Logo

अनलाइनपाना खोज

जनवारले कोभिड सार्लान् भन्ने पीर



हङकङमा घरपालुवा जनावरको रेखदेख गर्ने एकजना कर्मचारीलाई भाइरस सङ्क्रमण भएपछि हजारौँ ह्याम्सटर भनिने मुसा प्रजातिका घरपालुवा जनावरहरूलाई मार्न आदेश दिइयो । हङकङका अधिकारीहरूका अनुसार पसलमा बेच्न राखिएको कुनै सङ्क्रमित ह्याम्सटरबाट मानिसमा भाइरस सरेको हुनसक्छ । यहाँ भाइरस कसरी सर्‍यो भन्ने यकिन हुन नसके पनि स्वास्थ्य वैज्ञानिकहरू जनावरहरूमा भाइरस उत्परिवर्तन भएर मानिसहरूमा नयाँ महामारी निम्त्याउन सक्ने कुरामा चिन्तित छन् । हङकङमा ठूलो सङ्ख्यामा ह्याम्सटरहरू मारिएको घटना धेरै देशहरूमा समाचारको शीर्षक बन्यो । अधिकारीका हातबाट ह्याम्सटरहरू मारिनबाट जोगाउन मानिसहरूले यसलाई पाल्न प्रस्ताव गरेको र यी जनावर मारिनुअघि नै मानिसहरू घरपालुवा जनावरका पसलमा जाँदै गरेको समाचारहरू प्रकाशित भए ।

जनावरहरूमा कोभिड फैलिएका धेरैमध्येको यो पछिल्लो एउटा घटना मात्र थियो । जनावरको स्वास्थ्यका लागि विश्व सङ्गठन(ओआईई)ले १७ प्रकारका जनावरमा ६२५ वटा कोभिड सङ्क्रमणका घटना भएको गत महिना जनाएको छ । विभिन्न ३२ वटा देशको तथ्याङ्कमा सिंह, बाघ देखि कुकुर, बिरालो र बन बिरालोसम्म छन् । तर अधिकांश सङ्क्रमित जनावरहरू चिडियाखानामा भएका कारण उनीहरूलाई क्वारन्टीन राख्न र परीक्षण गर्न अप्ठ्यारो थिएन । तर जनावर स्वास्थ्यका विज्ञहरूका अनुसार जङ्गली जनावरमा सङ्क्रमण फैलिए ठूलो जोखिम निम्त्याउन सक्छ । अहिलेसम्म एउटा मात्रै जङ्गली जनावरमा मानिसबाट सङ्क्रमण सरेको थाहा हुन आएको छ । अमेरिका र क्यानडामा जनावरहरूमा कोभिड परीक्षण गर्ने क्रममा सेतो पुच्छर भएको हरिणमा मानिसबाट सङ्क्रमण सरेको पाइएको थियो ।

तर परीक्षण नै नभएका देशहरूमा मानिसहरूबाट जङ्गली जनावरमा भाइरस सरेको चिन्ताबीच ओआइईले जङ्गली जनावरहरूको तत्कालै विश्वभर परीक्षण गर्न विज्ञहरूसँग काम भइरहेको जनाएको छ ।

यसले किन महत्त्व राख्छ ?

विज्ञहरू जङ्गलमा रहने जनावरहरू भाइरसको सञ्चय स्थल बन्न सक्ने, उनीहरूमा भाइरस उत्परिवर्तन भएर थप खतरनाक हुँदै मानिस र जङ्गली जनावर दुवैलाई जोखिम बढाउने सम्भावना रहेको बताउँछन् । “यस अर्थमा पनि जङ्गली जनावरहरूको निगरानी हुनु महत्त्वपूर्ण छ तर त्यो भइरहेको छैन,” सिङ्घापुरको ड्यूक–एनयूस मेडिकल स्कुलमा उदाउँदा सङ्क्रामक रोग सम्बन्धी कार्यक्रम हेर्ने प्राध्यापक लिन्फा वाङ् भन्छिन् । “यदि मैले यो गर्न चाहेँ भने पनि स्रोत कहाँबाट जुटाउने, कति नमुनामा परीक्षण गर्ने र को सँग सहकार्य गर्ने भन्नेबारे मलाई केही पनि थाहा छैन। यो हामीले झेल्नुपर्ने ठूलो चुनौतीको रूपमा रहेको छ ।”

यो महामारी पनि जनावरबाट मानिसमा भाइरस फैलिएकै कारण सुरु भएको ठान्ने गरिएको छ । विश्व भेटेरिनरी असोसिएशनकी महामारी जोखिम व्यवस्थापन विज्ञ प्राध्यापक नोएल मरेन्डा यो भाइरस फेरि मानिसहरूबाट जनावरमा फैलन सक्ने प्रति ध्यान दिन हुन जरुरी हुने बताउँछन् । “कोभिड सम्बन्धी आवश्यकताका लागि जङ्गली जनावरहरूको निगरानी गर्नु विश्वव्यापी मुद्दा हुनुपर्ने हो तर अहिले त्यो देखिइरहेको छैन,” उनले भने । “मानिस र जनावरहरूबीचको यो आदानप्रदान छानबिन हुनुपर्छ र अन्तर सम्बन्धित समस्याहरूको अध्ययनको लागि बहु–आयामिक सहकार्य आवश्यक पर्छ ।” ढल र फालिएका खानेकुराबाट जनावरहरूमा भाइरस सर्ने जोखिम सम्बोधनका लागि वैज्ञानिकहरूले सहरी योजनाविद् र फोहोर व्यवस्थापन विज्ञहरूसँग सहकार्य गरेको उनी देख्न चाहन्छन् ।

जङ्गली जवावरहरूमा भाइरसको भण्डार

जनावरहरूले सञ्चय गरेका भाइरसका कारण मानिसहरूलाई असर गरेका धेरै उदाहरणहरू छन् ।

वैज्ञानिकहरूका अनुसार इबोला, हेन्द्रा र निपा भाइरस चमेरामा सञ्चित भएर बसेको थियो । रेबिज भाइरस रकुनहरू र फ्याउराहरूमा बस्ने गरेको पाइएको थियो। क्षयरोगको भाइरस पनि जनावरबाटै मानिसमा सरेको थियो । उनीहरूका अनुसार सन् २००९ मा महामारीको रूप लिएको स्वाइन फ्लू कसरी जनावर र मानिसहरूबीच एक अर्कामा भाइरस सर्न सक्छ भन्ने उदाहरण भएको बताउँछन् । स्वाइन फ्लू सबैभन्दा पहिले सुँगुरबाट मानिसमा सरेको थियो भने पछि मानिसले सुँगुरलाई सङ्क्रमित गराएका थिए । बिरामीको कुनै पनि लक्षण नदेखिएको सेतो पुच्छर हुने हरिणमा कोरोनाभाइरसको कुनै उत्परिवर्तन भए नभएको विषयमा वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन् ।

“हामीले सिक्वेन्स गरेका नमुनाहरूबाट कुनै पनि उल्लेख्य उत्परिवर्तन भएको पाएनौँ,” पेन स्टेट विश्वविद्यालयका क्लिनिकल प्राध्यापक डाक्टर सुरेश कुचिपुडीले भने । “ती नमुनाहरू महामारीको सुरुवाती चरणमै लिइएका थिए। भाइरस हरिणहरूमा फैलँदै गए नगएको र उत्परिवर्तन भए नभएको पत्ता लगाउन हामीले सबैभन्दा पछिल्ला उदाहरणहरूको पनि विश्लेषण गरिरहेका छौँ ।”
जति धेरै भाइरस फैलँदै गयो मानिसहरूलाई खतरा निम्त्याउने जोखिम पनि उति नै धेरै हुने गर्छ ।

“यो हामी सुरक्षित नभएसम्म कोही पनि सुरक्षित हुँदैन भनेजस्तै हो,“ डा मरेन्डा भन्छन ्। “जनावरको संसार पनि यसैमा समेटिन्छ ।”

ठूलो चुनौती

तर हामीले सबै वन्यजन्तुलाई कसरी निगरानीमा राख्ने ? जबकि स्तनधारी जीवहरू मात्रै ५,००० प्रकारका छन् । प्रोसिडिङ्स अफ न्याशनल एकेडेमी अफ साइन्सेसमा प्रकाशित एक अनुसन्धानले ४१० वटा फरक प्रजातिहरू पहिचान गरेको छ जसको कोषको सतहमा पाइने प्रोटिनमा कोरोनाभाइरस टाँसिन सक्छ ।

त्यसमध्ये पनि २५२ वटा जनावर स्तनधारी, ७२ चरा, ६५ माछा, १७ सरीसृप र चार वटा उभयचर प्रजाति छन् । कोषको बनोटका आधारमा कोभिड सङ्क्रमण हुनसक्ने अति उच्च, उच्च र मध्यम जोखिममा रहेका १०३ प्रजातिका जनावर मध्येमा ४० प्रजाति अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयूसीएन)को जोखिम, लोपोन्मुख र अति लोपोन्मुख जनावरको रातो सूचीमा रहेका प्रजाति छन् ।

“हाम्रो विश्लेषणले विश्वका आदिम र पुराना जनावरहरूमा कोरोनाभाइरस सङ्क्रमण विकाश हुनसक्ने देखाएको छ । त्यसमध्ये पनि चीनमा पाइने २१ प्रजातिका आदिम जनावरहरू कोरोनाभाइरस भण्डारण गर्न सक्ने सम्भावित जनावरहरू हुन सक्छन्,” सन् २०२० मा प्रकाशित अनुसन्धानले भनेको छ ।

“यो परालको कुन्यूमा सियो खोज्नुजस्तै हो । विश्वमा कोभिड बिरामीका लागि भेन्टिलेटरहरू जुटाउन सङ्घर्ष गरिरहेका देशहरू पनि छन् । उनीहरूका लागि यो प्राथमिकतामा पर्दैन,” हङकङको सिटी विश्वविद्यालयमा वन हेल्थका प्राध्यापक डर्क फाइफर भन्छन् । “त्यसैले हामी कसरी अघि बढ्ने र यसलाई प्रभावकारी रूपमा कसरी गर्ने भन्ने अहिलेको मुख्य प्रश्न हो ।”

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार १५:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।