Logo

अर्थ

सुन्तलाबाटै म्याग्दीको मङ्गलामा २१ लाख



म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले याे वर्ष रु २१ लाख आम्दानी गरेका छन् । अन्नबाली मासेर सुन्तला खेती गरेका किसानले सुन्तला बिक्री गरी २१ लाख गाउँ भित्र्याएका हुन् ।

बीस परिवारको बसोबास रहेको दुवै बस्तीको मुख्य आयस्रोत सुन्तलाखेती बनेको छ । यसपाली झण्डै तीस हजार किलो सुन्तला बिक्री भएको भेडाबारीका अगुवा किसान ओम गिरीले जानकारी दिए । पोखराका व्यापारीले बगैँचाबाटै सुन्तला खरिद गरेर लगेका उनको भनाइ छ । सरदर रु ७० रुपैयाँ प्रतिकिलोका दरले सुन्तला बिक्री भएको उनको भनाइ छ । एउटा परिवारले सरदर रु एक लाखभन्दा बढी आम्दानी गरेको उनले जानकारी दिए।

गत वर्ष रु १५ लाख बराबरको सुन्तला बिक्री भएको थियो । अन्यत्रको सुन्तला बिक्री भइसकेपछि माघको दोस्रो हप्तादेखि भेडाबारीको सुन्तला टिपेर बजार पठाउन थालिएको थियो । पाँच मुरी कोदो फल्ने बारीमा सुन्तलाखेती गरेर वार्षिक रु तीन लाखसम्म आम्दानी गरेको स्थानीय बेम गिरीले बताए ।

अन्नबालीभन्दा सुन्तलाबाट धेरै फाइदा भएकाले मकै र कोदो लगाउन छाडेर सुन्तला लगाएको उनको भनाइ छ । उपयुक्त हावापानी र अनुकूल भूगोल भएकाले भेडाबारीमा सुन्तला खेती फस्टाएको हो । नयाँ बिरुवा थपिने क्रमसँगै बर्सेनि उत्पादन पनि बढेको छ । किसानले न्यूनतम एक सयदेखि ५०० बोटसम्म सुन्तलाखेती गरेका छन् । उनीहरुले बगैँचाभित्र तरकारी, अदुवा र बेसारखेती गरेर अतिरिक्त आम्दानी पनि गरिरहेका छन् ।

सिँचाइ र सडक यातायातको समस्या भेडाबारी र भोर्लेनीको सुन्तला खेतीका लागि चुनौति बनेको छ । सुन्तला बिक्री र आवतजावतका लागि पोक हुँदै भेडाबारीसम्म निर्माण गरिएको सडक स्तरोन्नति हुनसकेको छैन् । भेडाबारीबाट सातबिसेसम्म गाडीमा ल्याएको सुन्तला म्याग्दी खोलामा पुल नभएकाले भरियामार्फत तोराखेतमा तारेर त्यहाँबाट गाडीमा राखेर बजार पठाउने गरिएको छ ।

सुन्तला बगैँचामा सिँचाइ गर्न समस्या छ । लामो सुख्खा र खडेरीसँगै सुन्तला खेतीमा सिँचाइ पुर्याउन समस्या भएको स्थानीय गणेश गिरीले बताए । बाबियाचौरको माटेबगर र अर्मनको पोक जोड्ने मोटरेबल पुल निर्माण सम्पन्न गराउन पहल तथा समूहमार्फत भोर्लेनी र भेडाबारीमा सिँचाइ आयोजना निर्माणको तयारी भएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले बताए ।

प्रकाशित मिति : १६ माघ २०७८, आईतवार १४:३६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।