Logo

समाचार

नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको उडान अनुमति



नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको अनुमति प्रदान गरिएको छ ।  साउदी अरेबियाको नागरिक उड्डयन कार्यालय जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स् रियादले त्यहाँका तीनवटा शहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको पहलमा सो उडान अनुमति प्राप्त भएको बताइएकाे छ । यसका लागि मन्त्री आलेको निर्देशनमा केही समयअघिदेखि पत्राचार एवं सम्पर्क भएको थियो ।

उक्त क्षेत्रको उडान अनुमति लिनका लागि निगमका कार्यकारी अध्यक्षसहितका कर्मचारीहरू साउदी अरेबिया पुगेर उडान अनुमतिको प्रक्रियाको थालनी गरेका थिए । निगमले चैतदेखि पहिलो चरणमा काठमाडौं–रियाद–काठमाडौं सातामा तीन दिन उडान गर्ने जानकारी गराएको छ ।

यसअघि साउदीमा हिमालय एयरलायन्सले दमाम र रियादमा नियमित उडान गर्दै आइरहेको छ । साउदी अरबले यसअघि निगमलाई सन् २००२ र सन् २०२० मा पनि उडान अनुमति दिएको थियो । तर, जहाज अभाव र कमजोर व्यवस्थापनका कारण निगम साउदी जान सकिरहेको थिएन । 

निगम साउदी नगएकै कारण त्यसताका गल्फ एयरले नेपाली कामदारलाई बहराइन हुँदै साउदी अरेबिया ल्याउने/लैजाने गर्न थालेको हो । 

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार १३:०३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।