Logo

अर्थ

कालोपत्रमै अल्झियो बलेवा विमानस्थल, माैषम खुले १० दिनमै सम्पन्न गरीने



बागलुङ । बागलुङको बलेवा विमानस्थलको धावनमार्ग अझै कालोपत्र हुन नसकेको छैन । २०७७ फागुनमै हुनुपर्ने विमानस्थनको धावनमार्ग कालोपत्रको काम पटक–पटक प्रभावित बन्दै आएको छ ।

गत असारमै कालोपत्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको विमानस्थलको धावनमार्ग कालोपत्रको काम दुई पटक म्याद थप्दा समेत अझै सम्पन्न भएको छैन । २०७७ फागुन महिनाभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरिसक्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी, बल्खुसँग रु सात करोडमा ठेक्का सम्झौता गरेको थियो ।

विमानस्थलको काम २०७८ माघ १५ सम्म अन्य पूर्वाधार निर्माण भए पनि धावनमार्ग कालोपत्र भने हुननसकेको हो । निर्माणको जिम्मा पाएको सो कम्पनीका प्रतिनिधि वासु थापाले कोरोना महामारी र वर्षाका कारण कालोपत्रको काम पटक–पटक प्रभावित बनेको भन्दै आगमी फागुनभित्रै काम सम्पन्न गरी हस्तान्तरण गरिने दाबी गरे ।

कोरोनाका कारण काम नभएको र कम हुनासाथ काम थाल्ने उनले बताए । कालोपत्र गर्ने कच्चा सामग्रीको प्लान्ट खोज्नै एकवर्ष लागेको र अहिले प्लान्ट तयारी र सडक समेत सञ्चालनमा रहेको भए पनि मौसम नखुलेका कारण कालोपत्रे हुन नसकेको उनले बताए ।

विमानस्थलको कालोपत्र बाहेक अन्य काम एकवर्ष पहिलै सकिएको र अबको दुई हप्तामा काम सुरु भएपछि सरासर भए १० दिनमै कालोपत्र सक्ने उनले प्रतिबद्धता ब्यक्त गरेका छन् ।

धावनमार्ग कटिङ, नाली तथा तारबार एक वर्ष पहिल्यै सकिएर धानवनमार्गको ग्राभेल समेत सम्पन्न भइसकेको छ । कोरोना महामारी र मौसमका कारण धावनमार्गको कालोपत्र गर्न समस्या भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिक मीनराज ओझाले जानकारी दिए । ओझाका अनुसार ठेकदारका कारण नभएर कोरोना महामारी र मौसमका कारण कालोपत्र गर्न नसकिएको तर अब फागुनभित्रै कालोपत्र गर्ने तयारीमा निर्माण व्यवसायी रहेको छ ।

करिब २६ वर्षदेखि बन्द अवस्थामा रहेको सो विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालनमा आएको थियो । नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना उडानसमेत भरेका थिए तर अहिले विमानस्थल बन्द रहेको छ ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानमा सो विमानस्थल छ । हवाई सेवा नियमित भएमा बागलुङ जिल्लाका साथै पर्वत र म्याग्दीका जनतालाई समेत सुविधा पुग्ने बताइएको छ । कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारदेखि जम्मा १२ किलोमिटर सडक कच्ची छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर कालोपत्र हुनसकेमा विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने बताइन्छ ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलवार १४:३८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।