Logo

अनलाइनपाना खोज

सह-महामन्त्रीमा विजयी को हुन् उमाकान्त चौधरी ?



उमाकान्त चौधरी नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको निर्वाचनमा सह-महामन्त्रीमा विजयी भएका छन् । उनी केन्द्रीय कार्यसमितिका सदस्य बारा क्षेत्र नं. ५बाट निर्वाचित सभासद रहेका छन् ।

४१ वर्षीय चौधरी २०५६ सालको संसदीय निर्वाचनमा बारा क्षेत्र नं १बाट चुनिएका थिए । त्रिभुवन विश्वविद्यालयबाट बोटानीमा स्नातकोत्तर चौधरीको रुचि अध्ययनमा छ र उनका थुप्रै लेख–रचना विभिन्न पत्रत्रिकामा प्रकाशित हुँदै आएका छन् । उनका तीन छोरी र एक छोरा रहेका छन् ।

उमाकान्त चौधरीको राजनीतिक जीवन २०३६ सालमा विद्यार्थी आन्दोलनबाट शुरु भएको हो । पञ्चायत विरोधी आन्दोलन र लोकतन्त्र स्थापनाको आन्दोलनमा लाग्दा उनले पटक–पटक गरी १५ महिना जेल–जीवन बिताएका छन् ।

नेविसंघको केन्द्रीय सदस्य, तरुण दलको केन्द्रीय सदस्य र त्रिविवि स्ववियुको उपाध्यक्ष रहिसकेका चौधरीले कृषि तथा सहकारी सहायक मन्त्रीको जिम्मेदारी समेत वहन गरिसकेका छन् ।

जनतासँगको निकट सम्बन्ध र मधेश आन्दोलनका वेला मधेशी जनतालाई अधिकार दिलाउन खेलेको भूमिकाको कारण आफू संविधानसभामा चुनिएको उनी ठान्दछन् । सङ्घीय गणतान्त्रिक लोकतन्त्र र समावेशी लोकतन्त्रको मुद्दालाई संविधानसभामा प्रमुखता साथ उठाउने उनको अठोट छ ।

प्रकाशित मिति : ६ पुष २०७८, मंगलवार १३:२६   :  बजे

474
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।