काठमाडौं । कोरोना भाइरसको महामारीसँगै ओरालो लागेको श्रीलंकाको अर्थतन्त्र गहिरो संकटमा फसेको छ । इतिहासकै ठूलो वित्तीय समस्याको सामना गरिरहेको श्रीलंकाले प्रश्नपत्र छाप्ने कागज आयात गर्न नसक्दा विद्यार्थीहरूको परीक्षासमेत गर्न नसकेको समाचार सार्वजनिक भएका छन् । जसका कारण लाखौं विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।
शिक्षा निकायहरूले कागज किन्न नसकिएका कारण सोमबारदेखि सुरु हुने परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको जनाएका छन् । ‘आवश्यक कागज तथा मसी किन्नका लागि विदेशी मुद्रा नहुँदा विद्यालयले परीक्षा लिन असमर्थ भएका छन्,’ पश्चिमी प्रान्तको शिक्षा विभागले भनेको छ । योसँगै ४५ लाख विद्यार्थीको भविष्यमाथि अन्योल सिर्जना भएको छ ।
विदेशी मुद्राका लागि श्रीलंकाको मुख्य स्रोत पर्यटन सन् २०१९ मा भएको आतंकवादी आक्रमणका कारण केही सुस्तायो । त्यसका साथै सोही वर्षको अन्त्यबाट विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को संक्रमण रोक्न लगाइएको प्रतिबन्धले पर्यटन क्षेत्र थला प¥यो । देशको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशतभन्दा बढी योगदान पु¥याउने पर्यटन क्षेत्र ठप्पप्रायः भएपछि २ लाख ५० हजार जनाले रोजगारी गुमाइसकेको बताइएको छ ।
श्रीलंकाको अर्थतन्त्रका लागि सबैभन्दा ठूलो समस्या विदेशी ऋणको भार हो । चीनलगायत देशबाट ऋण लिएर विभिन्न परियोजना निर्माण गरेको श्रीलंकाको अर्थतन्त्र आतंकवादी हमला र कोभिड–१९ को महामारीसँगै संकटमा पर्यो ।
यसअघि राष्ट्रपति गोटावया राजापाक्षले गत जनवरीमा चीनलाई तिर्नुपर्ने एक करोड डलर ऋणको समयसीमा बढाइदिन आग्रह गरेका थिए । तर त्यसबारे चिनियाँ पक्षले भने कुनै जवाफ दिइसकेको छैन । विदेशी मुद्रा सञ्चितिमा परेको दबाब घटाउन केही महिनाअघि सरकारले गाडी र मलको आयातमा रोक लगाएको थियो । जसका कारण चियालगायत अन्य उत्पादनमा नकारात्मक प्रभाव पर्यो ।
पछिल्लो समय रुसले युक्रेनमाथि गरेको आक्रमणले पनि श्रीलंकाको अर्थतन्त्रमाथि थप समस्या ल्यायो । रुसी आक्रमणसँगै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अकासिएको छ । ऊर्जाका लागि जलविद्युत्सँगै कोइला र डिजेल प्लान्टमा निर्भर श्रीलंकामा यसवर्ष वर्षा कम भयो । जसका कारण विद्युत्को उत्पादन घटेपछि कोइला र डिजेलको आयात बढ्यो । तर पछिल्ला दिनमा डिजेल तथा कोइला किन्न नसकेर प्लान्ट बन्द भएपछि लोडसेडिङका कारण उद्योग व्यवसायसमेत प्रभावित भएका छन् ।
पर्यटन तथा उत्पादनमूलक क्षेत्र धराशायी भएपछि कतिपय परियोजना बनाउन लिएको ऋणको वार्षिक किस्ता तिर्न मुस्किल भयो । श्रीलंकामाथि चीनको मात्रै ५ अर्ब डलरभन्दा बढी ऋण छ । आर्थिक संकट गहिरिन थालेपछि गतवर्ष श्रीलंकाले चीनसँग थप एक अर्ब डलर ऋण लिएको थियो ।
यस वर्षभित्र श्रीलंकाले ६ अर्ब ९ करोड डलर घरेलु तथा विदेशी ऋण भुक्तान गर्नुपर्नेछ । एकतिहाइभन्दा बढी ऋण निजी कम्पनीहरूको छ । चीन र जापानको भने करिब २२ प्रतिशत ऋण रहेको जनाइएको छ । तर श्रीलंकासँग हाल २ अर्ब ३ करोड डलरमात्र सञ्चित छ ।
नेपालको कुरा

नेपालको अर्थतन्त्रलाई यसरी बुझौं । एउटा जहाज समुन्द्रमा बगिरहेको छ । त्यो जहाजको क्याप्टेन आनन्दले बसेको छ । त्यो जहाज गन्तव्यमा आफ्नो गतिले पुग्नसक्छ । तर, हावाहुरी आयो भने जहाज डुब्छ । यस्तै अवस्था नेपालको अर्थतन्त्रको हो ।
हामी रेमिटेन्समा आधारित छौं । श्रमिकले झोला बोकेर विदेश गएको भनेको छोराछोरीको भविष्य राम्रो गराउनका लागि हो । भोलि राम्रो हुन्छ भनेर सोच्नुपर्ने हुन्छ । हामीले केही नगर्दा पनि भोलिको दिन राम्रो हुन्छ । नेपालीहरु विदेश गएका छन् । पैसा पठाएका छन् । पर्यटकको संख्या पनि बढ्छ । त्यो केही नगर्दा पनि हुने कुरा हो ।
अर्थतन्त्रको विषयमा पूर्व मूख्यसचिव विमल कोइराला भन्छन्, “अर्थतन्त्रमा खाली राजनीति राजनीति भनेर हुँदैन । अर्थतन्त्रको सुधारको लागि उपयुक्त कदम चाल्नुपर्छ । रेमिट्यान्सबाट विदेशी मुद्राको सञ्चिती पाउँछौं । वैदेशिक सहायता पनि हो । अर्को, पर्यटनपनि हो । वैदेशिक सहायतामा पनि संकुचन छ । यतातर्फ सरकारले ध्यान दिनुपर्छ ।
अहिले कस्ता वस्तु आयात भैरहेका छन् भन्नेतर्फ सरकारले ध्यान दिनुपर्छ । हामीले यो कुरा हेर्नुपर्छ । अहिले अर्थतन्त्रलाई भार भयो। गलगाँड घाँटीमा आएको कुरा सरकारले देखेन । सरकारले सुधारात्मक उपाय अपनाउन सकेन । आर्थिक शासन व्यवस्था फेल भयो भने । जनताको जीवनस्तरमा सुधार ल्याउनुपर्छ । कमर्सियल लोन लिएका छौं । अर्थतन्त्रको उत्पादत्वकलाई ध्यान दिनुपर्छ ।
अहिले हामी महाधक्काको अवस्थाबाट गुज्रिरहेका छौं। अब खतराको घण्टी त बजिसकेको छ । अर्थतन्त्रमा जटिल अवस्था छ । यसलाई राम्रै उपचारको विधि खोज्नुपर्छ । सुधारको बाटोमा जानुपर्छ । घण्टी बजिसकेपछि चेतिनुपर्यो । यो सुल्झाउन सकिने समस्या हो । सरकारले क्षणिक राजनीतिक तुष्टिको निम्ति अर्थतन्त्रको दीर्घकालिन स्वास्थ्यलाई खेलबाड गर्नुभएन ।
वित्तिय स्थिरता र वित्त सन्तुलनले अर्थतन्त्र सुधारको लागि महत्वपूर्ण भूमिका खेल्छ । सरकारले कहिलेकाहीँ अलोकप्रिय निर्णय लिनुपर्छ । कटु आर्थिक यथार्थतलाई सम्बोधन गर्नको लागि अप्रिय विधि पनि अपनाउन सक्नुपर्छ । अहिलेको परिस्थितिमा घाँटी हेरेर हाड निल्नुपर्छ । सरकारले आम्दानी बढाउनुपर्छ ।
अर्थतन्त्रको उत्पादकत्व बढाउँदै यथार्थपरक बजेटमा जानुपर्छ । राजश्वका स्रोत परिचालन गर्नुपर्छ । आफ्नै आम्दानीले आफ्नो खर्च गर्न सक्नुपर्छ, वित्तिय स्थिरतालाई ध्यान दिनुपर्छ । सरकारले खर्च गर्ने क्षमता वृद्धि गर्नुपर्छ । विकास र गभर्नेन्सको पाटो पनि छ । यसो गर्न सकियो भने सरकारप्रति जनता विश्वस्त हुन्छन् ।
शासनमा बसेकाहरुले भाषण गरेरमात्रै हुँदैन । कार्यान्वयन पक्षमा पनि उत्तिकै ध्यान आवश्यक छ । नेतृत्वमा बसेकाहरुले काम गरेर देखाउनुपर्छ । यो मौका हो । संकटले अवसर पनि दिन्छ । सरकारले अहिलेको समस्याको तत्काल उपचार खोज्नुपर्छ । चुनावको अंकगणितमा नअल्झिकन वित्तिय स्थिरताको लागि जनतालाई दिने कुरामा हिच्कियाउनु हुँदैन्, अनुत्पादक क्षेत्रमा गरेको लगानी काट्नुपर्छ ।”
श्रीलंकाको अर्थतन्त्रलाई नेपालको अर्थतन्त्रको अवस्थासँग तुलना गरेर हेरौं । नेपालको वर्तमान अर्थतन्त्रलाई हेर्ने हो भने आर्थिक वर्षको पहिलो आठ महिनामा रेमिट्यान्स ४.९ प्रतिशतले घटेको छ । पर्यटन आगमनमा कमी आएको छ । मूल्यवृद्धि दोहोरो अंकमा पुगेको छ । १४ खर्बको आयात हुँदा बल्लतल्ल १.५ खर्बबराबरको मात्र निर्यात भएको छ, जसले गर्दा व्यापारघाटा बढेर १२ खर्ब नाघेको छ र शोधनान्तर स्थिति २ खर्ब ५० अर्बले घाटामा छ भने मुस्किलले ६ महिनालाई वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति रहेको छ जबकि गत असार मसान्तमा ११ महिनाबराबरलाई पुग्ने विदेशी मुद्रा थियो । उच्च ब्याजदर, बैंकमा तरलता अभाव चुलिँदा बैंकले लगानी गर्न सकेको अवस्था छैन । वैदेशिक ऋण जीडीपीको ४२ प्रतिशत पुगेको छ । विदेशीले ऋण पत्याएको अवस्था छैन ।
आर्थिक वृद्धि पनि कमजोर हुने विश्व बैंकले जनाएको छ । ऊर्जा संकट पनि सुरु हुन थालेको छ, जसले गर्दा औद्योगिक उत्पादन ५० प्रतिशतले घट्ने जानकारहरू बताउँछन् । मलको अभावमा कृषि उत्पादनमा कमी आई आयात बढ्दो अवस्थामा छ । प्रतिस्थापन विधेयकमा १० हजारका दरले जनतालाई बाँड्ने, अर्का थरीलाई प्रतिमहिना ३ हजार वितरण गर्ने, बगैंचा, व्यायामशाला र पार्क बनाउने, काठमाडौंका दस ठाउँबाट सुपथ मूल्यमा खाना खुवाउने जस्ता गैरजिम्मेवार आर्थिक नीतिका कारणले समस्या थपिने सम्भावना बढेको छ । सरकारको खातामा ४ खर्बभन्दा बढी पैसा छ, तर पुँजीगत खर्च हुन सकेको छैन । यी सूचकहरू ओरालो लागेको हेर्दा श्रीलंकाको अर्थतन्त्रमा जुनजुन सूचकहरू ओरालो लागेका कारणले त्यहाँको अर्थतन्त्र टाट पल्टियो, तिनै सुचकहरू हामीकहाँ पनि ओरालो लागेको अवस्था छ ।
तसर्थ यी सूचकहरूलाई विश्लेषण गर्दा र सरकारका क्रियाकलापहरू हेर्दा नेपालको अर्थतन्त्र श्रीलंकाकै अवस्थामा चैं पुगेको छैन, तर बाटो भने श्रीलंकाकै हिँडेको जस्तो देखिन्छ । अर्थतन्त्रको दिगो विकासका लागि जिम्मेवार आर्थिक नीति हुनुपर्नेमा हल्लाको आधारमा नीतिहरू बन्ने । आर्थिक हिसाबकिताबभन्दा पनि भोटको जोडघटाउ गरेर वित्तिय नीति बन्ने र सोहीअनुसार क्रियाकलापहरू भएबाट अर्थतन्त्र संकटोन्मुख रहेको प्रमाणित हुन्छ ।





















प्रतिक्रिया