Logo

अर्थ

सहकारीको व्याजदर बढाउने होइन घटाउनु पर्छ: मन्त्री श्रेष्ठ



भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरु स्थापनाको उदेश्य, मर्म र भावना अनुसार सञ्चालन हुनु पर्नेमा जोड दिएकी छिन् ।

साझा सेवा (सहकारी संस्था) लिमिटेडले आज ललितपुरमा आयोजना गरेको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार वितरण समारोहमा मन्त्री श्रेष्ठले सहकारी क्षेत्र उदेश्य र मर्म अनुसार चल्न नसकेको गुनासो आइरहेकाले त्यसमा सुधार आवश्यक रहेको बताईन् ।

मन्त्री श्रेष्ठले नीतिगत, कानुनी र व्यवहारिक रुपमा रहेका सहकारीका समस्या हल गर्न आफू तयार रहेको भन्दै नियतमा भएको खरावी अन्त्यका लागि सबै लाग्नु पर्नेमा जोड दिईन ।
उनले संविधानमा व्यवस्था भएको तिनखम्बे नीति अनुसार सहकारीको विकास गरी उत्पादन र उत्पादकत्व बढाएर स्वाधिन अर्थतन्त्रको विकास र रोजगारी सिर्जना गर्दै गरिवी न्युनिकरणमा महत्वपूर्ण योगदान गर्न सकिने पनि बताईन् ।

बजार अनुशासन, मर्यादा र कारोवारमा पारदर्शिता कायम गर्दै जनतालाई महशुस हुने गरेर सेवा दिने विषयमा सहकारीहरुले कार्ययोजना नै बनाएर अगाडी बढ्नु पर्नेमा समेत मन्त्री श्रेष्ठले जोड दिएकी छिन् । समारोहमा मन्त्री श्रेष्ठले कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार सहकारीका अभियान्ता तथा सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउनु हुने केशव बडाललाई प्रदान गरिन् ।

यसअघि, आजै नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को ११औं वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले सहकारीमा व्यजदर बडाउने नभई यसको स्थापनाको मर्म भावना र उदेश्यअनुसार घटाउनु पर्ने बताएकी छिन् ।

मन्त्री श्रेष्ठले भनिन् “सन्दर्भ व्याजदरको कुरा गर्दा बैंकमा ब्याजदर बढ्दा सहकारीमा पनि बढने र तर घट्दा नघटने प्रवृति नेपालमा छ ।त्यसकारण सहकारीको व्याजदर बढाउने होइन, देखिएका अप्ठ्राहरु अर्को कुनै तरिकाबाट पुकाउन पर्छ र सहकारी जसका लागि हो उनीहरुका लागि व्याजदर बढाउने नभई घटाउनु पर्छ ।”

सहकारीको मूल मर्म अनुसार जाने हो भने ब्याजदर घटाउनु पर्ने उनकोे भनाइ छ । सहकारीबाट तल्लो तहका जनता लाभान्वित हुने र सहकारी त्यही अनुसार चल्ने भएकाले सोही अनुसार मन्त्रालयले भिजन पेपर तयार पारीरहेको र केही दिन भित्रै उक्त भिजन पेपर सार्वजनिक गर्ने समेत मन्त्री श्रेष्ठले जानकारी दिईन् ।

मन्त्री श्रेष्ठले संविधानले सहकारीलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको र आर्थिक विकास र समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै सहकारीहरुलाई सदस्य केन्द्रित भइ व्यवसायिक बनाउनु पर्नेमा दुईमत नरहेको पनि बताईन् ।

मन्त्री श्रेष्ठले सहकारीले सदस्यमाथि लगानी गर्ने भन्दापनि बचत तथा ऋणको कारोबारमा बढी केन्द्रित हुने गरेको र सहकारीको सिद्दान्त अनुसार नचल्दा वित्तीय सुशासन कायम हुन नसकी सहकारी प्रति बचतकर्ताको विश्वासमा कमी आएको भन्दै जनताको भरोसा नटुटने गरी काम गर्न आाग्रह गरिन् ।

प्रकाशित मिति : २३ पुष २०७८, शुक्रबार १६:३३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।