Logo

कोशी प्रदेश

बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानका चिकित्सकविरुद्ध उजुरी



सुनसरी । बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानका हाडजोर्नी विभागका ३ चिकित्सकविरुद्ध उजुरी परेको छ । सोमबार ललितकुमार साहका बुबा रामकृष्ण साहले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् ।

उनले प्रतिष्ठानको हाडजोर्नी विभागका डा. रोशनप्रसाद साह कलवार, डा. अमितविक्रम साह, डा. अमित लिम्बूसहित संलग्न समूहविरुद्ध उजुरी दिएका छन् ।

उजुरीमा कमिसनको खेलमा चिकित्सकहरूबीच विवाद हुँदा बिरामीको अप्रेसन र उपचारमा गम्भीर असर परेको उजुरीमा उल्लेख छ । साहले डाक्टरहरूको लापरबाहीले बिरामीको ज्यानमा गम्भीर असर पर्न गएकाले पक्राउ गरी ज्यान मार्ने उद्योगअन्तर्गत कारबाही गर्न माग गरेका छन् ।

उजुरीमा पुस १७ गते प्रतिष्ठानमा उपचारका लागि आएको बिरामी मेरो छोरा ललितकुमार साहलाई शल्यक्रियाका लागि बिहान साढे ८ मा बजे लगी बेलुकाको ५ बजेसम्म समय लागेको उल्लेख छ । त्यति लामो समय चिकित्सकको विवादका कारणले भएको जनाइएको छ । उजुरीमा २ पटक अप्रेसन गर्दा बिरामीलाई गम्भीर असर परेको उल्लेख छ ।

साथै अत्यधिक रगत बगी बिरामीको ज्यान खतरामा परेकाले पक्राउ गरी ज्यान मार्ने उद्योगमा कारबाही गर्न माग गरिएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी हेमराज ओलीले बिरामीका आफन्तले निवेदन दिएको र बोलाई बयान लिइएको बताए । उनले बिरामीका आफन्तहरू तत्काल बिरामी उपचारमा जान्छौं भनेर गएको बताए ।
अस्पतालको कुरामा भनेर एकपटक विभागीय प्रमुखसँग छलफल गर्नु भनेर आग्रह गरीएको र कानूनसम्मत जाहेरी आएमा प्रक्रिया अघि बढाउने उनले बताए ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलवार १४:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।