Logo

अर्थ

लक्ष्य पूरा भएन भैरहवा भन्सार कार्यालयको

राष्ट्र बैकले लागु गरेको नयाँ प्रावधान बन्याे प्रमुख कारण



भैरहवा । मुलुककै दोस्रो ठुलो र लुम्बिनी प्रदेशको पहिलो भन्सार नाकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयले पुस महिनामा लक्ष्य पार गर्न सकेन । आर्थिक वर्ष २०७८/७९को सुरुवातबाट हरेक महिना लक्ष्यभन्दा बढी राजश्व संकलन गरिरहेको कार्यालयले पुस महिनामा ८७ दशमलव १३ प्रतिशत मात्र राजश्व सकलन गरेको हो ।

भन्सार विभागले पुस महिनाका लागि ११ अर्ब तीन करोड १५ लाख लक्ष्य दिएकोमा कार्यालयले पुस मसान्तसम्म नौ अर्ब ६१ करोड २२ लाख मात्र राजश्व संकलन गरेको भन्सार कार्यालयले जानकारी दिएको छ ।

‘साउनदेखि हरेक महिना १० अर्बको हराहारीमा लक्ष्य थियो कार्यालयले पार गरिरहेको थियो, तरऽ पुस महिनामा संकलनमा कमी आएको र यसको प्रमुख कारण राष्ट्र बैकले लागु गरेको नयाँ प्रावधान भएको कार्यालयका सूचना अधिकारी तीर्थराज पासवान बताए ।

५ पुसबाट लागु हुने गरी नेपाल राष्ट्र बैकले १८ वटा शिर्षकका विलासीका वस्तुहरूको आयातमा अनिवार्य प्रतित पत्र (एल. सी.) खोलेर शत प्रतिशत र दुईवटा शिर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेसँगै लक्ष्य पार गर्न नसकेको उनको भनाइ छ ।

विलासीका वस्तुहरूको आयातमा राष्ट्र बैंकले नयाँ प्रावधान ल्याएसँगै आयातमा गिरावट आएको छ । दैनिक ६र७ सय मालवाहक गाडी जाच पास हुदै आएको भैरहवा भन्सार कार्यालयमा ५ पुसदेखि यो संख्या घटेर २५० हाराहारीमा झरेको सूचना अधिकारी पासवानले बताए ।

कार्यालयले साउनमा १०५ दशमलव ५८ प्रतिशत, भदौमा १०९ दशमलव ५९ प्रतिशत, असोजमा ११२ दशमलव ८० प्रतिशत, कात्तिकमा १०३ दशमलव ६९ प्रतिशत र मंसिरमा १०१ दशमलव ०८ प्रतिशत राजश्व संकलन गरे पनि पुसमा लक्ष्यभन्दा १२ दशमलव ८७ प्रतिशत कम राजश्व संकलन भएको छ ।

राजश्व कम संकलन हुने कारण विलासिताका बस्तु आयतमा कमी नै हो । पुसमा विगत ५ महिनाको तुलनामा कार जिप र भ्यान, चकलेट, टायल, मार्बल, ग्रेनाइट, मोटरसाइकल, स्कुटर लगायतका बस्तुको आयात घटेको छ ।

मुख्यतया मसला, चकलेट, पेयपदार्थ, सुर्तीजन्य बस्तु, कस्मेटिकका सामान, काठ र फर्निचर, जुत्ता चप्पल, टोपी हेलमेट, टायल, मार्बल, ग्रेनाइट, सिसाका सामान, आर्टिफिसियल ज्वलरी, तास लगायतका बस्तुमा शत प्रतिशत र हलुका सवारीसाधन कार, जिप, भ्यान, मोटरसाइकल, स्कुटरमा ५० प्रतिशत एलसी खोल्दा नै बैकमा भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।

अहिलेको व्यवस्थाले साना व्यवसायी मर्कामा परेका छन् । भारतबाट सामान ल्याएर बेचेर केही समयपछि पैसा पठाउने गरेकोमा यो व्यवस्थाले अग्रिममै पैसा फसाएर पुँजी नै ब्लक हुने गरेकोले ती उद्योगी व्यवसायीहरूको सामान आयातमा कमी छ ।

लकडाउन र निषेधाज्ञाका कारण समग्र व्यापारमा गिरावट आए पनि भैरहवा नाकामा खासै असर परेको थिएन, तर राष्ट्र बैकको नयाँ नियमले राजश्व संकलनमा असर गरेको छ । मुख्यतः १० बस्तुको आयातले लक्ष्य पार गर्न योग्दान गर्ने गरेको थियो । ति बस्तुमध्ये केही बस्तु आयात गर्दा शत प्रतिशत भुक्तानी गरी एलसी प्रतितपत्र खोल्नु पर्ने प्रवाधान आएको छ ।

कार्यालयले सवारीसाधान, टायल मार्बल, एम एस विलेट, डिजेल, पेट्रोल, कोइला, मोबाइल फोन, पोलिथीन दाना, जर्दा खैनी, ग्लास लगायतका बस्तुबाट बढी राजश्व संकलन गरिरहेको थियो ।

पछिल्लो समय विलाशी बस्तुको खारिदमा हाम्रो विदेशी मुद्रा धेरै खर्च भएकोले र आन्तरिक उत्पादन कम भएकोले देश भित्रको विदेशी मुद्राको संचितीलाई सन्तुलनमा राख्नका नेपाल राष्ट्र बैकले परिपत्र गरेको हो । अतिआवश्यक बस्तुमा भने यो व्यवस्था छैन, विलासिका बस्तु जुन नभएपनि हुन्छ भन्ने केही बस्तुमा मात्र यो लागु भएको छ । परिपत्र आउनुअघि यी २० वटा शिर्षकका बस्तु १० प्रतिशत वा केही शर्तमा बैंकमार्फत एलसी खोलेर आयात हुँदै आएको थियो ।

कार्यालयलाई आव २०७८/७९का लागि विभागले एक खर्ब २७ अर्ब ४२ करोड ६८ लाख वार्षिक लक्ष्य दिएको छ, कार्यालयले ६ महिनामा कुल लक्ष्यको ५२ दशमलव ७२ प्रतिशत राजश्व संकलन गरिसकेको छ ।

प्रकाशित मिति : २ माघ २०७८, आईतवार १७:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।