राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर अनेक खालका जायज-नाजायज टिका टिप्पणी सामाजिक सञ्जालदेखि अनेक आयामका मिडियामा हुनु पक्कै पनि द्ःखद हो । जननेता मदन भण्डारीकी जीवन सँगीनी विद्याबारे शिष्टताको हद नाघेर हुने टिप्पणी क्षम्य हुन सक्दैन । यद्यपि, ओली र विद्या पनि मानिस नै हुन् ।
यी दुबै पात्र हुन् । तर, राष्ट्रपति पद हाम्रो महान धरोहर हो । यो पद अरुण खोलामा जल समाधी लिने योगमायादेखि राणा शासनविरुद्ध उभिने सहिद गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, लखन थापा, भिमदत्त पन्त, चिनियाकाजी श्रेष्ठ हुँदै त्यसपछि विष्फोटक आन्दोलनका तमाम ज्ञात-अज्ञात सहिदहरुको रक्तरञ्जित इतिहासको जगमा खडा भएको पद हो । यो हामीले लडेर ल्याएको गणतन्त्रको गजुर हो । अतः यो पदप्रति पंक्तिकार नतमस्तक छ ।
पद स्थायी हुन्छ, पात्र फेरिइरहन्छन् । कहिलेकाँही पदको गरिमा, उच्चता र मर्यादाको मर्म नबुझ्ने पात्रहरु पनि त्यो पदमा पुगिरहेका हुन्छन् ।
पंक्तिकार त्यो दिन बडा निरास भएको थियो, जुन दिन गणतन्त्र नेपालको पहिलो राष्ट्रपति गिरिजाप्रसाद कोइरालालाई बनाइएन । पुष्पकमल दाहाल प्रचण्डको संकिर्ण नियतका कारण इतिहासले त्यो गौरव गुमायो । इतिहास भनेको ओभनमा हठात तयार गरिने कुनै केक या कुकिज होइन, यसको सिलसिलाबद्ध निरन्तरता हुन्छ । गिरिजाबाबु गणतन्त्र नेपालको प्रथम राष्ट्रपति भएको भए सात सालदेखिको वाम–लोकतान्त्रिक आन्दोलनको नेतृत्व सिलसिलाले निरन्तरता पाउँथ्यो । गिरिजाबाबुपछि प्रचण्ड राष्ट्रपति हुन्थे । हाम्रो वाम–प्रजातान्त्रिक आन्दोलन नेतृत्वको महान गरिमाले निरन्तरता पाउँथ्यो ।
डा. सुरेन्द्र केसीका शब्दमा ‘ल्याकत नभएका मानिस’ जब राज्यको त्यो पदमा पुगे, नेतृत्वको ओज स्खलित भयो । गणतन्त्र नेपालको पहिलो राष्ट्रपति हुने ल्याकत न त डा. रामवरण यादवमा थियो, न डबल राष्ट्रपति हुने हैसियत विद्या भण्डारीको हो । अब भइसकेपछि उनीहरु बसेको आसनको सम्मान गर्नु हाम्रो कर्तव्य हो ।
आखिर, व्यक्तिका रुपमा ओली र विद्याको सन्दर्भमा किन नचाहिने टिप्पणी सर्वत्र भइरहेको छ ? आखिर किन हाम्रो राष्ट्राध्यक्षलाई प्रतिपक्षी नेताले समेत ‘तपाईं’ भन्न छाडे ? यो अवस्थामा हाम्रो गणतन्त्रको धरोहरलाई कसले पुर्यायो ? मुख्य प्रश्न यो हो ।
‘जनताकी छोरी विद्या भण्डारी’लाई कार्टुनिष्ट अविनको आँखाले किन निरंकुश शासकको खल्तीमा देख्यो ? यो गम्भीर प्रश्न हो । के तीन दशक लामो सक्रिय ललितकलामा भिजेका कार्टुनिष्ट अविनको मगज खुस्कीएको हो ? के कार्टुनिष्ट रविन सायमी र बासु क्षितिज सठियाईं गएको हो ? के यो पंक्तिकार पनि पागल भएको हो ?
पक्कै होइन । पत्रकार, लेखक, कलाकार, बुद्धीजिवीले सत्य देख्छन् । असली सर्जकले सत्य आफ्नो अवचेतन मष्तिष्कमा दबाएर राख्नै सक्दैन । उसले त्यो ओकल्छ, आफ्नो कलात्मक बान्कीबाट । जब सत्य ओकल्छ, त्यहाँ मान सम्मान, मर्यादाको सीमा पनि नाघिन्छ । किनकी, जो सम्माननीय हो, उसैले आफ्नो मर्यादा र गरिमाको सीमा नाघेपछि उ सम्माननीय रहँदैन । लोकले भनिसक्यो, अब बिद्या भण्डारी निजी तवरमा सम्माननीय रहनु भएन । राष्ट्रपति पद त सदा सम्माननीय थियो, रहन्छ र रहिरहनेछ । शितल निवास अगाडि उभिएर पंक्तिकार नतमस्तक भएर शिर निहुराउँछ, तर पात्रका हकमा विद्या भण्डारीको सवारी चल्दा हर्न बजाएर विरोध जनाउँछ । थुक्छ ।
अब प्रश्न उठ्छ, अमूर्त पद सम्मानित हुने, मूर्त पात्र चाहिँ किन बदनाम ? आखिर हुनुपर्ने त यस्तो थियो कि पद गौण होस्, पात्र महान होस् । जस्तो कि नेल्सन मण्डेला । मण्डेलाको राष्ट्रपति पद गौण थियो, सारा अफ्रिकामा सम्मानित थिए, व्यक्ति मण्डेला । होचिमिन्हको पद गौण थियो, सारा भियतनाममा सम्मानित थिए व्यक्ति होचिमिन्ह । माओको तस्बिर अंकित नोट सारा चीनमा वितरण भइसक्दा पनि गौण थियो उनको पद, महान थिए, व्यक्ति माओ ।
आखिर इतिहासले सुम्पेको महान कार्यभार निर्वाह गर्न सक्नु अथवा मण्डेला, होचिमिन्ह या माओ हुनसक्नु जो कसैको ल्याकतको कुरा त होइन । डा. केसीले भनेझैं ल्याकत नभएका मानिसलाई महान पदमा राख्दैमा कसरी महान भूमिकाको अपेक्षा गर्नु ? अहिले जे भइरहेको छ, त्यो स्वाभाविक हो । अतः पंक्तिकार यतिबेला राष्ट्रपति पदको उच्च सम्मान गर्छ, तर पात्रप्रति यसको घोर घृणा छ । रक्सीले मातेर गरिएको बान्तामा म त्यो पात्रलाई बगाउन चाहन्छु ।
निशाचार नियति होइन हाम्रो
रातमा जब सारा गाउँ–सहर सुतीरहेको हुन्छ, तब चोर र लुटेराहरु सलबलाउन थाल्छन् । रातको सन्नाटामा चोरहरु लुसुक्क घरभित्र छिर्छन् र कन्तुर फुटालेर नगद, गरगहना चोरेर रफुचक्कर हुन्छन् । रातकै अँध्यारोमा लुटेराहरु बजारका सटर फुटाल्छन् र नगद अनी जिन्सी लुटेर लैजान्छन् । रातमै डाँकाहरु दुर्गम गाउँमा डकैती गर्छन् । रातकै अँध्यारोमा हुन्छ, डयूटीबाट फर्किरहेकी कुनै चेलीको बलात्कार । अनि रातकै अँध्यारोमा हुन्छ, कसैको हत्या ।
चोर, डाँका, लुटेरा, बलात्कारी, हत्यारा, षडयन्त्रकारीलगातका अपराधीको प्रिय प्रहर हो, मध्यरात, जब कूकूरहरु पनि भुक्न छाडेर कतै सुतीरहेका हुन्छन् । आपराधिक मानसिकता बोकेका मानिस दिउँसोको उज्यालोसँग भयभित हुन्छन् । लुकीछिपी गर्नुपर्ने निन्दनीय, गलत, घातक, आपराधिक कुकर्म गर्न उनीहरु रातको प्रतिक्षा गर्छन् । त्यस्ता निशाचरहरु हाम्रो नेपाली समाजका हरेक आयाम र क्षेत्रमा छयाप्-छयाप्ती छन्, जो रात परेपछि सारा लोकलाई चक्मा दिएर देशघाती, जनघाती, संविधानघाती, लोकतन्त्रघाती षडयन्त्रका तानाबाना बुन्ने गर्छन् ।
रात अर्थात तमस । रात अर्थात तामसिक वृत्तिले चलखेल गर्ने प्रहर । रातमै भूत, प्रेत, पिचासको भय र भ्रम फैलिन्छ । रातसँग आम मानिस डराउँछन्, किनकी रातको अन्धकारमा तामसिक प्रवृत्तिले उनीहरुलाई सताउन सक्छ ।
राणा कालमा कसैलाई मृत्युदण्ड दिनु परे रातकै समय तोकिन्थ्यो । मध्यरातमा नरसंहारका अनेकौं काण्डले नेपाली इतिहास रक्तरञ्जित छ । जंगबहादुरले मध्यरातमै कोतपर्व गराए । विसं १९०३ भदौ ३१ मा महारानी राज्यलक्ष्मीका अति निकट मन्त्री गगनसिंह खवासको मध्यरातमै हत्या गरियो । गगनको हत्यारा पत्ता लगाउने सिलसिलामा महारानीकै आदेशमा सोही साल असोज २ गते राति सबै भारदार कोत परिसरमा भेला भएका थिए । कोतमा भेला भएका भारदारबीच झगडा सुरु भएपछि जंगबहादुर निकट युद्धवीर अधिकारीले अभिमान सिंह बस्नेतको हत्या गरे । रातभर हत्याको सिलसिला चलीरह्यो । प्रधानमन्त्री फत्तेजंग शाह, दलभंजन पाण्डेसहित ४० जनाको एउटै चिहान भयो, यही मौकाको फाइदा उठाइ जंगबहादुर राणा प्रधानमन्त्री बने, मुलुकमा १०४ वर्षसम्मको राणा शासनको हैकम चल्यो ।
राष्ट्रपतिबाट नै राष्ट्रमाथि गम्भीर धोका
विसं १८६३ वैशाख १४ को रात राज्यकोष दुरुपयोगको आरोप लागेका चौतरीया शेरबहादुर शाहले रिसको झोंकमा राजा रणबहादुर शाहको हत्या गरे । तात्कालीन काजी भिमसेन थापाले अनुसन्धानपछि राजाको हत्यामा दोषी ठहरिएका शेरबहादुर शाह पक्षका अधिकांश भारदारलाई विभिन्न ठाउँबाट रातारात झिकाएर भण्डारखाल बगैँचामा ल्याइ मृत्युदण्ड दिए । कोतपर्वभन्दा क्रूर मानिने भण्डारखाल पर्वमा ९३ जना भारदार मारिए, जसमा राति सुतीरहेका बालक र वृद्धसमेत थिए ।
राणा शासन ढल्यो, मुलुकमा प्रजातन्त्र आयो । २०१७ सालदेखि २०४६ सालसम्म निरंकुश पञ्चायती व्यवस्था लादियो, जसलाई जनताले ‘कालरात्री’कै संज्ञा दिए । अर्थात त्यो ३० वर्षसम्म मुलुकमा कहिल्यै लोकतन्त्रको दिन उदाएन, जनताको मुहार उज्यालो भएन । ३० वर्षे कालरात्रीमा पञ्च निशाचरहरुले देशमा ब्रम्हलुट, दमन, हत्या, बलात्कार, भ्रष्टाचारको ताण्डव देखाए ।
आधुनिक युगमा पनि मध्यरातमा नृशंश नरसंहारको सिलसिला थामिएन । २०५८ जेठ १९ शुक्रबार राति नारायणहीटी दरबारमा राजा विरेन्द्र, रानी ऐश्वर्यसहित राजपरिवारका १० जना सदस्यको हत्या भयो । त्यसपछि राजा भएका ज्ञानेन्द्रले २०५९ माघ १९ को मध्यरातमै ‘कू’ गरेर शाही शासन थोपरे ।
सारा लोक सुतिरहेको बेला चोर बिरालोलेझैँ जनताको अधिकार लुटने निशाचर त्यसपछि पनि नेपाली राजनीतिमा देखा परिरहे । गत शुक्रबार, मध्यरातमै प्रधानमन्त्री केपी ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंगको घोषणा गरेकी छिन् । आखिर संसद भंग गर्ने अलोकतान्त्रिक, असंवैधानिक र अलोकप्रिय घोषणा गर्न ओली–विद्याले किन मध्यरात नै रोजे ?
उत्तर सहज छ, गलत हर्कत रातको अँध्यारोमै गरिन्छ । दिनको उज्यालोमा बदनियतपूर्ण हर्कत गर्ने साहस यस्ता शासकसँग हुँदैन । ज्ञानेन्द्रको माघ १९ को कदम र ओली विद्याको संसद विघटनको कदममा करिब-करिब एउटै नियत, मानसिकता र मनस्थिति झल्किन्छ । पूर्व राजा ज्ञानेन्द्रले उतिबेला आफैँलाई सर्वेसर्वा बनाउन खोजेका थिए, अहिले ओलीले आफूलाई जँगबहादुर नै ठानेका छन् ।
पूर्व राजा ज्ञानेन्द्र त राज खानदानका भएकाले निरंकुश हुन खोज्नु उनको नैसर्गिक स्वभाव हो, तर केपी ओली चाहीँ राष्ट्रियता, लोकतन्त्र, समृद्धि, स्थिरता आदीको नक्कली राग अलापेर स्वेच्छाचारी र निरंकुश बनेका छन् । अतः पूर्व राजाको कदमभन्दा ओलीको कदम धेरै गुना घातक, निन्दनीय र आपराधिक छ । लेखको पहिलो अनुच्छेदमै उल्लेख गरियो, आपराधिक मानसिकता बोकेका मानिस गलत हर्कत गर्न मध्यरात नै रोज्छन् ।
ओलीलाई चाहिन्छ विद्या
रात अर्थात अँध्यारो । अँध्यारो अर्थात तमस । तमस अर्थात ज्ञानको अभाव । र, यसैलाई एउटै शब्दमा हाम्रो धर्म र अध्यात्मले औंल्याएको छ, अविद्या । ज्ञानको अभावमा मानिसमा अविद्या छाउँछ, उसलाई भवरोग लाग्छ । उ तामसी वृत्तिमा रुमल्लिन्छ । भोग, विलास, वैभव, दम्भ, अहँकार, काम, क्रोध, लोभ, मोह, राग, द्वेश, घृणा, मद, उन्माद, उत्तेजना आदि अनेक सँबेदनाले उसलाई गाँज्छ । यही अविद्याका कारण उसले सत्य ठम्याउन सक्दैन ।
प्रधानमन्त्री केपी ओलीमा पनि यतिबेला अविद्या छाएको छ । खोक्रो दम्भ, सत्ताको लोभ, आफ्नै सहयात्रीहरुप्रतिको प्रतिशोध, जीवनको उत्तराधर्ममा पनि मनमा अनेक कामना, यही कामनाले सिर्जना गरेको क्रोध । लोभ पूरा गर्ने नाममा अनेक षडयन्त्र र दाउपेच, संविधान र संसद्को हुर्मत लिने हर्कत आदीले ओलीलाई शतप्रतिशत तामसिक वृत्तिमा डुबाएको छ । अर्थात उनी अविद्याको अन्धकारमा रुमल्लिएका छन् ।
यसरी अविद्याको अन्धकारमा रुमल्लिएका ओलीलाई सम्यक ज्ञान प्रदान गर्ने त ‘विद्या’ले हो । ज्ञानको अर्को नाम नै विद्या हो । विद्या अर्थात विनय । विद्या अर्थात करुणा । तामसिक वृत्ति हटाई ज्ञानको ज्योतीतर्फ मानिसलाई लैजाने विद्याले नै हो । विद्या खासमा नाम हैन, चेतनाको उच्च अवस्था हो । तर, कसैको नाम विद्या हुँदैमा उ ज्ञानी हुने त हैन । नाम कृष्ण राख्दैमा कोही कृष्ण थोडी हुन्छ र ? नाम राम राख्दैमा कोही राम थोडी हुन्छ र ? अनि राम बुद्ध राख्दैमा कोही थोडी संबोधीप्राप्त अर्हत हुन्छ र ?
प्रधानमन्त्री ओलीमा व्याप्त अविद्या चिर्न ज्ञान रुपी विद्याको खाँचो छ । यो विद्या भनेको कुनै व्यक्ति हैन, चेतना हो । अविद्यालाई चिर्ने विद्याले नै हो, अर्थात सरस्वतीले । त्यो सरस्वती अर्थात प्रेम, करुणा र ज्ञानरुपी सरसकी खानी । जबसम्म ओली कमरेडलाई विद्यारुपी चेतना जागृत हुँदैन, तबसम्म ब्रम्हनालमा पुग्दासम्म पनि उनी बहुमतको दाबी गरिरहनेछन् । रातको अँध्यारोमा सारा लोकलाई अन्धकारमा धकेल्ने खालका हर्कत गरिरहनेछन् । उनी आफैँ तमसको दलदलमा छन्, उनलाई त्यो दलदलबाट मुक्त गर्न साँच्चै विद्याको खाँचो छ । विद्या अर्थात ज्ञानको खाँचो छ ।















प्रतिक्रिया