मनोज भट्टराई, काठमाडाैं । जिम्मेवारीले मान्छेलाई आत्मनिर्भर बनाउँछ । नेपाली समाजमा महिला आत्मनिर्भर भएर बाँच्नु धेरै चुनौतिको विषय हो । तर हरेक चुनौतिको सामना गर्दै कतिपय महिलाहरु खुला आकाशमुनि सवारी चालक भएर आफू र आफ्नो परिवारको जिम्मेवारी उठाइरहेका छन् ।
यातायात क्षेत्रमा महिलाहरुको सहभागिता न्यून रहेको छ । कतिपयले आफ्नो शोखले गाडी चलाउँछन् भने कतिपयलाई जिम्मेवारीले बाध्य बनाउँछ । आज, सयौं महिला टेम्पो चालकहरु नेपालको राजधानी काठमाडौंको सडकमा दाैडी रहेका छन् । ती महिला जसले यी सबैको लागि बाटो बनाइन् लक्ष्मी शर्मा, नेपालको मात्र नभएर उनी एशियाकै पहिलो महिला टेम्पो चालक तथा सफल महिला उद्यमी समेत हुन ।
लक्ष्मी शर्माले देखाएको बाटोमा अहिले काठमाण्डौं उपत्यकाको सडकमा मात्र ५०० बढी महिलाहरु सफा टेम्पो चलाउँन् । लगभग एक दशक अघि काठमाडौं उपत्यकामा टेम्पो चलाउँदा महिला चालकहरुकालागि त्यति सहज नभए पनि आफुले निरन्तर संघर्ष गरीरहेको टेम्पो चालक मधु लामाले बताईन् ।
पुरुषहरुले महिला टेम्पो चालक भनेर हेपेर व्यवहार गर्ने भएपनि प्रतिकार गर्दै आफ्नो पेसामा अडिग रहेको टेम्पो चालक निशा थिङको भनाइ छ । सुरुसुरुमा त महिला चालकहरुले विभिन्न दुव्र्यवहार सँहदै आफ्नो काममा लागि रहेको उनको भनाइ छ ।
महिला चालक भएकै कारण अपशब्द पनि सुन्नु पर्ने । समाजले पनि फरक दृष्टिकोणले हेर्ने गरेकाे उनले बताइन् ।
धेरै संख्यामा हुनु पनि एउटा जीत रहेछ भन्ने आभास हुने गरेको डेढ दशक अघि देखि काठमाडौं उपत्यकामा टेम्पो चलाइरहेकी चालक रुपा गिरीको अनुभव छ । पछिल्लो समय महिला चालकहरुको संख्या वृद्धि हुँदै गएपछि केही समस्या रहेपनि पुरुषहरुले हेर्ने हेराइ परिवर्तन हुँदै गएको र आजभोलि भने पहिला गरिने दुव्र्यवहार त्यो हद सम्म सहनु नपरेको उनले बताईन् ।
दैनिक गाडीमा १२ देखि १६ घण्टा सम्म रहँदा महिला चालकमा समस्या पनि हने गरेको चालकहरु बताउँछन् । दिनभरि गाडी कुदाउँदा शारीरिक समस्या त हुने नै भयो त्यस माथि गाडी गुडाउने रुटमा सार्वजनिक शौचालय र पार्किङ नहुँदा झनै पीडा खप्नु परेको चालक गिरीले बताइन् । सरकारले महिलाहरुका लागि छुट्टै शौचालय निर्माण गर्न आवश्यक रहेको महिला चालकहरुको भनाइ छ ।
नेपाल सफा परिवहन व्यवसायी संघका अनुसार उपत्यकामा करिब ७०० बढी सफा टेम्पो सञ्चालनमा रहेका छन् । ती मध्ये ५०० वटामा महिला टेम्पो चालक छन् भने बाँकी पुरुषले चलाउँछन् । सफा टेम्पो अधिकांश एकल र निम्न आय भएका महिलाहरुको जीविकोपार्जनको माध्यम बनेको छ । कतिपय त श्रीमान् बिदेशमा भएका समय किन खाली बस्ने भन्दै अाफूले पनि केही गर्नु पर्छ भनेर टेम्पाे चलाउन लागेकाे बताउँछन् ।
सँधै डाढु पून्यूमा सीमित रहने महिलाहरु हरेक क्षेत्रमा प्रतिस्पर्धा गरिरहेको यि टेम्पो चालकहरुको कथाले बताउँछ । उनिहरु त प्रतिनिधि पात्र मात्र हुन् । प्रतिस्पर्धा र चुनौतिको होडबाजिमा जुधिरहेका यस्ता महिलाहरुले देशमा समानताको पाठ सिकाइरहेका छन् । सडकमा चालकको रुपमा सेवा गरिरहेका महिला सवारी चालकको समस्यालाई सुनेर समाधान गर्न सरकारको ध्यान जान पनि जरुरी देखिन्छ ।





















प्रतिक्रिया