Logo

प्रमुख समाचार

नेपाल धार्मिक पर्यटनको गन्तव्य बन्न सक्छ !



नेपाल प्रकृतिले धनी छ । पानीले मात्र होइन । तर प्रकृतिसँगको साइनो त्यही पानीको छ । हर कुरामा अब्बल नेपाल अलिकति राजनैतीक अवस्थामा भने निकै पहिलेको कालखण्डबाट चुकेर आएको छ । राजनीति पनि ठीकठाक रहनुभए । नेपाल स्वर्गको एक टुक्रा हो ।

हरेक दश किलोमिटरको अन्तरमा भिन्न रिवाज, भिन्न भाषा र संस्कृति नेपालबाहेक अन्य देश छैन । यही देशमा जातजातिको भण्डार छ र यही देशमा धार्मिक किवंदन्तीको इतिहास लुकेको छ । हिमाल हेर्न, झरना हेर्न, हिउँ खेल्न, नदीमा रम्न, तालमा डुबुल्की मार्न आउनेहरू भन्दा ज्यादा पर्यटक धार्मिक पर्यटक आउन सक्ने सम्भावना बोकेको देश हो नेपाल ।

विशेष गरी नेपाल हिन्दू धर्मावलम्बी र बौद्ध धर्मालम्बीहरूको आकर्षण एवं आस्थाको केन्द्रका रूपमा विश्वमै सुपरिचित छ । नेपाल ऋषिहरूको तपोभूमिका रूपमा पवित्र र स्वच्छ मानिन्छ । यो मुलुक पूर्वीय सभ्यता र संस्कृतिको जननी पनि हो । सनातन धर्म र हजारौं वर्षको इतिहास बोकेको यस मुलुकका धार्मिक सहिष्णुता अनुकरणीय रहेको छ ।

जसअनुसार हिन्दू, बौद्ध, मुस्लिम, क्रिस्चियनलगायतका सबै धर्ममा आस्था राख्नेले आआफ्नो रीतिरिवाज निर्बाध ढंगले गर्न पाएका छन् । सयौं वर्षअघि कर्कपेट्रिक नेपाल भ्रमणमा आउँदा यहाँ जति घर छन्, त्यति मन्दिर छन् र जति मानिस छन्, त्यति संख्यामा देवीदेवता छन् भनी टिप्पणी गरेबाटै यो मुलुक धार्मिक पर्यटनका लागि उर्वर भएको स्वतः सिद्ध हुन्छ ।

त्यसैगरी नेपालभर हजारौं मठ, मन्दिर, गुम्बा, चैत्यहरू छन् । जसले सजिलै लाखौं छिमेकी भारत र चिनियाँ धर्मावलम्बहरूलाई आकर्षित गर्न सकिन्छ । नेपाल आउने प्रायः सबै पर्यटक कुनै न कुनै रूपमा नेपालको धार्मिक र आध्यात्मिक विषयहरूबाट प्रभावित भएकै हुन्छन् । नेपालमा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी, आराध्यदेव भगवान् पशुपतिनाथ, मुक्तिनाथ, माता सीताको जन्मस्थल जनकपुरधाम, हलेसी महादेव मन्दिर, मनकामना मन्दिर, दामोदरकुण्ड, गोसाइँकुण्ड, देवघाट, रिडी क्षेत्र, वराह क्षेत्र, स्वयम्भू, बौद्धनाथजस्ता अति धार्मिक महत्वले भरिएका सयौं यस्ता धार्मिक पर्यटकीय गन्तव्यहरू छन् ।

छिमेकी देश भारतको १ अर्ब जनसंख्या हिन्दूमार्गी रहेको छ । त्यसैगरी उत्तरी छिमेकी देश चीनमा पनि मानिसहरू बुद्ध धर्मप्रति विश्वास गर्ने धेरै छन् । यसरी हेर्दा यो जनसंख्याको १० प्रतिशत मात्र पनि नेपाल भित्र्याउन सकेमा देशको पर्यटनले पछि फर्केर हेर्नुपर्ने छैन ।

धार्मिक सम्पदा र धार्मिक पर्यटन उद्योगको प्रचुर सम्भावना बोकेका दायाँ–बायाँ छिमेकी मुलुक छन् । ज्योतिर्लिङ्गको बाटो, चारधामको बाटो, बुद्धको बाटो, जैनको बाटो, शक्तिपीठको बाटो र रामजानकीको बाटो नेपालमै छन् । यी क्षेत्रको प्याकेजमै दर्शन–भ्रमणको मात्र व्यवस्था हुन सके पनि पक्कै केही हुने थियो, तर हालसम्म सामान्य पहलसम्म हुन सकिरहेको छैन । हिन्दू धर्मको पवित्र र सर्वाधिक पहुँच भएको ग्रन्थ रामायणको केन्द्रबिन्दु हो जनकपुर । जानकी मन्दिरको मुख्य आकर्षण विवाह पञ्चमी महोत्सव हो ।

रामायणकालीन राम र सीताबीच भएको वैवाहिक समारोहको सम्झनामा हरेक वर्ष विवाह पञ्चमीको दिन रामजानकी विवाह महोत्सव आयोजना गरिन्छ । सो दिन नेपाल तथा भारतका दर्जनौं जोडीले जानकी मन्दिर परिसरमै लगन गाँठो कस्छन् । यही परम्परालाई आधुनिक रूप दिएर विश्वभरका हिन्दू समुदायलाई जनकपुरमा आएर विवाह गर्न अभिप्रेरित गरी ठूलो संख्यामा पर्यटक आकर्षण गर्न सकिन्छ ।

नेपालमा शंकराचार्यहरूको पनि कमी छैन । यसैगरी वाचन शिरोमणि, विद्वान् र विदुषीको पनि कमी छैन । कमी छ भने उहाँहरूको उपयोग समुचित ढंगले हुन सकिरहेको छैन । आमनेपाली, जो केही हदमा आन्तरिक र बाह्य पर्यटनका लागि खर्च गर्न सक्षम छन्, उनीहरूलाई ‘नजिकका तीर्थ हेला’ को व्यवहार नगर्न सन्देश प्रवाह गर्दै नेपालका धार्मिक स्थलमा उनीहरूलाई आमन्त्रण गर्नुपर्छ । नेपाल हिमालयको शिर भागमा छ । भारतका प्रायः सबै नदीको उद्गमस्थल नेपाल नै हो । धेरैलाई थाहा नहुन सक्छ, गायत्री मन्त्रको आविष्कार पनि नेपालमा नै भएको हो ।

नेपाल ज्योतिष परिषदका केन्द्रीय पार्षद एवं दिव्य दृष्टि ज्योतिष सेवा तथा अनुसन्धान केन्द्रका संस्थापक दिवाकर पन्त नेपालमा धार्मिक पर्यटनको सम्भावना बारे भन्छन्, “ धर्म, कुनै पनि मानिसको विश्वासको पुञ्ज हो । आफनो विश्वासप्रति लगाव राख्न र तीनको तीर्थस्थलमा भ्रमण गर्न रुचाउनु मानिसको स्वभाविक रुची हो । सोही अनुसार मानिसहरू धार्मिक यात्रामा निस्कन्छ ।

विश्वका धेरै देशको पर्यटनको आधार हेर्याे भने देशसँगै फरक फरक छन् । मकाओले क्यासिनोलाई आफनो पर्यटनको आधार मानेको छ । सिंगापुरले व्यापारिक गतिविधिलाई पर्यटनको आधार मानेको छ । दुवईले मानव निर्मित संरचना र स्वतन्त्रतालाई पर्यटनको आधार मानेको छ । त्यसैगरी थाइल्याण्डले सामुन्द्रिक सौन्दर्य र यौन गतिविधीलाई पर्यटनको आधार मानेको छ ।

युरोपले पुरानो संरचना, सभ्यता र आधुनिक संरचनालाई मिश्रण गरि पर्यटनको आधार विकास गरेको छ । हो, उसो भए नेपालले आफनो पर्यटनको आधार पहिचान गर्ने र त्यसलाई प्राथमिकीकरण गर्ने बेला आएन ? नेपालमा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, आराध्यदेव भगवान पशुपतिनाथ, मुक्तिनाथ, माता सिताको जन्मस्थल जनकपुरधाम, हलेसी महादेव मन्दिर, मनकामना मन्दिर, दामोदरकुण्ड, गोसाईकुण्ड, देवघाट, रिडी क्षेत्र, वराह क्षेत्र, स्वयम्भू, बौद्धनाथ जस्ता अति धार्मिक महत्वले भरिएका गन्तव्यहरू छन् ।

त्यसो त भर्खरै नेपाल आएका र विवादमा समेत मुछिएका भारतीग योगगुरु रामदेवले “ नेपाल वैदिक सनातन एव धार्मिक संस्कृतिले धनी अद्वितीय देश हो भन्दै आफूले यहाँको धार्मिक तथा आध्यात्मिक पर्यटनको भारतमा निःशुल्क प्रचार गर्ने” बताएका छन् । उनी आफ्नो वचनमा कति अडिग छन् भन्ने कुरा चाहिँ हेर्न बाँकी नै रहेको छ ।

विश्व हिन्दु महासंघका सल्लाहकार नारायणप्रसाद अधिकारी धार्मिक पर्यटन मात्र नभई विभिन्न ४ धर्मको प्रारम्भ नै नेपालमा भएको दाबी गर्छन् । नेपालमा ३–४ हजार वर्षअघिदेखि तीर्थाटनका रूपमा धार्मिक पर्यटक आउन सुरु भएको उनको भनाइ छ । चीनबाट धार्मिक पर्यटककै रूपमा मञ्जुश्री नेपाल आएको उनी बताउँछन । ‘भारतमा परापूर्वकालमा ठूल्ठूला राजाघरानाका मान्छे शान्ति र आध्यात्मिक प्रगतिका लागि यो भूमिमा आउँथे,’ त्यसैले यो भूमि परापूर्वकालदेखि बुद्ध भूमि हो । धर्मको प्रारम्भ पनि नेपालभूमिबाट भएको हो भन्ने सहजै भन्न सक्छौं ।

पर्यटकीय गन्तव्य स्थल तथा पर्यटकीय सम्पदा संरक्षण, पर्यटकको सुरक्षा, सेवा सुविधाको संख्यात्मक र गुणात्मक वृद्धि, पर्यटकीय पूर्वाधार विकास सम्बन्धी विषयमा सरकार तथा निजी क्षेत्र वीच समन्वयात्मक भूमिका रहेको छ । तथापि स्रोत र साधनको बाँडफाँड र उपयोग जस्ता नीतिगत विषय तथा सडक, खानेपानी, विद्युत, सञ्चार जस्ता पूर्वाधार निर्माणमा प्रत्यक्ष रुपमा संलग्न निकाय र संस्था वीचको समन्वयमा अपेक्षित प्रभावकारिता देखिन सकेको छैन ।

पर्यटन पूर्वाधार विकास, सञ्चालन र प्राप्त लाभको बाँडफाँडमा स्थानीय समुदाय र नागरिकको भूमिका, मूल्य, मान्यता र स्वामित्वको विषय उचित रुपमा संबोधन हुन नसक्दा सरकारी लगानीमा निर्माण र विकास भएका पूर्वाधारको दिगो रुपमा उपयोग हुन सकेको छैन । पर्याप्त मात्रामा पर्यटकको आगमन भएमा पूर्वाधारको विकास गर्ने वा पूर्वाधारको विकास भएमा पर्यटकको संख्यामा बृद्धि हुने विषयमा देखिएको अन्योलता यथावत रुपमा रहेको छ ।

पर्यटक स्थलमा पर्यटक, स्थानीय समुदाय र नागरिक वीच अपेक्षित समन्वय कायम हुन नसकेको कारणबाट यदाकदा विसँगति देखिने गरेको छ । द्घन्दकालमा क्षतिग्रस्त पर्यटन विकाससंग सम्बद्ध संरचनाको पुनर्निर्माण एवं विस्तारमा ध्यान केन्द्रित गर्नु पर्ने भएको छ ।

। पर्यटकीय क्षेत्रहरुमा स्थापित सामाजिक, सांस्कृतिक परम्परालाई अन्य देशका पर्यटक मार्फत बजारीकरणको अवसर प्राप्त भई अन्य देशका राम्रा पक्ष सिक्ने अवसर प्राप्त हुन सक्नेछ भने विभिन्न क्षेत्रका सांस्कृतिक, प्राकृतिक, पुरातात्विक एवं जैविक सम्पदाहरूको संरक्षण र प्रचारप्रसारबाट नेपालका विशेषताहरु विश्वमा फैलाउन सहज हुन गई यस क्षेत्रमा थप प्रोत्साहन समेत मिल्न सक्नेछ ।

प्रकाशित मिति : ५ पुष २०७८, सोमबार १४:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।