि कांग्रेसमा दुई धार देखिएको थियो ।
२०४६ सालको परिवर्तनपछि पहिलो आमनिर्वाचनमा गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई चुनाव नै हराउन भूमिका खेलेपछि गुटहरूको रूप भिन्न हुन थाल्यो । पहिले वैचारिक बहसका कारण समूह देखा परेको थियो। तर बिस्तारै त्यसले व्यक्तिगत रूप लिन थाल्यो । अहिलेका गुटहरू विचारको बहस गर्नका लागि बनेका छैनन्, एकअर्काको खुट्टा तानातानका लागि बनेका छन् ।
२.सैद्धान्तिक विचलन
कांग्रेसमा देखिएको अर्को खराब प्रवृत्ति भनेको नेतादेखि कार्यकर्तासम्म देखिएको सैद्धान्तिक विचलन हो । हुन त त्यस्तो विचलन २०१७ सालमा पनि देखिएको हो । त्यस बेला कतिपय कांग्रेसका नेताहरूले प्रजातन्त्रको सैद्धान्तिक मान्यतालाई छाडेर पञ्चायतलाई समर्थन गरेका थिए । त्यसबापत उनीहरूले लाभ पनि लिए। त्यस बेला पनि नेताहरूको लोभले उनीहरूमा सैद्धान्तिक विचलन देखिएको थियो । अहिले आएर त नेता र कार्यकर्तामा अझ धेरै लोभ बढेको छ । त्यसले गर्दा सैद्धान्तिक विचलन तीव्र देखिन्छ ।
३.चाकडी गर्ने प्रवृत्तिमा वृद्धि
कांग्रेसभित्र चाकडी र चाप्लुसी गर्ने प्रवृत्तिमा अहिले व्यापक वृद्धि भएको देखिन्छ । त्यसले पुराना पुस्ताभन्दा नयाँ पुस्तालाई गाँजेको जस्तो देखिएको छ । कांग्रेसमा अहिले दुईखाले युवाहरू प्रवेश गरिरहेका छन् । एकखाले कांग्रेसको नीति, विचार र सिद्धान्त बुझेर र अर्कोथरी विशुद्ध स्वार्थपूर्तिका लागि । नयाँ पुस्तामा धेरै आफ्नो स्वार्थका लागि पार्टीमा लाग्ने चलन बढ्यो । त्यसले गर्दा नीतिलाई होइन, नेतालाई छान्ने र उसैलाई खुसी पार्ने चलन देखियो ।
४.आदर्श र विचारबाट च्युत
कांग्रेस पार्टीले जुन आदर्श र विचारलाई बोकेर हिँड्थ्यो, नेताहरू अहिले त्यसबाट च्युत हुँदै गएको देखिन्छ । अहिलेका नेताहरूलाई प्रजातान्त्रिक समाजवाद कस्तो हुने भन्ने स्पष्ट छ, न समाजवाद कस्तो खालको हो भन्ने नै थाहा छ । देशमा सपना बाँडेर मात्र हुँदैन, त्यसलाई कसरी मूर्तरूप दिने भन्ने अवधारणा पनि हुनुपर्छ। त्यो अहिलेका नेताहरूमा छैन । आफ्नो आदर्शबाट कतिसम्म नेताहरू पर पुगिसके भने पार्टीको सभापतिले कुनै जिल्लामा पुगेर अर्को पार्टीको नेतालाई भोट हाल्नु भनेर भोट समेत माग्न थाले ।
५.कमजोर अन्तर्राष्ट्रिय सम्बन्ध
पहिलेको कांग्रेसको अन्तर्राष्ट्रिय सम्बन्ध बलियो थियो। त्यो प्रतिबन्धित बेलामा समेत राम्रो थियो । बीपीको उचाइ पनि त्यस्तै खालको थियो । उनी पत्राचार पनि गरिरहन्थे । ाजदूतहरूसँग डराउने खालको सम्बन्ध पनि थिएन नेताहरूको । त्यसको केही मात्रा गिरिजाप्रसाद र कृष्णप्रसाद जीवित रहँदासम्म थियो । अन्तर्राष्ट्रिय सम्बन्ध कमजोर रहनु भनेको पार्टीलाई ओरालो लैजानुको मूल बाटो समाउनुजस्तै हो ।





















प्रतिक्रिया